श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह एक कुशल, दुरदर्शी योद्धा, कुटिल राष्ट्रभक्त, सफल राजनीतिज्ञ र नेपाल निर्माता हुन्। उनले सुरूआत गरेको एकताको धरातलमा आज नेपाल बाचिँरहेछ।
हामी नेपाली भनेर गर्व गरिरहेका छौ। तर पनि हामी किन नेपाल एकताको निर्माता पृथ्वीनारायण शाह भनेर भन्न सकिरहेका छैनौ? हामीबीच व्याप्त रहेको अनेकौं राजनीतिक वादहरु (पुजिवाद, समाजवाद, लेनिनवाद) सबै पृथ्वीनारायण शाहको एकतावाद भन्दा निकै पर छ्न्।
उनले देखेको एकता वादको सपना देश, जनता र माटो सुहाउँदो छ। केही पाश्चात्यवादको अनुसरण गर्नेहरू पृथ्वीनारायणको शालिक तोडफोड गरेर आफूलाई अग्रगामी विकासवादी भन्न रुचाउँछन्। उनीहरूमा प्रष्ट रूपमा नुनवाद र उग्रवाद देखिन्छ। नेपालमा आयातित नववाद सिद्धान्त, दर्शन, विचार र चिन्तनहरू भु-राजनीति भन्दा नितान्त विपरित छ्न्। यिनले नेपाल र नेपालीको कल्याण गर्दैन। देवभुमी नेपालमा ति अंकुरित त होलान् तर पल्लवित, पुष्पित र फलित भने कदापि हुन सक्दैनन्।
यी वादहरूले देश र जनतालाई विवादित गराउँछन्। देश र जनताबीचमा एकताको तत्वबोध गराउन सक्दैनन्। नेपालको संस्कृति र माटो सुहाउँदो राजनीतिमा पृथ्वीनारायण शाहको 'एकतावाद' को विकल्प छैन। यो वाद नेपाली आमाको काखमा जन्मिएको माटो सुहाउँदो चिन्तन, दर्शन, विचार र सिद्धान्त हो जसलाई पृथ्वीको 'एकतावाद' भन्दा उपयुक्त हुन्छ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दुरदर्शिता, अदम्य उत्साह, विरता, कुशलता, कुटनीति र रणनीतिको कारण आज हामी सम्प्रभुता सम्पन्न स्वतन्त्र स्वाधीन नेपालको नागरिकको रूपमा परिचित हुन पाएका छौं। नेपालको परिवर्तित राजनीतिक कयौं आयमहरूलाई नजिकबाट अध्यन गर्दा पृथ्वीनारायण शाहको एकतावादको महत्त्व उति नै सघन र अपरिहार्य भएको अनुभुत गर्न सकिन्छ।
उनको त्यतिबेलाको विचार र सपना वर्तमान राजनीतिक परिवेशमा झनै अनुकरणीय र उदाहरणीय बन्दै गएको छ। हामीले आफूमा भएको महत्वपूर्ण एकतावादलाई बिर्सिएर अन्य वादको खोजीमा तल्लिन हुनु भनेको हिरा बोकेर फलामको खोजी गर्नु जस्तै हो। उनले दिव्योपदेशमा लेखेका छन्, 'नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो।'
हामीले अहिलेको राजनीतिमा अनुभव गरेको समावेशिता उनले पहिल्यै कल्पना गरेको देखिन्छ। र 'साझा फूलबारी' मा सबै समुदाय, वर्ग, लिंगलाई बिना विभेद समानताको आधारमा सहभागिताको अवसर हुनुपर्छ भन्ने जनाउँछ। देशलाई विकसित र सुशासन कायम गर्न 'घुस दिन्या र घुस लिन्या इन दुइको ता धनजिब गरिलियाको पनि पाप छैन। इ राजाका महासतुर हुन।'
उनले भनेका छन् घुस लिने र दिने दुबै देशका दुश्मन हुन्। तर अहिले देशको राजनीतिक पर्यावरण पूर्ण रूपमा भ्रष्टाचार, घुसखोरी र भ्रष्टहरूले जेलिएको छ। प्रगतिशील भन्दै नववादको अनुसरण गर्नेहरू राज्यको ढुकुटी खर्चेर नातावाद र किर्पावादमा तल्लीन हुनुले देशको सुशासन र अस्मितालाई खुलेआम बलात्कार गर्दै मुर्छित तुल्याएको छ।
उनले छिमेकी देशहरूसँगको सम्बन्धको बारेमा पनि दिव्योपदेशमा भनेका छ्न्, 'कुनै एक छिमेकीसँग नजिक र अर्कोसँग टाढा हुनुहुँदैन। जुन अहिलेको वर्तमान छिमेकी देशहरूसँगको व्यवहार र सम्बन्धले प्रष्ट पारेको छ। आफ्नो देशले धान्न सक्ने परराष्ट्रनीति मात्र अनुसरण गर्नुपर्छ भन्ने कुरा उनले पहिल्यै भनेका छ्न्।
नेपालको नयाँ युवा पुस्ता विश्वविद्यालय प्राङ्गणमा प्रवेश गरेपछि अन्धभक्त भएर नव आगन्तुकवादको पछि लागेर झन्डा बोक्नुभन्दा पृथ्वीनारायण शाहको विचार, एकतावाद र सिद्धान्तलाई थप अध्यन, अनुसन्धान र व्याख्या गरेर प्राज्ञिक विकास गर्नु आजको युगिन आवश्यकता हो।