अनेक सपना सजाएर, योजना बनाएर आफ्नो घर-परिवार यस्तो बनाउँछु भन्दै त्यही परिवार छोडेर धेरै जना देश छोडेर विदेश हिँड्छन्। आफ्नो हरेक चाहनाहरू त्यागेर विदेशी भूमिमा खुब मेहनत गर्छन्। रगत र पसिना बगाउँछन्।
मलाई धेरैथोरै थाहा छ, विदेशमा रगत र पसिना बगाइरहेका नेपाली दाजुभाइहरूलाई नेपालमा कसरी अनि के भनिरहेको हुन्छन भनेर! सामान्यतः विदेशमा बस्ने धेरै नेपालीहरू कुनै कम्पनीमा ८, १०, १२ घण्टासम्म काम गर्छन्। त्यहीँ कम्पनीमा खुब मेहनत गर्छन्, घर-परिवार सम्झेर आफ्नो दुःख लुकाएर खुसी बन्न खोज्छन्।
मैले फेरि यो भनेर, सबैलाई दुःख छ भनेको होइन, तर जति दुःख भए पनि खुसी देखिन खोज्छन्। संसारमा दुःख कसलाई पो हुँदैन र? विदेशी भूमिमा रहेका नेपालीहरूले आफ्नो घर परिवारसँग चाडपर्वमा समय बिताउन पनि पाइँदैन। त्योभन्दा अर्को विडाम्बना अरू के हुन्छ र?
अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपको धेरै देशहरू या जापान कोरिया, जहाँ बस्ने भए पनि नेपालीहरूले धेरै संघर्ष गरिरहेको हुन्छन्। आफ्नो भविष्य यस्तो उस्तो बनाउँछु भनेर सोचिरहेको हुन्छन। विदेशी भूमिमा आफ्नो सुरक्षित भविष्यको कल्पना गरिरहेको हुन्छन्।
तर, उता नेपालमा भने तिनै विदेशमा रहेका नेपालीहरूको विषयमा अनेक किस्साहरू सुनिन्छ। विशेषगरी अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीहरूको विषयमा लक्षित गरेर खुब किस्साहरू बजारमा बनाइन्छ। भ्रम भन्ने हो कि दुष्प्रचार धेरै भएर हो, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीहरू होटेल रेटुरेन्टमा भाडा माझ्ने, कार्यलयहरूमा ट्वाइलेट सफा गर्ने अनि भुँइ पुछ्ने काममा व्यस्त छन् भन्ने बडो नमज्जाको प्रचार भएको देखिन्छ।
कसैलाई त्यस्तो काम चहियो भने, त्यतै जाउँ भन्दै सामाजिक सञ्जालमा अनेक ट्रोल भन्छ अनि कमेडियन सिरियलहरूमा त्यस विषयमाथि बनाएको व्यंग्य प्रस्तुत हुन्छन्। हरेक कामलाई सम्मान गरिनु पर्छ भन्ने लाग्छ। काम ठूलो सानो हुँदैन भन्ने कुरामा म त्यस्तो धेरै सहमत छैन। काम ठूलो-सानो हुन्छ, तर हरेक कामले सम्मान पाउनु पर्छ।
हुन त अमेरिका र अष्ट्रेलियामा बस्ने नेपालीहरूले गर्ने काम त्यति मात्र होइन, त्यस्तो काम पनि गर्लान् तर त्यति मात्रै चाहिँ गर्दैनन्। उनीहरूले व्यापार व्यावसाय पनि गर्छन्। सुपरमार्केट तथा कुनै कम्पनीहरूमा नियामित घण्टाको हिसाबले दैनिकी काम गर्छन्। अस्पतालहरूमा डाक्टर र नर्स पनि छन् अनि त्यहीँ अस्पतालमा जेनेटर पनि काम गर्छन्।
कतिपय शिक्षा, कानुन लगायतको क्षेत्रहरूमा छन्। विदेशमा बस्ने नेपालीहरूमा, दक्ष, ज्ञान, संस्कार, समयको कसरी व्यवस्थापन गर्नु पर्नेदेखि लिएर चौतर्फी क्षमताको विकास अनि आर्थिक उन्नति भएको मैले देखेको छु। धेरै ठाउँमा काम प्राप्त गर्नको लागि सजिलो तथा सरह नहोला तर कोसिस गरे असम्भाव केही हुन्न। सुरू-सुरूमा नयाँ परिवेश भएको कारण केही अन्यौल पक्कै हुन्छ तर अन्नतः आफ्नो भविष्य नै त्यतै देख्नेहरूको लागि सहज हुँदै जान्छ।
भनिने गरिन्छ, अमेरिका र अष्ट्रेलिया भनेको सपनाको देशहरू हुन्! म निर्धक्क साथ भन्न सक्छु, यी देशहरूमा आउन धेरैले चाहान्छन्।
एकचोटि जान पाए हुन्थ्यो। एकचोटि देख्न पाए कति राम्रो हुन्थ्यो। भिसा लागे म गइहाल्थेँ भनेर बस्नेहरू धेरै छन्। तर, विडाम्बना के हो भने, त्यसरी सपना बुनेर बसिरहेकाहरूले यता अमेरिका तथा अष्ट्रेलियामा रेहका नेपालीहरूले गर्दै आएको कामको खिच्चा हान्छन्।
खिच्चा पनि हुने नहुने अनि भए नभएको विषयमाथि हान्छन्। कामप्रति सबैको सम्मान हुनुपर्छ, तर त्यो भइरहेको छैन या हुँदैन। कामको कुरा त छँदैछ, तर कुरा यति मात्र होइन। मैले यहाँ उठाउन खोजेको विषय विवाहको हो।
जब अमेरिका, अष्ट्रेलियामा बस्नेहरू आफ्नो जीवनको महत्वपूर्ण काम, विवाहको लागि नेपाल जान्छन्, तब सुरू हुन्छ अर्को चर्तिकला। विवाह भनेको एक पवित्र बन्धन हो। सामाजिक रूपमा यसको महत्व धेरै छ। विवाहको मौसम अनि महिनाहरू सुरू हुन साथ सामाजिक सञ्जाल तिर खुब देखिन्छ-
'अब पिआर र ग्रीनकार्डवाला आउने भए अनि हाम्रो सपना उडाइदिने भए।'
'अब पिआर अनि ग्रीनकार्ड वालाहरू आउँछन् अनि हाम्रो दिल तोड्छन्।'
अब अष्ट्रेलियाबाट काका आउने भए अनि छोरी लिएर जाने भए, अब अमेरिकाबाट अंकल आउनु हुने भयो अनि हाम्रो छिमेकी बहिनी लिएर जानु हुने भयो लगायत यस्तै के-के खुब देखिन्छ अनि सुनिन्छ। हजुरबुबा उमेरका आएर नातिनी सहर उमेरकीसँग विवाह गरे भनेर पनि अनेक फोटोहरू पोस्ट गर्छन्।
अस्ति कहिले हो, टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको कार्यक्रममा पनि उनले यो विषयमा यस्तै के-के भन्दै गरेको सुनेको थिएँ। अमेरिका, अष्ट्रेलियामा बसेका तिनै नेपालीहरू हुन्, जसले आफ्नो सपना पूरा गर्न दिनरात नभनी खटिरहेको हुन्छन् र नेपाल गएर विवाह गरी आफ्नो सुन्दर परिवार बनाउँछु भनेर सोचिरहेको हुन्छन्।
तिनै दाजुभाइहरू जब नेपाल विवाह गर्न जान्छन् र सुरु हुन्छ, पीआरवाला आए अनि मेरो जिन्दगी बर्बाद पारे, मेरो प्रेम टुटाएवाला स्टोरी, स्टाटस, ट्रोल अनि अन्य अनेक के-के।
के तपाईंलाई अहिलेका युवतीहरू विवाह गर्ने कुरामा त्यती गम्भीर छैनन्, विदेशबाट जो आयो उसैसँग विवाह गर्छन् भन्ने लाग्छ? यदि त्यस्तो लाग्छ भने, त्यस्तो भ्रमलाई आजै हटाए हुन्छ। जिन्दगी कस्तो बनाउने अनि कस्तो श्रीमान् रोज्ने भन्ने विषयमा अहिलेको युवतीहरूलाई कसैले पढाइरहनु पर्दैन।
अनि अर्को कुरा, यदि तपाईंको प्रेमिकाले तपाईंलाई छोडेर विदेशबाट आउनेसँग विवाह गर्दैछिन भने पनि त्यसमा, त्यो पिआर या ग्रीनकार्ड वालाको केही दोष छैन। यदि तपाईंको प्रेमिकाले तपाईंलाई साँचो माया गरेकी रहेछिन् भने त्यति चोखो अनि साँचो प्रेमलाई कसैको पिआर या ग्रीनकार्डले टुटाउँदैन। यदि पिआरको कारण कसैको प्रेम सम्बन्ध टुटछ भने, त्यो साँचो प्रेम थिएन भनेर बुझे हुन्छ नि। किनकि, साँचो प्रेम पिआर त के भागवानले पनि टुटाउँन सक्दैन भनेर भन्ने गरिन्छ।
तपाईंहरूबीच साँचो प्रेम भइरहेको हुँदैन। प्रेम सम्बन्ध राम्रोसँग चलिरहेको हुँदैन अनि त्यसपछि आफ्नो प्रेमिका विदेशबाट आउनेको दुलही बन्न राजी हुन्छिन्। प्रेमिकालाई केही नभन्ने र दोष जति सबै पिआर र ग्रीनकार्ड वालालाई मात्र दिने? यसरी त हुँदैन नि। प्रेम दुवै तर्फबाट बराबरी हुनुपर्छ। अनि त प्रेम सफल भएर विवाह हुने हो।
हेर्नुहोस्, विवाह भनेको एक जनाको मर्जीले हुने कुरा मात्र होइन। विवाह भन्ने कुरा नितान्त व्यक्तिगत निर्णयको कुरा हो जस्तो लाग्छ। मन मिल्यो, विचार मिल्यो अनि आफ्नो भविष्य सुन्दर देखेर २० वर्षीया युवती र ५० वर्षीया पुरूषले विवाह गर्न सक्छन्। यस्तो घटनाहरू हाम्रो लागि नयाँ भने होइन।
विवाहपछि उनीहरूको जिन्दगी कस्तो हुन्छ, के गर्छन् भन्ने हाम्रो सरोकारको विषय पनि होइन। तर, विदेशबाट आउने केही पाको उमेरकाले आफूभन्दा केही कम उमेरकीसँग मन, विचार मिलेको कारण विवाह गर्दैमा, पिआर देखेर या पिआर देखाएर विवाह गरेको हो भनेर कसरी भन्न सकेको?
यस्तो विवाहहरूमा पिआरको कुरा निकालेर गर्न के खोजिरहनु भएको हो? के पिआर वालाले नेपाल आएर विवाह नै गर्न नपाउनु? के उनीहरूको चाहिँ मन होइन? के नेपालका युवतीहरूले चाहिँ पिआर अनि ग्रीनकार्ड भेकाहरूसँग विवाह नै गर्नु नहुने हो?
आफ्नो जिन्दगी अनि परिवार सुन्दर बनाउने ठूलो उद्देश्य तथा योजना राखेर नेपाल विवाह गर्न आउने पिआर या ग्रीनकार्ड धारीलाई ट्रोल बनाउने काम कसैले नगरौँ। सबैले सबैलाई सम्मान गरौँ।