कुनै दिन थियो आमाले मलाई खान सिकाउनु भयो। किन सिकाउनु भयो भन्दा मलाई खान आउँदैन थियो अनि सिकाउनु भयो। हो, यही कारण होकि आज मेरी आमाले राम्रोसँग चम्चा समाएर खान जान्नु हुन्न। किनकि उहाँले चम्चा समाएर कहिले खानु नै भएको थिएन।
खानु भयो त आफ्नो काम गर्दा गर्दै ठेउला उठेको हातले जस्तो आफूलाई आउँछ त्यसरी। मलाई मेरी आमाले चम्चा समाउन जान्नु भएन भनेर कुनै लाज छैन किनकि म पनि चम्चाले खाएर हुर्केको मान्छे होइन। म त तिनै हातले बनाएको, मिचेको, र तिनै हातको खाना खाएर हुर्केको हुँ।
यदि कसैले मेरी आमालाई यस्तो देखेर मलाई पाखेको छोरा भन्छ भने हो, म पाखे हुँ। म जहिले पनि जति नै अघि भए पनि म त्यसै शून्य स्थानबाट आएको हुँ। म अलि पहिलाको भन्दा राम्रो भएँ भन्दैमा म त्यो आफ्नो ठाउँलाई बिर्सिने छैन जुन ठाउँ आमाले दिनु भएको थियो।
मेरी आमाको लागि चम्चा थियो त आफ्नै हात, केही मिठो थियो त आफूले नै बनाएको घरमा कोदोको, मकैको रोटी, भटमासको दाल, जाडो नामक धानको भात। आफैले दुःख गरेर पालेको भैँसीको दूध, घिउ, दही घरमै उत्पादन गरेको मौरीको मह।
कसैले एउटा धोतीको टुक्रा दिएमा खुसी हुने मेरी आमा। किनकि त्यतिबेला कुनै पनि यस्तो बजारी सामान पाउने बजार थिएन। कसैले यस्तो बजारी सामान चाउचाउ, बिस्कुटजस्ता चिज ल्याउँदा धेरै खुसी हुन्थिन। आफू बिरामी भएर उठ्न नसक्दा पनि जबरजस्ती उठेर हामीलाई खाना बनाएर ख्वाउने र विद्यालय पठाउनु हुन्थ्यो। त्यो गुण म सातौँ जन्मसम्म पनि तिर्न सक्दिनँ होला।
दिनभरि घाँस-दाउरा गरेर बेलुका पसिना पुछेर खाना बनाएको र त्यही पसिना भिजेको काखमा सुतेको आनन्द नै बेग्लै हुन्थ्यो। हो, मेरी आमा आजकालको समयजस्तो त गर्न नसक्नु होला तर हाम्रो लागि अझै पनि मर्न तयार हुनुहुन्छ। त्यसैले आफ्नो आमाजस्तो हुनुहुन्छ त्यसमै खुसी हुनुस्। अरुको देखेर आफ्नो आमालाई नराम्रो ठान्ने काम नगर्नू।
तपाईंलाई जन्माउने, हुर्काउने बढाउने तपाईंकी आमा अनि अहिले अरुको जस्तो खोजेर हुँदैन। गर्वका साथ भन्नुपर्छ कि उहाँ मेरी आमा हो भनेर। नजिक हुँदा त्यति माया नलागे पनि टाढा हुँदा धेरै सम्झना आउने गर्छ। मैले आमालाई एकदिन कल नगर्दा मलाई बाडुल्की लाग्छ, कहीँ जाँदा होस् या घरबाट टाढा हुँदा होस् सधैँ बाडुल्की लाग्छ। किनकि मेरी आमाले खाना खायो कि खाएन, पुगे कि पुगेन भन्ने चिन्ता गर्नुहुन्छ।
बाडुल्की लाग्ने वित्तिकै कि त उताबाट कल आउँछ कि त मैले कल गर्छु। आमा मैले तपाईंको सबै रहर पूरा गर्न नसके पनि तपाईंको खुसीको लागि म आफ्नो जिन्दगी पनि बेचिदिने छु। मेरो र तपाईं सबैको पहिलो भगवान हो आमा। त्यसैले सबैले आमाबुवालाई देवता समान गरेर राख्नु होला भनेर सबैले भन्ने एक शब्द भनेको छु।
आफू जति टाढा भए पनि दिनमा एकचोटि आमालाई सम्झिनु होला। भन्नाले कल वा म्यासेज गर्न सकिन्छ। तपाईंले एकचोटि खाना खानु भयो कि नाइँ भनेर सोध्दा पनि उहाँ ढुक्कका साथ बस्न सक्नुहुन्छ। तपाईंको एक फोनले उहाँलाई खुसी मिल्छ भने तपाईं के एक फोन गर्न सक्नुहुन्न?
तपाईं आफू रमाइलो गर्न लाग्नु भो होला तर आमा अलि केही मिठो खानेकुरा घरमा पाकेमा पहिला छोराछोरी सम्झिन्छन्। फोन गर्न सक्नुहुन्छ भने पहिलो फोन तपाईंलाई आउँछ 'छोराछोरी आज घरमा यस्तो चिज बन्यो' भनेर। आमाको बारेमा धेरै लेख्न त सक्दिनँ। अर्को जन्म त हुन्छ कि हुँदैन थाहा छैन, हुन्छ भने पनि तपाईंकै कोखमा जन्म लिन पाउँ आमा।