अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि निलम्बित छ। फेसबुक र इन्स्ट्राग्रामले पनि उनलाई राष्ट्रपति पदमा वहाल रहेकै समयमा गत जनवरीदेखि दुई वर्षका लागि प्रतिबन्ध लगाएका हुन्। हिंसालाई उक्साएको साथै महिमागान गरेको आरोपमा उनलाई ती कम्पनीहरूले इतिहासकै कठोर निर्णय लिँदै आफ्ना सामाजिक संजाल प्रयोग गर्न प्रतिबन्ध लगाएका थिए।
आफू सत्ताबाट बाहिरिनुपर्ने प्रष्ट देखेपछि आत्ममोहित हुँदै अहंकारपूर्ण अभिव्यक्ति दिँदा ट्रम्प सामाजिक संजालबाट पनि बाहिरिनुपर्यो। कानुनको अवहेलना गर्दा एटम बमको रिमोट कन्ट्रोल बोकेर एअर फोर्स वानमा सवार हुने सर्वशक्तिमान राष्ट्रपतिलाई यसरी सामाजिक संजाल कम्पनीहरूले पनि नराम्ररी भकुण्डाइदिए। कठोर सामाजिक कारबाहीको नवीन नजिर स्थापना गरे।
यता चीनको भूगोलभित्र कसैलाई पनि माथि उल्लेखित संजालहरू सञ्चालन गर्ने अनुमति छैन। अन्य नाम चलेका हजारौं वेबसाइटहरू पनि चीनमा प्रतिबन्धित छन्। चिनियाँ सार्वभौमिकताको रक्षाको खातिर भन्दै त्यस्ता सामाजिक संजाल र सूचना प्रविधिलाई संचालनमा रोक लगाइएको हो। संसार हल्लाउने जर्मन तानाशाह हिटलर बिरालोसँग डराउदथे भने झैं, विश्वकै ठूलो जनसंख्या र सर्वाधिक शक्तिशाली नेता सि जिनपिङ राष्ट्रपति रहेको चीनको सार्वभौमिकता सामाजिक संजालसँग किन तर्सन्छ भन्ने छुट्टै अध्ययनको विषय बन्ला।
हाम्रो नेपाल भने यस्ता सामाजिक संजाल सञ्चालनको सबन्धमा उदार छ। नेपालमा लगभग १ करोड ४४ लाख त फेसबुक प्रयोगकर्ता मात्र छन्। विभिन्न सामाजिक संजालहरूमध्ये ८० प्रतिशत ठाउँ फेसबुकले ओगटेको छ। यसरी नेपालमा सामाजिक संजालको प्रयोग बढ्दै गर्दा माथि चर्चा गरिएका चिनियाँ र अमेरिकी अनुभवले कानुनको परिपालना बिना संजाल सञ्चालन सम्भव नहुने प्रष्ट्याउँछन्।
नेपालमा पनि सामाजिक संजालहरूमार्फत आपराधिक कार्यहरू भएको भन्दै पीडितका तर्फबाट दैनिक दर्जनौ उजुरीहरू पर्छन्। साइबर अपराध अन्तर्गत लाखौं जरिवाना र वर्षौ जेलको कानुनी प्राबधान नेपालमा छ। कहिलेकाहीँ त आपराधिक योजना या मनोवृत्ति नहुँदा-नहुँदै पनि क्षणिक मनोविक्षुब्धता सामाजिक संजालमार्फत पोखिँदा प्रयोगकर्ता सजाएको भागिदार बनेको भेटिन्छ।
एकतर्फी सूचनामा भर पर्नुपर्ने प्रेस र विद्युतीय सञ्चार माध्यमभन्दा छिटो-छिटो प्रतिक्रिया विनिमय गर्न मिल्ने सामाजिक संजालको आर्कषण संसारमै बढ्दो छ। व्यक्ति-व्यक्तिलाई नै सञ्चारको मालिक बनाउने सामाजिक संजालको संरचनाले गर्दा यसका प्रयोगकर्ताले अपनत्वको अनुभूति गरेको पाइन्छ।
विश्व जनसंख्यामा नेपालको जनसंख्याले ओगटेको प्रतिशतभन्दा संसारका फेसबुक प्रयोगकर्तामध्ये नेपाली प्रयोगककर्ताले ओगटेको प्रतिशत निकै माथि छ। नेपालमा १८ देखि ४४ वर्ष उमेर समूहका प्रयोगकर्ता मात्र १ करोडभन्दा बढी छन्। त्यसैले पनि सामाजिक/राजनीतिक बहसलाई आम जनसमुदायबीच लैजाने माध्यम सामाजिक संजाल बनेको छ।
१३ देखि १८ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ताको संख्या पनि पछिल्लो दुई वर्षमा अत्यधिक बढ्यो। यो सङ्ख्या कुल नेपाली फेसबुक प्रयोगकर्ता मध्येको १० प्रतिशतभन्दा पनि धेरै हो। कोरोना कालमा सञ्चालित अनलाइन कक्षाको प्रभावका रुपमा पनि यो क्रमिक वृद्धिलाई अर्थ्याउन सकिन्छ।
पुरानो प्रेस एउटा प्रविधिका रुपमा आविष्कार हुँदा यसले संसारलाई नै बदल्ने तरंग ल्याएको थियो। पछि प्रेस सञ्चारको रुपमा विकसित हुँदै मानव जगतलाई भरपूर सूचना र मनोरञ्जन दिँदै आएको छ। त्यसपछि आएको विद्युतीय सञ्चार माध्यमले त आवाज, दृश्य र शब्दहरूलाई समेटेर झनै प्रभावकारी सूचना र मनोरञ्जन दिएकै छन्।
पछिल्लो समयमा विकसित इन्टरनेट प्रविधिसँग जोडिएर आएको नयाँ सञ्चार माध्यम सामाजिक संजालले त झनै मौलिक विशेषता पस्कनुका साथै पुराना दुवै प्रकारका सञ्चार माध्यमलाई पनि थप आधुनिक बनाउन निकै सघाएको छ। प्रेस र विद्युतीय सञ्चार माध्यमले तयार पारेका सामग्रीलाई व्यापक वितरण गरेको छ। यसैका कारण आमसञ्चार हाइब्रिड ढाँचामा बदलिएको छ। ई-पेपर र अनलाइन टिभी सञ्चार माध्यमको परम्परागत वर्गीकरणमा कता पर्छन्? प्रष्ट छुट्याउन नसकिने अवस्था छ।
आज यिनै सामाजिक संजाल राजनीतिक विषयवस्तुले भरिँदा राजनीतिक संजालजस्तै भएका छन्। राजनीतिमा पनि कागले कान लग्यो भनी हल्ला चलाउने जमातको कुनै कमी छैन। न त त्यही फगत हल्लाको विश्वास गरी कागकै पछाडि दौडने कार्यकर्ताकै खडेरी छ। यसरी समाचारको पछाडि लाग्ने प्रायोजित प्रयोगकर्ताका कारण सामाजिक संजाल प्रदूषित पनि छ।
प्रत्यक्ष झैँ संवाद गर्न मिल्ने संरचना बोकेको सामाजिक संजालमार्फत जो-कोही प्रयोगकर्ता सरोकारवालासँग सजिलै जोडिन सकिन्छ। सुझावलाई सकारात्मकताका साथ स्वीकार्न सक्ने सामाजिक एवं राजनीतिक कार्यकर्ताका लागि यो संजाल आफ्नो सामाजिक परीक्षण गर्ने प्रयोगशालाकै रुपमा सदुपयोग गर्न सकिने प्रकृतिको छ। यी संजालहरूमार्फत सामाजिक समस्याको बारेमा छलफल चलाउन र समाधान खोज्न सकिए संजालको पनि सार्थकता हुन्थ्यो।
झन् आवश्यक पर्दा अभियान चलाउन सक्ने गरी मुद्दामा केन्द्रित पेजहरू सञ्चालनमा ल्याउन सके सूचना र मनोरञ्जनका अलावा सामाजिक उत्तरदायित्व समेत पूरा हुन्थ्यो। तर दुर्भाग्य, पार्टीका प्रायोजित सामाग्रीहरू विनिमय गर्ने हाटबजार बनेको समाजिक संजाल प्रयोगकर्तामा सामाजिक साक्षरताको कमी देखिन्छ।
सामाजिक संजालमा विचित्रको दृश्य त त्यति बेला देखिन्छ जब आफूलाई सामाजिक/राजनीतिक कार्यकर्ता हुँ भन्न रुचाउने व्यक्तिले नै 'मेरो परम आत्मीय मित्रकी पूजनीय मातालाई अल्पायुमै रामघाटमा अन्तिम बिदाइ गरेको दुःखद् अवस्था' भन्दै लास, चित्ता र मलामीसहित फेसबुक लाइभमा आएको एक घण्टा नबित्दै, 'पोखराको पर्यटकीय स्थल पामेमा साथीहरूसँग स्थानीय माछाको स्वाद लिँदै' क्याप्सन लेखेर सामूहिक तस्बिर पोस्ट गर्छ।
अझै तस्बिर नियाल्दा देशी-विदेशी तरल पदार्थका बोतलहरू पनि त्यतै कतै लडिरहेका हुन्छन्। माथिका दुवै पोष्टका प्राथमिक दर्शक त एउटै सूचीभित्रका साथीहरू नै त हुन्। ती साथीहरूले यी सबै दृश्य संजालमा हेरिरहेका मात्र हुँदैनन्। निरन्तर मूल्यांकन पनि गरिनै रहेका हुन्छन्। त्यसैले समाजिक संजालमा प्रयोगकर्ताले समाजशास्त्रलाई भुल्नु हुँदैन। संजाल साक्षरतालाई बिर्सनु हुँदैन।
नेपालका गाँउघरमा छोराछोरीको बिहे छिन्नुपूर्व सके सम्बन्धित पक्षको भकारी नै, नसके कुनियो वा टौवासम्म पनि सुटुक्क हेर्ने चलन थियो। अहिले आएर त्यही समाज सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरूको सामाजिक संजालमा प्रोफाइल नियाल्ने भएको छ। अनि त्यही प्रोफाइलमा पाखण्ड झल्कियो भने, मानिसले मानिसलाई मन पराउँदैनन।
सामाजिक कार्यकर्ता हुँ भन्नेलाई अविश्वास गर्छन्। उम्मेदवारको चुनावी अभिव्यक्ति र गतिविधिमा मात्र भर पर्ने बेला अब रहेन। सामाजिक संजालको व्यापकताका कारण मतदाताले नेता-कार्यकर्तालाई भर्चुअल दुनियाँमा निरन्तर पछ्याइरहेका हुन्छन्। यस्तो सत्यताप्रति बेखबर नेतृत्व चुनावमार्फत अनुमोदित हुन मुस्किल पर्छ। त्यही सामाजिक संजालमा मानिसको तस्बिर असामाजिक देखियो भने सामाजिक संजाल स्वयं कुरुप देखिन्छ। औचित्यतामा प्रश्न उठ्छ।
नेपालमा सामाजिक संजालभित्रको लोकप्रियताले चुनावी अभिमतलाई पनि धेरै-थोरै प्रभाव पार्दो रहेछ। उदाहरणका लागि हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी युवा चेहेरा गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माले प्राप्त परिणाम उनीहरूको फेसबुक पेज पछ्याउन संजाल प्रयोगकर्ताको संख्याको अनुपातसँग लगभग मेल खान्छ।
पार्टीको हनुमान बन्ने होडमा अनुमानकै भरमा कसैलाई आरोप प्रत्यारोप गर्ने अनि कसैको महिमामण्डन गर्ने अखडाको रुपमा पनि सामाजिक संजाल झ्यांगिँदै आएको छ। यसैबीच पनि कोरोना कालको सुरुआती दिनमा सामाजिक संजालमार्फत मानिसलाई जोडेर तत्कालीन सरकारको रवैया विरुद्ध वालुवाटारको केन्द्रित शान्तिपूर्ण 'इनफ इज इनफ' अभियानलाई सामाजिक संजाल प्रयोगको सकारात्मक नमुनाका रुपमा लिन सकिन्छ।
झट्ट हेर्दा फेसबुकमार्फत प्रेषित सामग्री लाइक-कमेन्ट गर्ने साथीहरूबीच मात्र पुगेको छ भन्ने प्रयोगकर्तालाई लाग्न सक्छ। तर स्ट्याण्ड फोर्ड विश्वविद्यालयका प्राध्यापक मिचेल बेन्सटेइन लगायतले गरेको एक अध्ययनले सामान्यतया साझा गरिएको कुनै पनि पोष्टलाई सम्बन्धित प्रयोगकर्ताको सूचीमा रहेका ३५ प्रतिशत साथीले देख्ने निष्कर्ष निकालेको छ।
साथै लाइक र कमेन्टले प्रस्तुत सामग्री थप बढी प्रयोगकर्तासम्म पुग्ने यथार्थलाई पनि अध्ययनले स्थापित गरेको छ। त्यसैले पर्दा पछाडिबाट सामाजिक संजालमा सामाग्री प्रस्तुतकर्ताको जानकारी बिना नै नियाली राख्ने सत्यलाई संजाल प्रयोगकर्ताले नजरअन्दाज गर्न हुँदैन। साथै, लाइक पाउनु भनेको मन पराइनु मात्र नभई संप्रेषित सामग्री हेरिएको बोधार्थ पनि हो भनी बुझ्नु व्यावहारिक हुन्छ।
कतिपय सामग्री प्रस्तुतकर्ताले नै कमेन्ट र सेयरका लागि हार्दिक आह्वान गरेको पनि सामाजिक संजालमा भेटिन्छ। तर त्यस्तो आह्वान गर्नुभन्दा पनि स्वभावैले त्यसो गर्न प्रेरित गर्ने गुणस्तरीय एवं प्रभावकारी सामग्री साझा गर्नु वैज्ञानिक हुन्छ। 'बजाउनुस् ताली' भन्नुभन्दा पनि वक्ताले स्रोताको भावना समेटेर अभिव्यक्ति दिनु राम्रो होइन र? जाडोले न्यानो कपडा मागेजस्तै गुणस्तरीय सामाग्रीले प्रतिक्रिया त आफैं निम्त्याउँछ नै।
लामो गन्थन-मन्थनभन्दा पनि सटिक प्रस्तुति सामाजिक संजालमा लोकप्रिय हुन्छन्। व्यक्तिभन्दा प्रवृत्तिको चर्चा गर्दा धेरै प्रयोगकर्ताले रुचाउँछन्। पढिने र देखिने सामग्री जोडेर सँगै प्रस्तुत गर्दा बढीभन्दा बढी संजाल प्रयोगकर्ताको माया पाउन सकिन्छ। तस्बिरको स्वरुपमा प्रस्तुत सामग्रीले सामाजिक संजालमा प्रस्तुतकर्ताको भावनालाई छरितो ढंगले निर्धारित समूहबीच आत्मियता पूर्वक संप्रेषण गर्ने प्राध्यापक स्यामुअल अज्राव बताउँछन्। तर मनोन मेट्जलगायत प्राध्यापकहरूले गरेको अनुसन्धानले भने श्रव्यदृश्य र शब्द जोडिएको सामग्रीले संजाल प्रयोगकर्ताको ध्यानाकर्षण गर्ने देखाएको छ।
जानेर र नजानेर गरिएका गल्तीहरूले सिर्जना गर्ने कानुनी दायित्वहरू भने एकै प्रकारका हुन्छन्। त्यसैले सामाजिक संजालमा प्रतिक्रिया दिँदा होस या सामग्री संप्रेषण गर्दा, 'कानुनको अज्ञानता क्षम्य हुँदैन' भन्ने सिद्धान्तलाई ख्याल राख्नु जरुरी हुन्छ। मजबुत नैतिक र कानुनी धरातलमा सञ्चालित सामाजिक संजालले मात्र सामाजिक योगदान दिन सक्छन्। प्रयोगकर्ताको व्यक्तित्व विकासमा सहयोग पुर्याउँछन्।
भारतमा धार्मिक एवं जातीय रुप दिइएका बहुसंख्यक दंगामा सामाजिक संजालहरू अत्यधिक दुरुपयोग भएको त्यहाँका अनुसन्धान निकायले तयार पारेका प्रतिवेदनले देखाएको छ। दंगाका दोषीलाई कानुनी दायरामा ल्याउने सन्दर्भमा त्यहाँको लोकसभा अन्तर्गतको संसदीय समिति र फेसबुक कम्पनीबीच गत वर्ष ठूलै विवाद चर्किएको थियो। समितिले मागे बमोजिम सूचना दिन आनाकानी गरेको कम्पनिलाई समितिले स्पष्टीकरण सोध्नु जायज भएको फैसला त्यहाँको सर्वोच्च अदालतले सुनाएपछि फेसबुक केही कदम पछाडि हटेको थियो।
त्यस्तै भारतमा धेरै प्रयोगमा आएको अर्को सामाजिक संजाल ह्वाट्सएप पनि त्यसरी नै सामाजिक सद्भावनामा खलबल पुग्ने हल्ला फैलाउन प्रयोगकर्ताले दुरुपयोग गरेका उदाहरण प्रशस्तै छन्। त्यसैले नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुकमा कतै सामाजिक सञ्चालनमा सद्भावना भड्किने सामग्री त संप्रेषण भएको छैन भन्ने विषयमा सामाजिक संजाल प्रयोगकर्ता होसियार हुन आवश्यक छ। राष्ट्रिय एकताको पक्षमा चनाखो हुन जरुरी छ।
पछिल्लो समय सामाजिक संजाल राजनीतिक पाठशालाका रुपमा पनि विकसित हुँदै आएका छन्। संजालमार्फत संप्रेषित सामाग्रीको प्रभावका कारण प्रयोगकर्ताले निरन्तर राजनीति सिकिरहेको निष्कर्ष राजनीतिक सञ्चार विशेषज्ञ लेटिसिया बोडेको अनुसन्धानले निकालेको छ। यसरी संजालहरूमार्फत सरकार र राजनितिक दलको चालचलन बुझ्दै जानु भनेको राजनीति सिक्दै जानु न त हो।
भर्चुअल नै सही, त्यसमाथि प्रतिक्रिया व्यक्त गर्नु भनेको पनि क्रियाशील हुनु नै त हो। तमाम संजालमा अभिव्यक्त मनोविज्ञान नेपालीको संयुक्त मनोविज्ञान पनि त हो। त्यसैले नेपालको आधाभन्दा बढी जनसंख्या जोडिएको सामाजिक संजालहरूभित्रको मनोभावनालाई बुझेर यसका प्रयोगकर्ताहरू अगाडि बढ्दा जनभावनाको ठूलै हिस्सालाई सम्बोधन गरेका ठहरिन्छ।