आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको डिजिटल कम्प्युटर वा कम्प्युटर-नियन्त्रित रोबर्टको क्षमता हो जसले सामान्यतः बौद्धिक मानिस जतिकै कार्यहरु गर्न सक्छ। पछिल्लो समय एआई प्रणालीहरू यति उन्नत छन् कि तिनीहरूले मानव क्षमतालाई भन्दा उत्कृष्ट प्रदर्शन गर्न पनि सक्छन्।
एआई पहिलो पटक १९५० मा सुरु भएको थियो, जब ब्रिटिश कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले कम्प्युटरले मानिसहरूले जस्तै खेल खेल्न सक्छ कि भनेर परीक्षण गर्ने प्रस्ताव गरेका थिए। एआई आज स्वास्थ्य सेवा, व्यवसाय, खेलकुद, कृषिमा प्रयोग गरिन्छ। हजुर हामीले जानेको आईको प्रयोग फेसबुकले गर्ने अनुहारको पहिचान हुनसक्छ। यसको अलावा एआईको प्रयोग 'डीपफेक', औषधि पत्ता लगाउन (ड्रग डिस्कवरी), गैर-मौखिक संकेतहरू (नन भर्बल क्लु) पढ्दै भावनात्मक अध्ययनको लागि पनि गरिन्छ।
एआईको कारण केही पेसाहरू घट्नेछ, अरू बढ्नेछ, र धेरै परिवर्तन हुनेछन्। जस्तो पहिला खेत जोत्न गोरु हली चाहिन्थ्यो, दाही गर्न दर्जनौँ गोरुको आवश्यकता हुन्थ्यो तर अहिले हाते ट्याक्टरले खेत जोतिन्छ, थ्रेसरले दाही गर्ने चलन चलेको छ। त्यसैले पहिले गोरुको आहार बिहार जान्नु आवश्यक थियो तर अब कृषक बन्न पनि हाते ट्याक्टरको नट बोल्ट खोल्ने, आयल बदल्नेजस्ता काममा निपुण हुनुपर्छ।
अबको ५-१० वर्षमा नेपालमा पनि कृषिमा एआईको प्रयोग व्यापक मात्रामा हुने निश्चित छ। ड्रोनबाट खेतबारीको दृश्य संकलन गरेर सबैभन्दा बढी संक्रमित बिरुवा भएको क्षेत्रहरू पत्ता लगाउन एआई प्रयोग हुनेछ। एआईबाट प्राप्त तथ्यांकले किसानहरूलाई कीटनाशकहरूको सही मिश्रण बनाई उपचारको आवश्यकता पर्ने क्षेत्रहरूमा मात्र विषादीको प्रयोग गर्न मोबाइल यपले कृषकलाई जानकारी दिन्छ। अनि कृषकले आफ्नो बैंक खातामा हिजो बेचेको तरकारीको नगद जम्मा गर्दा गर्दै बैंकको अफिसबाटै आफ्नो खेतको ड्रोनलाई किरा लागेका बिरुवामा मात्रै निश्चित विषादी छर्न निर्देशन दिन सक्छन्।
एआईको प्रयोगले पशुपालन पनि गर्न सकिन्छ। एआईद्वारा अनुगमन गरी पशुको स्वास्थ्यमा सुधार ल्याउने र नाफा बढाउने काम भैरहेको छ। कृषकहरूले राम्रो दूध वा मासु उत्पादनको लागि उपयुक्त अवस्थाबारे अझ राम्ररी बुझ्न एआई प्रयोग गरी पशुको खाद्य सेवन, उसको क्रियाकलाप र अरु अत्यावश्यक लक्षणहरूको निगरानी गर्न सक्छन्।
पशुको रियल-टायम स्वास्थ सम्बन्धी जानकारी एआई प्रयोग गरी निगरानी गर्न सकिन्छ जसको कारणले किसानहरूले स्वस्थ जनावरहरूबाट संक्रमित गाईवस्तुलाई तुरुन्तै छुट्याउन सक्दछन। यसो गर्नाले किसानले स्वास्थ्य पशुलाई संक्रमणबाट बचाई औषधिमुलो गर्दा लाग्ने खर्च कम गर्न सक्छन्। त्यसैले एआई प्रबिधिको प्रयोगले किसानलाई नाफा मिल्छ।
त्यसैले पहिले गोरुको आहार बिहार जाने हुनेमा अहिले ट्याक्टरको मिसिनारी कुराको जानकार हुने देखिएको छ भने अब छिट्टै नै किसान हुन पनि कम्प्युटर प्रोग्रमिङ जानेको हुनु पर्नेछ। पश्चिमी देशमा त भै नै सक्यो। त्यति जानेन भने कृषक हुन पनि नपाउने अवस्था छ।
२१ औँ शताब्दीको तेस्रो दशकमा प्रवेशको यो दोश्रो वर्षमा अगाडि बढ्दै गर्दा हामीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ऊर्जा, इन्टरनेटको भविष्य, मिडिया र लोकतन्त्रसँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुछ। त्यसैगरी एआईको नैतिक चुनौती, लोकतन्त्रको अनिश्चित भविष्य, कसरी स्वचालनले (अटोमेशन) हामीलाई असर गर्छ भन्ने प्रश्नहरु हाम्रासामु छन् जसको जवाफ दिन साँच्चै गाह्रो छ।
एलोन मस्कले यस दशकमा रोबोर्टलाई सबै कामहरू गर्न निर्देशन दिएर मानव जातिले आराम गर्ने समय हो भनेका छन्। बालकृष्ण समको इच्छा कवितामा 'प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ' भने झैँ एलोन मस्क आशावादी दृष्टिकोणले उत्साहित हुँदै यो दशकको अन्तमा मंगल ग्रहमा पुग्ने र मृत्युशय्या पनि उक्त ग्रह बनाउने सोच राख्दछन्। तदअनुरुप हरेक काम गर्दा उनी उक्त कामले मंगल ग्रहमा पुग्न कति सहयोग गर्यो भनेर जाच्ने गर्छन्।
इजरायली प्रोफेसर नोहा हरारीले यसलाई अझ व्यावहारिक तरिकाले व्याख्या गर्दछन्। उनी भन्छन् कि यस दशकमा एआईको उन्नतिको कारण डिजिटल तानाशाही (गुगल, फेसबुकजस्ता कम्पनीहरू जससँग हाम्रो जीवनको हरेक डिजिटल जानकारी छ) लाई बढावा दिन्छ। स्वचालनको प्रयोगले चाँडै नै लाखौं कामहरू हराउने छन् फलस्वरुप लाखौँ मान्छे बेरोजगार हुनेछन्।
एआईको कारण नयाँ रोजगारीहरू निश्चित रूपमा सृजना त हुनेछन् तर यो स्पष्ट छैन कि मानिसहरूले एआईको लागि आवश्यक नयाँ सीपहरू छिटो र पर्याप्त रूपमा सिकी सक्षम हुनेछन्। परम्परागत काम नभएर एआईले नयाँ कामको सिर्जना त गर्छ तर त्यो काम नयाँ सफ्टवेयर डिजाइन गर्ने खालको हुनेछ। एआईसँग सम्बन्धित काममा निपुण हुन मानिसहरूले एक पटक मात्र होइन कि, बारम्बार आफ्नो जीवनभर नयाँ-नयाँ कौशलतालाई पुन: आविष्कार गर्नुपर्छ।
एआई यसको पूर्ण क्षमताको नजिक पुगिसकेको छैन। यो अझै विकासको चरणमा छ। जब यो पूर्ण रूपमा विकसित हुन्छ अहिले हामीले गर्दै आएका धेरै कामहरू मेसिनद्वारा गरिन्छ, नयाँ कामहरू देखापर्नेछ तर त्यसपछि नयाँ काम द्रुत रूपमा परिवर्तन र हराउनेछ। १९ वा २० औँ शताब्दीमा मानवजातिले शोषणविरुद्ध सङ्घर्ष गर्नुपरेको भने २१औँ शताब्दीमा साँच्चै ठूलो सङ्घर्ष अप्रासंगिकताविरुद्ध हुनेछ।
जब धेरै कामहरु एआईद्वारा गरिन्छ मानिसहरू बेकार हुन्छन्। त्यसैले उनीहरुको उपदयेता हराउन पुग्दछ। मानिसलाई शोषण गर्नुभन्दा उसलाई अप्रासंगिक बनाउनु धेरै खराब हो। एआईको लागि आवश्यक कौशल विकास गर्ने आफ्नो संघर्षमा असफल हुनेहरूले नयाँ निरर्थक वर्गमा परिणत हुनेछन्। परिवार वा साथीको दृष्टिकोणबाट बेकार नभएर आर्थिक र राजनीतिक व्यवस्थाको दृष्टिकोणबाट बेकार मानिसहरुको वर्ग जन्मनेछ। यो बेकार वर्ग र बढ्दो शक्तिशाली अभिजात वर्गबीच निकै ठूलो असमानता सिर्जना हुनेछ जसका कारण समाज द्वन्दमा फस्नेछ।
एआई क्रान्तिले वर्गहरू लगायत देशहरूबीच पनि अभूतपूर्व असमानता सिर्जना गर्न सक्छ। जस्तो कि १९औँ शताब्दीमा बेलायत र जापानजस्ता थोरै देशहरूले सबैभन्दा पहिले औद्योगिकीकरण गरे र उनीहरूले विश्वका अधिकांश भागलाई जित्न र शोषण गर्न थाले। यदि हामी सचेत भएनौं भने २१ औं शताब्दीमा एआईले गर्दा यस्तै हुनेछ।
मध्यपूर्वी देश र कोरिया पूर्ण स्वचालनमा जाँदा अधिकांश नेपाली बेरोजगार हुनेछन्। किनकि मोटरगाडी स्वचालित हुनेछन् तसर्थ गाडी चालकको काम हुने छैन, कृषिको काम एआईले गर्नेछ जसको कारण नेपालीले गर्ने धेरै कामको माग उक्त देशमा कमि हुनेछ। लाखौँ नेपाली बेरोजगार भएर नेपालमानै बस्नेछन्। त्यसको फलस्वरूप हाम्रो देश अत्याधिक निर्भर रहेको रेमिट्यान्स गुमाउनेछ। हामी आर्थिक संकटमा फस्नेछौं।
राल्फ वाल्डो इमर्सनले भनेजस्तै 'हरेक पर्खाल एउटा ढोका हो।' तर हामीले सामना गर्नुपर्ने २१ शताब्दीको एआईको चक्रव्यूहलाई पर्खालबाट ढोका बनाउन सक्रिय हुनु नै नेपालको उपयोगिता बचाउनु हो।
पश्चिमी मुलुकमा कोरोनाको प्रभावका कारण धेरैजसो कार्यालयको काम घरबाटै हुने गरेको छ। यसरी घर अफिसमा परिणत भएको छ। नेपालमा पनि कोरोनाका कारण घरबाटै पढाउने र सिकाउने काम भए। यसमा एआईको महत्वपूर्ण भूमिका छ।
नेपालका ठूला दलहरूको मुख्य पदमा पुराना पुस्ता नेताहरु निर्वाचित भए पनि नेतृत्व टोलीमा वृद्ध उन्मुख युवा नेतृत्व टोली पनि निर्वाचित भएका छन्। यदि उनीहरूले नेपालमा एआईको प्रभाव विरुद्ध लड्ने रणनीति बनाएमा नेपालको अझ समृद्ध भविष्य हुनेछ।
अब एआईतर्फ केन्द्रित शैक्षिक पाठ्यक्रम विकास र सुधार गर्नुपर्छ जसले गर्दा हामीले नेपालबाट नै अमेरिका, मध्यपूर्व वा कोरियाको काम गर्न सक्ने गुणस्तरीय जनशक्ति सिर्जना गरी यहीबाट विश्वभरिको काम गर्न सकियोस्। अबको २० वर्ष गगन, योगेश, लिङदेनहरुले नै नेपलको नेतृत्व गर्ने हुनाले आशा गरौँ उनीहरूले एआईको महत्त्वलाई बुझी तदअनुरुप सिघ्र काम गर्नेछन।