बालबालिका देशका भविष्य हुन्। आजका कलिला नानीहरू भोलिका देशका कर्णधार हुन्, आफ्नो परिवारको सहारा हुन्। उनीहरू स्वस्थ्य भएर हुर्किए मानसिक र शारीरिक वृद्धि पनि राम्रो हुनेछ। त्यसैले विकसित देशमा बच्चाको स्वास्थ्यमा धेरै लगानी गरेको पाइन्छ।
समयको परिवर्तनसँगै हाम्रो खानपिनमा धेरै फरकपन आएको छ। फास्ट फूड, मिसावट जन्ने खाद्यको प्रयोग, हाम्रो बाध्यता बन्दै गएको छ। बजारमा समयअनुसार उपलब्ध भइरहेका कतिपय बाध्यात्मकारी खानेकुरा हामीलाई कति खतरा छन् भन्ने थाहा छैन भने कुनै कुरामा हाम्रो अनविज्ञता या देखावटी मायाको कारण हुनसक्छ जुन हाम्रो बच्चाको लागि धेरै जोखिम छ। त्यस्तै प्रदुषित वातावरण र धेरै औषधि र विषादीको प्रयोग। यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष या अप्रत्यक्ष असर पुर्याएको हुन्छ।
जन्मजात देखिने रोगहरू र बिमारी नै भयो भनी थाहा पाइने रोगहरू एउटा समस्याको रूपमा रहेका छन् भने हेर्दा ठिकठाक देखिने तर शरीरमा केही समस्या हुँदा हामी अनविज्ञ हुनु परिरहेको अर्को अवस्था देखिन्छ।
रोगको रोकथाम गर्नु उपचार गर्नुभन्दा उत्तम हो भन्ने हामीलाई थाहै छ। त्यसैले आफ्नो बच्चा साँच्चै निरोगी छ त भनेर हामीले एक पटक सोच्नुपर्ने हुन्छ। अब हामीले हाम्रो बच्चामा लुकेर बसेका र भोलि गएर समस्याको रूपमा देखिन सक्ने रोगको अग्रिम सङ्केत बारे चासो राख्नुपर्ने बेला आएको छ।
विश्वका विकसित देशमा हाल बालबालिकामा मोटोपनको समास्या बढ्दै गएको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार ५-१९ वर्षका बालबालिका र किशोर किशोरीहरूमा बढी तौल र मोटोपनाको प्रकोप सन् १९७५ मा ४% भएकोमा सन् २०१६ मा बढेर १८% पुगेको देखिन्छ।
सुगर (मधुमेह) को रोग, मुटु सम्बन्धी रोग त्यस्तै जटिल बन्दै गएको छ। २०१८ मा मधुमेहका २६.९ मिलियन मानिसहरू मध्ये लगभग दुई लाख १० हजार बालबालिका र किशोरहरू २० वर्षभन्दा कम भएको देखिन्छ।
नेपालको सन्दर्भमा सन् २०१७ को एक अध्ययनले ५२.६% को हाराहारीमा बच्चामा रक्तअल्पता (एनिमिया) भएको देखाएको छ। रक्तअल्पता मध्य यी रोग धेरै देखिएका छन्- थालेसेमिया, सिकल-सेल एनिमिया,आइरन डिफिसिएन्सी एनिमिया।
त्यस्तै नेपालमा मोटोपनको समस्या पनि दिनहुँ दिन बढ्दै गएको देखिन्छ। बच्चामा देखिने सुगर रोग दिनदिनै बढ्दै गइरहेको छ। हामीलाई बच्चालाई पनि सुगर रोग हुन्छ र? भन्ने लाग्नसक्छ। भर्खर जन्मेको बच्चादेखि ठूलो समेत सबैलाई इन्सुलिन नै चाहिने खालको र नचाहिने खालको दुवै थरी सुगर रोगको जोखिम हुन्छ।
किन सजिलै थाहा हुँदैन भइरहेको समस्या?
सुरुको अवस्थामा रोगले शरीरलाई विस्तारै काबुमा राख्न खोजिरहेका हुन्छ। यसो भन्नुको अर्थ रोगको विकास क्रम जारी भैरहेको अवस्था हुन्छ र शरीरको प्रतिरक्षा कमजोर हुँदै गएको हुन्छ। रोगकै रूपमा त्यो बच्चा हुँदा नै देखिन नि सक्छ या पौढ हुँदा देखिन सक्छ। नसर्ने रोग मात्र होइन कति सरुवा रोग पनि छन् जुन शरीरमा रहिरहेर आफ्नो उपस्थिति चिनाउने केही लक्षणहरू देखाउन सक्छन् जुन हामीलाई समान्य लाग्न सक्छ।
जनचेतनाको वृद्धिसँगै कति यी रोगका लक्षण हुन् भनेर थाहा हुँदै गएको देखिन्छ। जस्तै, आँखा पहेलो हुँदा जन्डिस भयो कि भन्ने हामीलाई थाहा छ।
किन जरुरी हुन्छ समान्य लक्षण हुँदा पनि टाउको दुखाउन?
घाँटीको टन्सिल हामीलाई सामान्य र भइरहने समस्या जस्तो लाग्छ। तर उचित उपचार नभएमा त्यसबाट पछि मुटु र मिर्गौलामा असर (बाथ, मुटु रोग र मिर्गौलामा पोस्ट स्ट्रेप्टोकोकल गोलोमेरुलो नेफराइटिस) पर्दछ। त्यस्तै थाइरोइडको समस्या भएमा बच्चा बढिरहेको हुँदैन, पुड्कोपन तिर गइरहेको हुन्छ। हामीलाई बच्चाको खलक नै सानो हुन् भन्ने लाग्छ। कसैमा त थाइरोइड नै नहुन या सुकेको अवस्थामा पनि हुन सक्छ। त्यस्तो अवस्था हुनसक्ने भएमा त झन् सुरुमै स्कृनिङ टेस्टमै जोड दिँदा राम्रो हुने देखिन्छ।
पेटमा जुका, चुर्ना छन् भने खाएको उनीहरूले नै बेसी खाइरहेका हुन्छन्, बच्चाको शरीरलाई खान पुगिरहेको हुँदैन। पिसाबको खराबी सामन्ने लाग्ला तर त्यसले कतै मिर्गौला त खराब गराइरहेको छैन भनि सङ्केत पनि गर्दछ।
'बच्चा मोटो राम्रो हो, राम्रो खानपान पुगेको रहेछ' अब हामी त्यती मात्र नसोचौँ। 'कतै यो मोटोपनको रोग त होइन? यस्तो बढी मोटोपनले मुटुमा र सुगर लेवल लगायतमा असर गरिरहेको त छैन?' भन्ने पनि सोच्नुपर्ने बेला आएको छ। मोटोपन खानाले मात्र हुँदैन, रोगले गर्दा नि हुन्छ, र मोटोपनले रोग निम्त्याउन सहयोग गर्दछ।
त्यस्तै हामी धेरैलाई समान्य लाग्ने तर रोगका लक्षणहरू पनि हुनसक्ने केही समस्या तल उल्लेख गरिएको छ:
- बच्चा नबढेको अवस्था छ, खान राम्रो खान्छ, तर खाएअनुसार शरीरमा असर देखिँदैन। खलक नै सानो हुन भन्ने लाग्छ।
- धेरै मोटो छ। हिंड्न, खेल्न नि गाह्रो भइरहेको छ। खलक नै खानदानी हुन् भन्ने लाग्छ।
- थोरै हिंड्ने बित्तिकै थाक्छ, उकालोमा सास फेर्न धेरै नै गाह्रो हुन्छ। हिँड्ने बानी नभएर जस्तो लाग्छ।
- अनुहार फुस्रो देखिन्छ।
- आँखामा सेतो दाग जस्तो लाग्छ।
- श्वास धेरै गनाउने छ।
- पिसाब पहेलो छ र धेरै पटक फेरिरहन्छ।
- धेरै पसिना आउने हुन्छ।
- पेट मात्र बढेको छ।
- शरीरको कुनै पनि भागमा गाठा, गिर्खा, सुम्लो, दाग छन्।
- शरीरमा रगत जमेको डाबरहरू छन्, धेरै चिलाउने र एलर्जी भैरहने हुन्छ।
- दिसा कब्जिएत छ या असमान्य लाग्ने खालको सधैँ गरिरहेको छ।
- बेलाबेला टोलाइरहने गर्दछ।
- आफ्नै औंला टोक्ने बानी छ।
- असामान्य तरिकाले तिर्खा लाग्यो भनेर पानी पिइराख्ने गर्दछ।
- ठूलो बच्चामा उमेरअनुसार लैङ्गिक परिवर्तन भैरहेको छैन। केटी मान्छेको अनुहारमा केटा मान्छेको जस्तैगरी धेरै रौँ आएको छ।
कसरी थाहा पाउने रोग छ कि छैन भनेर?
- बच्चाको शारीरिक चेकअप गराउनु पर्दछ।
- निदानात्मक जाँच जसमा प्रयोगशालामा गरिने जाँच साथै आवश्यकअनुसार रेडिओलोजिकल जाँच पर्दछन्।
- रगत, दिसा, पिसाब जाँच गर्दा धेरै लुकेका रोगहरू थाहा पाउन सजिलो हुन्छ भने भोलि आइपर्न सक्ने रोगको आकलन पनि गर्न सकिन्छ जसले समयमा नै उपचार गरी रोग रोकथाम गर्न सहयोग गर्दछ।
बच्चाको रगत निकाल्नु त गाह्रो काम होइन र?
हो, बच्चा सुई भनेपछि डराउनु स्वभाविक हुन्छ। रगत जाँच आवश्यक जाँच मध्ये एउटा हो भने दिसा पिसाब, थुक, आदि अरु जाँच गर्न सकिने नमुना हुन्।
अहिले हामीले बच्चामा सुगर बढी छ भनि सुगर रोग पत्ता लगायौँ भने सुगर रोगको उपचार हुन्छ। तर त्योभन्दा अझ राम्रो कुरा समयमै रोग पत्ता लगाएकोले भोलि त्यो बच्चाको आँखा, दिमाग, मिर्गौला, मुटुलगायत जोगाउने काम गर्यौं भन्ने हो।
(लेखक कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन्।)