यहीँ पुस १७ गते सविता विश्वकर्माको 'सबै कुरा मिल्छ, जातले गर्दा कोठै मिल्दैन अमेरिकामा' शीर्षकको आलेख सेतोपाटीमा प्रकाशित भएपछि त्यस आलेख उपर मिश्रित प्रतिक्रिया आएको देखियो। उक्त आलेखमा अधिकांश प्रतिक्रियाहरू असंवेदनशील एवं अव्यवहारिक देखेपछि केही नलेखी रहन सकिनँ।
उक्त आलेखमा अमेरिकाका न्यूयोर्क, भर्जिनिया र क्यालिफोर्निया राज्यमा भएका तीन वटा जातीय विभेदका प्रतिनिधिमूलक घटनाहरू उल्लेख गरिएको थियो। प्रस्तुत गरिएका घटनाहरू मध्ये एउटा घटनाको पीडित म स्वयं भएकोले गर्दा पनि यो आलेख लेख्न बाध्य भएको हुँ।
नेपाली समाजमा जातीय विभेद एवं छुवाछूत व्यवहारिक रुपमा अझै पनि कायम छ र यसको अभ्यास निरन्तर भइरहेको छ भन्ने कुरालाई आत्मसात गरौँ। हिजोको भन्दा आज विभेदको स्वरुप फेरिएको होला तर विभेद आज पर्यन्त कायम छ। जुन अत्यन्तै खेदजनक कुरा हो।
पूर्व आलेखमा आएका 'नाटक' हो, दालमे कुछ काला है, सुनियोजित कथा हो भन्नेजस्ता असंवेदनशील र अनपेक्षित प्रतिक्रियाहरू हेर्दा नेपालमा त जातीय विभेद हटिसक्यो वा छैन भने अमेरिकाजस्तो देशमा यस्तो कसरी हुनसक्छ? यो पत्याउन सक्ने कुरा हो र? भन्ने प्रतीत हुन्छ। तर वास्तविकतालाई नदेखे झैँ गर्न सकिएला, नकार्न भने सकिँदैन। त्यसैले उक्त आलेखमा आएका सबै प्रतिक्रियालाई सम्मान गर्दै केही कुरा राख्न चाहन्छु।
एउटा व्यक्तिको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको उसको आत्मसम्मान हो, व्यक्तिगत रुपमा नैसर्गिक मानव अधिकारको उपभोग गर्दै स्वतन्त्ररुपले बाँच्न पाउनु हो। तर एउटा व्यक्तिलाई न्यूनतम मानवीय व्यवहार गरिँदैन, उसको आत्मसम्मानलाई कुल्चिँदै एउटा निकृष्ट व्यवहार गरिन्छ, उसको मानवमात्र भएर बाँच्न पाउने अधिकारबाट वञ्चित गरिन्छ। अनि त्यस्तो संवेदनशील घटनालाई 'नाटक', 'सुनियोजित रुपमा रचिएको कथा' भनिन्छ भने योभन्दा संवेदनहीनता र सतही मानवीय सोच अरु के नै हुन सक्छ र? यो खालको सोचले २१औं शताब्दीको नेपाली समाजको एउटा ठूलो हिस्साको संकीर्ण सोच र मनोविज्ञानलाई दर्शाउन पर्याप्त छ।
समस्या यहीँबाट सुरु हुन्छ
हामीले अमेरिकामा जातीय विभेदको घटना भयो भन्ने कुरालाई किन सहजै स्वीकार्न सकेनौं? किन यति गम्भीर विषयलाई हलुका रुपले लियौं? यदि हामीले जातीय भेदभाव तथा छुवाछूतलाई नेपाली समाजको एउटा कलंक हो भन्ने कुरालाई स्वीकारेको भए प्रश्नहरू या प्रतिक्रियाहरू अन्य ढंगले आउने थिए जुन समस्या समाधानतर्फ मोडिने थिए।
कुनै पनि समस्याको समाधान तबमात्र निस्कन्छ जब हामी त्यो समस्यालाई स्वीकार्छौं। 'नेपालमा त जातीय छुवाछूत छ नै, त्यसैले जहाँ-जहाँ नेपालीहरू जान्छन्, त्यहाँ-त्यहाँ पनि यो व्यवस्था लैजानु पर्छ' भन्ने हो भने यसमा थप केही भन्नु छैन। होइन भने यो कुसंस्कार कसरी नेपाल बाहिर पुगिरहेको छ? किन हामी विदेशी भूमिमा समेत अभ्यास गरिरहेका छौं? भनेर सोच्दा बढी हितकर होला।
यहाँनेर प्रश्न गर्ने भनेको हामी नेपाली किन समय सापेक्ष सभ्य बन्न सकिरहेका छैनौँ? किन आधुनिक बन्न सकिरहेका छैनौँ? किन नेपालमा रहेका कुसंस्कारहरूलाई अहिले पनि बोकेर हिँडिरहेका छौँ? सबैले सबैलाई किन समान व्यवहार गर्न सकिरहेका छैनौँ? भन्ने हुनुपर्ने होइन र?
अमेरिकामा भएका जातीय विभेदका कुरा
नेपालीहरू २० औँ शताब्दीको सुरुआतदेखि नै भारत हुँदै अमेरिका बसाइँसराई गरेको इतिहास पढ्न पाइन्छ। तर पनि सन् १९४७ मा संयुक्त राज्य अमेरिकासँग दौत्य सम्बन्ध स्थापना र १९५९ मा नेपालमा अमेरिकी दुतावास स्थापना भएपछि मात्रै नेपालीहरू अध्ययन र व्यापारिक प्रयोजनका लागि अमेरिका आउने क्रम सुरु भयो। यो संख्या विस्तारै बढ्दै गयो र १९९० पछि नेपालीहरूको अमेरिका बसाइँसराईको कुरा त सर्वविदितै छ।
जब कुनै मानिस एक ठाउँबाट अर्को ठाउँमा जान्छ वा बसाइँसराई गर्छ, त्यस क्रममा केवल मानिसमात्र जाँदैन, उसले आफनो रीतिरिवाज, परम्परा, मूल्यमान्यता, अभ्यासहरू, संस्कार आदि सबै लिएर जान्छ। र सँगसँगै उसले लिएर जाने अर्को कुरा भनेको कुसंस्कार हो। जातीय भेदभाव तथा छुवाछूत नेपाली समाजको त्यही कुसंस्कारहरू मध्येको एक हो।
हामी विकसित भनिएका यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा त गयौँ तर एउटा मान्छेले अर्को मान्छेलाई फगत उसको जातथरको/कुल वंशको आधारमा सानो देख्ने, तल्लो स्तरको ठान्ने अझ भनौं 'अछुत' मान्ने जस्तो घृणित कुसंस्कारलाई समेत लिएर गइरहेका छौँ। योभन्दा खेदजन्य कुरा अरु के हुन सक्छ र?
आफ्नो मातृभूमि छोडी विदेशिनु, अमेरिका, यूरोप लगायतका मुलुकहरूमा जानु, ग्रीनकार्ड, स्थायी बसोबास अनुमति तथा नागरिकता लिनु, बौद्धिक पलायन हुनु आफैमा कति राम्रो/नराम्रो, त्यसको बारेमा फरक प्रसंगमा छलफल गरौँला। जुन अहिलेको अवस्थामा टड्कारो बहसको विषय पनि हो।
पछिल्लो समयमा अमेरिकामा नेपालीहरूको संख्या बढेसँगै घर-जग्गा एवं व्यापार-व्यवसाय किन्नेहरूको संख्या पनि बढ्दो क्रममा छ। अमेरिकामा अहिले पहिलो पुस्ताका नेपालीहरू स्थापित हुने क्रममा छन् जुन आफैंमा सुखद् कुरा पनि हो। तर सँगसँगै जातीय विभेद बढ्ने संकेत यहाँ भइरहेका घटनाहरूले दिइरहेका छन्।
विभिन्न माध्यम वा उद्देश्यले आएको भए पनि यहाँ सबै जातजातिका नेपालीहरू हामी देख्न सक्छौं। कतिपय पाठकहरूले 'तिमी दलितहरू पनि अमेरिका जाने, नेपालमा नै बसे भइगो नि' भन्ने खालको प्रतिक्रिया दिएको पनि पाइयो। स्मरण रहोस्, नेपाली समाजका कुरीति, कुसंस्कार एवं विभेद लगायतका कारणले गर्दा पनि दलितहरू विदेशीन बाध्य छन्।
कतिपय साथीहरूले 'अमेरिका गएर पनि जातीय विभेदको कुरा गर्ने, छुवाछूतको कुरा गर्ने?' भनेर भन्नु भएको छ। यदि तपाईंलाई कुनै घाउ लागेको छ भने त्यो घाउ त दुख्छ नि हैन र? नेपालमा लागेको घाउ दुख्ने अनि अमेरिकामा लागेको घाउ नदुख्ने भन्ने हुन्छ र? मलाई जातीय विभेद भयो भनेर भन्न पनि नपाउने हुन्छ र? कि ठिकै छ, मलाई जातीय विभेद भयो तर अमेरिकामा छु, के बोल्ने, भै त गो भनेर चुप लाग्नुपर्ने हो?
त्यही भेदभावयुक्त व्यवहारले आत्मसम्मानमा चोट पुर्यायो र त बोलेको हो। केही मित्रहरूले अमेरिकामा गएर पनि 'कोटा' खोजेको होला नि पनि भन्नु भएको छ। यस्तो निकृष्ट कुराको पनि जवाफ दिइरहनु पर्ला र? कोठा खोज्न नेपालीकै घरमा जानुपर्ने भनेर पनि भनेको पाइयो। एउटा दलित समुदायको व्यक्ति अरु सरह नै कोठा खोज्न यहाँ स्वतन्त्र छ। तर कोठा खोज्ने क्रममा यदि ऊ एउटा नेपालीको घरमा पुग्छ भने के त्यो अपराध हो र? के यसमा पनि देषि ऊ नै हुन्छ र?
यहाँ रहेका हामी नेपालीहरू अधिकांशको अवस्था करिब-करिब उस्तै छ (सबैको अवस्थालाई सामान्यिकरण गर्न खोजिएको भने हैन)। खुसी पनि छौं, दुखी पनि छौं, जीवन सजिलो पनि छ, गाह्रो पनि छ। हाम्रो परिवेश र परिस्थिति उस्तै छ। यस्तो अवस्थामा सात समुन्द्रपारि एउटा नेपालीले अर्को नेपाली खोज्छ, नजिक हुन चाहन्छ भने त्यो विचारको गहिराइलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। त्यसको जिम्मा तपाईं आदरणीय पाठकहरूमा छोड्छु।
कतिपयले ९११ म फोन किन नगरेको भन्नु भएको छ। ९११ मा फोन गर्ने भनेको विशेषगरी तत्कालीन स्वास्थ्य एवं अपराधिक आपतकालीन अवस्थामा राहत एवं उद्धारका लागि हो। त्यसकारण यस्ता संवेदनशील विषयमा प्रतिक्रिया दिँदा पौडी खेल्ने तालिम लिनु र पौडी पोखरीमा हामफाल्नु दुई विल्कुल फरक कुरा हुन् भन्ने बुझ्न जरुरी हुन्छ।
३७,९६,७४२ वर्ग माइल कुल क्षेत्रफल भएको संयुक्त राज्य अमेरिका आफैमा एउटा विशाल मुलुक हो। त्यसैले गर्दा पूर्व (न्यूयोर्क), मध्य (भर्जिनिया) र पश्चिम (क्यालिफोर्निया) मा भएका जातीय विभेदका घटनाहरूलाई पूर्व आलेखमा समेटिएको हुनुपर्दछ। मैले यहाँनेर भन्न खोजेको कुरा के हो भने अमेरिकामा पछिल्लो समयमा जातीय विभेदका घटनाहरू बढिरहेका छन्। अमेरिका मात्रै हैन, विश्वका अन्य मुलुकहरूमा समेत विभेदका घटनाहरू हुने गरेको समाचारहरू आइरहेका छन्। जसका बारेमा हामी सबै गम्भीर बन्नै पर्दछ।
अमेरिकास्थित गैर-नाफामूलक संस्था इन्टरनेशनल कमिसन फर दलित राइट्सको हालै सम्प्रेषित समाचारअनुसार पनि २०२१ मा मात्रै करिब १५० वटा जातीय विभेद एवं कोठा भाडामा दिँदा गरिएका विभेदका घटनाहरू अभिलेख गरिएका छन्। प्रत्येक महिना ४-५ वटा जातीय विभेद एवं कोठा भाडामा दिँदा गरिएको विभेदका फोन-कल आउने गरेको समेत बताइएको छ।
साथसाथै, उक्त समाचारमा यसरी आएका घटनाका निवेदनहरू कानुनी उपचारका लागि अगाडि बढाइने समेत जनाइएको छ। त्यसकारण, हामी छुवाछूतजस्तो सामाजिक 'कलंक' का विरुद्ध गम्भीर बन्नै पर्दछ। विदेशी भूमि त्यो पनि अमेरिकाजस्तो देशमा त जातीय विभेद हुनै सक्दैन, यो सब 'नाटक' हो, सुनियोति 'कथा' हो भन्ने जस्ता संकीर्ण सोचबाट मुक्त होऔं। यस्तो त भएन होलाभन्दा पनि त्यहाँ पनि किन भयो त? भनेर प्रश्न गरौँ। अनि मात्रै हामी समाधान पहिल्याई एउटा सहअस्तित्व र सहकार्य सहितको नेपाली समाजको निर्माण गर्न सक्छौँ।
जसले विभेद गर्छ, उसलाई बुझाउनु अति जरुरी हुन्छ। त्यतिले मात्र नपुग्ने हुँदा यस्तो अवस्थामा यस विषयमा बोल्नु, लेख्नु, जानकारी गराउनु र प्रकाशमा ल्याउनु जरुरी देखिन्छ। नेपालमा दलित समुदायका लागि काम गरेको व्यक्ति र स्वयं यही समुदायको एक सदस्य भएका कारण पनि यस विषयमा बोल्नु मेरो कर्तव्य अनि दायित्व दुवै हो।
यति भन्दै गर्दा अमेरिकामा रहनु भएका धेरै गैरदलित साथीहरूले भन्न सक्नुहुन्छ, सबैले कहाँ त्यस्तो गर्छन् र? हामी त त्यस्तो गर्दैनौँ भनेर। पहिलो कुरा, तपाईंले गर्नुहुन्न, त्यो अति नै स्वागतयोग्य कुरा हो, हुनुपर्ने पनि सबै तपाईंहरूजस्तै नै हो, तर एकजनाले मात्रै गर्यो भने पनि अपराध त अपराध नै होनि, हैन र? जुन तपाईं हामी कसैले चाहँदैनौँ। दोस्रो, तपाईंहरू जस्तो सकारात्मक सोच राख्ने व्यक्तिहरू पनि हुनुहुन्छ र त हामी पनि आवश्यक सहयोग र समर्थन प्राप्त गर्ने कुरामा ढुक्क छौँ।
फर्कौं नेपाल तिर
नेपाली समाज करिब दुई हजार वर्ष अगाडिदेखि जातीय विभेद एवं छुवाछूत समस्याबाट ग्रसित भएको मानिन्छ। मल्लकालीन राजा जयस्थिति मल्लको समाजको जातीय वर्गीकरण हुँदै राणा प्रधानमन्त्री जंगबहादुर राणासम्म आइपुग्दा उनले लागु गरेको विसं १९१० को मुलुकी ऐनले त स्पष्ट रुपमा जात व्यवस्थालाई संस्थागत गर्दै कानुनकै रुप प्रदान गर्यो। त्यसयता नेपाली समाज जातीय रुपमा छिन्नभिन्न हुनपुग्यो।
कतिपयले नेपाली समाज जातीय रुपमा मिलेर बसेको पनि भन्नुहुन्छ। तर त्यस्तो होइन। कुरा के हो भने घाउ, पीडा, विभेद हिजो पनि थियो, तर बोल्न सक्ने अवस्था थिएन। आज छ, फरक यति मात्रै हो। १९१० को मुलुकी ऐनले गर्दा नेपालका धेरै जातजातिहरू समाजको पिंधमा पिल्सिन बाध्य भए। तीनै राज्यद्वारा पिल्सिएका, पछाडि पारिएका जाति समुदायलाई आज हामी सिमान्तकृत समुदाय भन्छौँ। ती मध्ये पनि सबैभन्दा पिंधमा रहेको समुदाय हो अहिलेको दलित समुदाय।
धेरै अगाडिको चर्चा पनि नगरौं, म मेरै पुस्ताको गैरदलित युवाको एउटा खास हिस्साको नेपालमा जातीय विभेद एवं छुवाछूत त्यसमाथि पनि 'दलित' शब्द प्रतिको मनोविज्ञानलाई राख्न चाहन्छु।
धेरै जसोले भन्नुहुन्छ, पहिलो पुस्ताले जातपात मान्छ, जब पहिलो पुस्ता सकिन्छ तब यो भेदभाव आफै हटेर जान्छ। तर म यो तर्कसँग सहमत छैन र हुन पनि सक्दिनँ। मेरो विचारमा पहिलो पुस्तामा कुनै समस्या छैन। किनभने पहिलो पुस्ताले आफ्नै जीवनकालको छोटो अवधिमा २१ औँ शताब्दीको विज्ञान र प्रविधिको विकासले जीवनशैली, खानपान, रहनसहन, पोशाक, आविष्कार, शिक्षा, सञ्चार, भाषा, आदिमा ल्याएको परिवर्तन देखेर समयसँगै सबै परिवर्तन हुने रहेछ भनेर बुझिसकेको छ।
समस्या भनेको अहिलेको पुस्तामा छ। धेरै पर नजाऔँ, मेरो आफ्नो विश्लेषणमा २०६२/०६३ को राजनीतिक परिवर्तनपछि जब राज्य समावेशी अवधारणामा गयो तबदेखि नेपालका केही खास जातिहरूको एउटा ठूलो युवा जमातले दलित शब्द र यो समुदायप्रति नै फरक मनोविज्ञान बोकिरहेको छ। जबकि 'दलित' फगत एउटा शब्द हो अरु सामान्य शब्दहरूजस्तै। किनभने दलित शब्दले जात विशेषलाई जनाउँदैन तर यसले केही जातजातिको अवस्थालाई भने पक्कै जनाउँछ।
दलिएको, दलनमा परेको, हेपिएको, पिल्सिएको, पछाडि पारिएको जाति चिनाउने केवल एउटा शब्द हो दलित। यसमा त्यस्तो फरक मनोविज्ञान बोकिरहनुपर्ने केही आवश्यक देखिँदैन। अर्को कुरा, जो अहं हो जस्तो लाग्छ, त्यो के भने लोक सेवा आयोग लगायतका प्रतिस्पर्धात्मक परीक्षाको विज्ञापन हेर्ने अनि दलित समुदायका लागि छुट्टयाईएको आरक्षित सिट देखेपछि 'ह्या!' भन्दै नाक खुम्च्याउने अनि त्यही मानसिकताबाट जन्मेको फरक मनोविज्ञानबाट गुज्रिएको छ गैरदलित समुदायको एउटा खास हिस्सा।
त्यही हिस्सा हो अहिले आएर दलितलाई 'कोटा' पनि 'कोठा' पनि भन्ने। जबकी 'कोटा' र 'कोठा' को बीचमा कुनै साइनो छैन। अझ अचम्म र उदेक लाग्दो कुरा त के भने, सिमान्तकृत समुदायका लागि आरक्षण गरिएका अरु समावेशी समूहहरूमा सामान्यतया प्रश्न उठाइँदैन वा तिनलाई सार्वजनिक बहसको मुद्दा बनाइँदैन, आँखाको तारो भनौं वा कसिङ्गर बनेको पाइन्छ त केवल दलित समुदायका लागि छुट्टयाइएको सिट।
बुझेर बुझ पचाउने एउटा जमातले भन्छ- दलित कोटा हटाऊ, दलित शब्द हटाऊ, खुल्ला लडौँ, सँगसँगै प्रतिस्पर्धा गरौँ, सँगै दौडौँ। समय आएपछि सँगै दौडिने हो, दौडिनु पनि पर्छ। तर इतिहास साक्षी छ, युगौँसम्म पाइला चाल्दा पनि सोचेर, चारैतिर हेरेर मात्र पाइला चाल्ने बाध्यता व्यहोरेको दलित समुदाय भर्खर मात्र बामे सर्न खोज्दैछ, उठेर हिँड्न सिक्दासम्म त प्रतीक्षा गर्नुपर्ने नै हुन्छ नि हैन र? हिँड्न सिकिसकेकालाई मात्र सँगै दौडन आह्वान गर्दा नियमसंगत हुनजान्छ भन्ने मलाई लाग्छ।
हिजो तपाईंका चाडपर्वहरू, विवाह-ब्रतबन्धहरू तिनै दलितले गर्दा रमाइला हुन्थे। तपाईंका शुभकार्य वा अनुष्ठानहरू तिनै दलितका कलाकौशल र उपस्थिति बिना अधुरा हुन्थे। तपाईंका अन्नका भकारीहरू तिनैले गर्दा भरिन्थे। तपाईंको घर तिनैले बनाएका औंजारहरूले चल्ने गर्दथे। तपाईंका धार्मिक कर्महरू तिनकै कौशलले गर्दा नै पवित्र हुन्थे। तिनको त्यो गुनप्रति कृतज्ञ हुनुपर्ने समाजले उल्टो उनीहरूलाई नै अपवित्र बनायो। यहाँ सम्मकी तपाईंहरूको लाज पनि उनीहरूले बनाएका वस्त्रले ढाक्दथे, भलै ती आफू बरु आधा शरीर ढाकेर बस्न बाध्य भए।
समग्रमा समाजमा तपाईंको पुर्खाहरूको जुन काजीसाब, जिम्मावाल, मुखिया, पटवारी, डिठ्ठा साब, मालिक, माईबापजस्ता जे-जे कुराको धाक, रवाफ र शान थियो, त्यो तिनै दलितको परिश्रम र कलाकौशलको देन पनि थियो। जब तपाईंको सम्पूर्ण जीवन नै ती परिश्रमी कलाजिवीहरूको पौरख र विज्ञानमा चलेको थियो भने तिनले तपाईंसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्ने हुन्छ र?
कतिपयले प्रश्न गर्नुहुन्छ, हाम्रा पुर्खाले गरेको विभेदको सजाय हामीले किन भोग्ने? त्यसको उत्तर के हो भने, तपाईंका पुर्खालाई विभेद गर्न त राज्यले सिकाएको हो। पुर्खाहरू त जानुभयो तर राज्य त यहीँ छ नि, अहिले पनि हैन र? त्यही राज्यसँग हो दलित समुदायले आफ्नो समानता र अधिकार खोजेको। त्यसकारण दलितलाई दिएको आरक्षणको विरोध गर्नुभन्दा, किन आरक्षण दिनुपर्ने अवस्था आयो भनी प्रश्न गर्यौं भने हामी सही दिशामा पुग्छौँ।
साथीहरूलाई म के अनुरोध गर्दछु भने तपाईंहरूले प्रतिस्पर्धात्मक परीक्षाहरूको पाठ्यक्रम पढ्दै गर्दा कृपया जंगबहादुर राणाले लागु गरेको मुलुकी ऐन एकपटक खोजी पढौं। यो हरेक नेपालीले कम्तीमा एकचोटि पढ्नै पर्ने ऐतिहासिक दस्तावेज पनि हो।
पूर्व आलेख लगायत जातीय विभेदको मुद्दा उठाउने जो कोहीलाई पनि कतिपयले डलर खेती गरेको भनेको पनि देखियो। यदि राज्य दलित लगायतका पछाडि पारिएका समुदाका समस्याप्रति आवश्यक गम्भीर भइदिएको भए सायद राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको आवश्यकता पर्दैनथ्यो।
राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूका आ-आफ्नै कमिकमजोरी रहे होलान्, त्यो छलफलको अर्को पाटो हुनसक्ला तर तिनका योगदानलाई पनि नकार्न सकिँदैन। राज्यले आफ्ना जनताप्रति खासगरी पिछडिएका सिमान्तकृत समुदायप्रति निर्वाह गर्नुपर्ने दायित्व राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गर्न तयार हुनुपर्ने, राज्यलाई उसका कर्तव्य सम्झाइदिनु पर्ने, झकझक्याइदिनु पर्ने अवस्था किन छ त भन्ने कुरातिर पनि तपाईंहरू जस्ताको ध्यान जाँदा राम्रै होला कि?
त्यसपछि आयो, जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन। विसं २०६८ जेठ १८ मा प्रमाणीकरण गरिएको यस ऐनले जातीय भेदभाव तथा छुवाछूत जन्य व्यवहारलाई अपराधको रुपमा स्वीकार गर्यो। तर दुर्भाग्य, यो ऐन आए लगत्तै जातीय विभेदका जघन्य घटनाहरू भए। छोराले अन्तरजातीय विवाह गरेका कारण दैलेखमा सेते दमाईले ज्यान गुमाए भने कालिकोटमा मनवीरे सुनारले सार्वजनिक होटलको चुल्हो छोएको निहुँमा ज्यान गुमाउन पुगे।
अर्कोतिर, सुस्तै भए पनि यो ऐन कार्यान्वयनमा आउन थाल्यो। जसले गर्दा पीडकहरू सजायको दायरामा आउन थाले। अझ यस ऐनको राम्रो पक्ष के छ भने स्वदेशमा मात्र हैन विदेशमा गरिएको जातीय विभेदको घटनामा समेत यो कानुन आकर्षित हुन्छ। यस कुराको नेपाली समाजमा वास्तवमा सकारात्मक प्रभाव पर्नुपर्ने हो तर त्यसो भएको देखिँदैन। बरु उल्टो एउटा खास हिस्साले दलित समुदायप्रति नै वैमनश्यताको दृष्टिकोण विकास गरेको देखिन्छ।
पछिल्लो उदाहरण रुकुम-पश्चिममा नवराज विक सहितको समूहको सामूहिक नरसंहारलाई लिन सकिन्छ। जसले गर्दा दलित भन्ने वित्तिकै सबैको आँखी हुनुपर्ने अवस्था आएको छ जुन प्रत्युपादक छ। त्यसकारण २०६२/०६३ को राजनीतिक परिवर्तनपछि राज्यको समावेशी अवधारणा र जातीय विभेद विरुद्धको ऐन, २०६८ यी दुई कारणहरूले गर्दा दलित समुदायप्रति अझ बढी कठोर खालको मनोविज्ञान विकास भएको मलाई लाग्दछ जुन किमार्थ सही छैन।
तर फेरि यति भन्दै गर्दा, यहीँ अवधिमा र विशेषगरी २०७० पछि उल्लेख्य रुपमा गैरदलित समुदायको एउटा हिस्साले भने फरक ढंगले दलित समुदायप्रति साँच्चै नै प्रतिबद्धता देखाएको छ। जातीय विभेदले अन्ततोगत्वा समाजमा कसैलाई पनि फाइदा गर्दैन भनेर बुझिसकेको यो हिस्साले दलित समुदायको हित र समस्याको वास्तविक सम्बोधन चाहेको छ।
अझ भनौँ दलित समुदाय सँगसँगै हिँड्ने गरेको छ। जसमा मिडियाकर्मीहरू, लेखक, साहित्यकार, कलाकार, प्राध्यापक, अनुसन्धाताहरू, मावन अधिकारकर्मीहरू, बौद्धिक समूह, विभिन्न पेसाकर्मीहरू, राजनीतिककर्मी लगायतका हुनुहुन्छ। यहाँसम्म कि कतिपय गैरदलित परिवारहरू समेत यस दिशामा सकारात्मक भएको पाइएको छ। जुन दलित समस्या समाधानका लागि एउटा सकारात्मक पक्ष पनि हो।
यहाँ अमेरिकामै पनि धेरै गैरदलित साथीहरू हुनुहुन्छ जो साँच्चै यस विषयमा गम्भीर हुनुहुन्छ। केही समयअगाडि अमेरिकाको वाशिङटन डिसीमा साथीहरूले आफ्ना पुर्खाहरूले यस समुदायप्रति गरेको गल्तीको घुँडा टेकेर माफी मागी एउटा सकारात्मक पाइलाको सुरुआत समेत गर्नुभएको थियो। जुन निकै सह्रानीय पनि छ।
साथसाथै, अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई मेरो एउटा अनुरोध छ। हामी विश्वको अति विकसित भनिएको देश अमेरिकामा छौं। त्यति मात्र होइन, अमेरिका विश्व हल्लाउने नागरिक अधिकारको आन्दोलन भएको देश पनि हो। अर्थात् अमेरिका कानुनको देश हो। हामी आफुलाई सभ्य, शिक्षित र आधुनिक पनि मान्दछौं। अमेरिकामा रहिरहँदा जातीय विभेदका घटनाहरू हुनु तपाईं हाम्रो व्यवहार र सोच माथिको प्रश्न पनि हो। त्यसकारण आउनुहोस् एउटा प्रण गरौं, कम्तीमा नेपाली समुदायबीच जातीय विभेदका घटनाहरू हुने छैनन्। र यो सम्भव पनि छ किनभने यो तपाईं हाम्रै हातमा छ।
नेपाली समाजको विविधताको पक्ष
नेपाली समाज विविधतामूलक समाज हो। विविधता समाजको त्यस्तो पक्ष हो जसलाई बुझियो भने सार्थक हुन्छ र यदि बुझिएन भने त्यो घातक पनि हुनसक्छ। पछिल्लो समय विभिन्न जातजाति, समुदायले आफ्नो अधिकारको, राज्य संयन्त्रमा प्रतिनिधित्वको, आरक्षणको, समावेशिताको आवाज त्यसैकारण उठाउनु परेको हो। यदि नेपाली समाज सजातीय हुन्थ्यो भने यी खालका कुराहरू आउने थिएनन्।
नेपालको सन्दर्भमा राज्य संयन्त्रमा सधैँ एक खास जात विशेषको पकड रहन गयो। उसले सधैँ अरुलाई शासन मात्रै गरेन, ऐन कानुन नै बनाएर सधैं राज्य संयन्त्रमा पुग्ने बाटो नै बन्द गरिदियो। फलस्वरुप धेरै जातजातिहरू सधै पींधमै पिल्सिन बाध्य भए। सबैभन्दा पींधमा त दलित समुदाय नै थियो। समय र अवस्था फेरिएसँगै पछिल्लो समयमा यहाँका विभिन्न जातजाति, वर्ग समुदायले आफ्ना आवाजहरू राख्न कोसिस गरेको देखिन्छ। एउटा मात्रै फूल फुलेको, फक्रेको बँगैचा त कहाँ सुन्दर हुन्छ र!
नेपाली समाजको विविधताको शक्तिलाई बुझौं। त्यो विविधता भित्रको वास्तविक एकताको विज खोजौं। अब सबै जातजातिको वास्तविक देश बनाऔँ। सबैको सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गरौं। एउटा नेपालीले अर्को नेपालीलाई समान भाव र सम्मानका दृष्टिले हेर्ने समाज र सोचको विकास गर्न सकेको अवस्थामा मात्र हाम्रो देशलाई सही अर्थमा सुन्दर, शान्त र विशाल हृदय भएकाहरूको थलो भनेर गर्वसाथ भन्न सक्नेछौं।
अहिले भएका समानुपातिक समावेशीता र प्रतिनिधित्वजस्ता उपलब्धिहरूलाई कसैको भाग खोसिएको रुपमा हेर्यौं भने वरदानका रुपम लिइने विविधताको सुन्दरता देशका लागि घातक सावित हुन पनि बेर नलाग्न सक्छ। नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विविधताको मिहिन अध्ययन न कहिल्यै शासकहरूले गरे, नीति निर्माताहरूले गरे, न देश हाँक्ने राजनीतिक नेतृत्वले नै गर्यो। यदी त्यसो गर्न सकेको भए नेपालको आफ्नै विज्ञान तथा प्रविधिको विकास हुनेथियो।
शिल्प कलाका धनी दलितहरू नै नेपालका सही अर्थमा वैज्ञानिकहरू थिए। तर राज्यले न तिनको सम्मान गर्न सक्यो न तिनको विज्ञानलाई पहिचान दिएर प्रवर्द्धन नै गर्नसक्यो। फलस्वरुप प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपाली विविधतामूलक समाज सधैँ पछाडि परिरह्यो।
सार्वजनिक विषयमा बहस गरौं, छलफल गरौं, विचारको आदान प्रदान गरौं। फरक मत पनि राखौं। तर कृपया कुनै संवेदनशील वा सामाजिक महत्वको विषय वस्तुमा आफ्नो प्रतिक्रिया दिनुअगाडि भने एक पटक सोचौँ। किनभने हाम्रो विचारले हाम्रो चिन्तन र चरित्रको प्रतिनिधित्व गर्दछ। नत्र भने तपाईंको एउटा सतही प्रतिक्रियाले गर्दा गलत सूचना प्रवाह हुनसक्दछ।
रह्यो कुरा दलित समस्याको, दलित को समस्या केवल यस समुदायको मात्रै हैन, गैरदलितको पनि हो, समाजकै समस्या हो, समग्रमा यो सम्पूर्ण राष्ट्रकै समस्या हो। दलित समुदायलाई यो पनि थाहाँ छ कि यो समस्या दलितले मात्रै चाहेर हल हुँदैन। गैरदलित लगायतको सामूहिक प्रयासले मात्र हल गर्न सकिन्छ। यो कुरा तपाईंले खिसिटिउरी गर्न खोज्ने दलित समुदायले बुझिसके, तपाईंले कहिले बुझ्ने?
अन्त्यमा,
हामी प्रत्येक वर्ष २१ मार्चका दिन विश्वभरि मनाइने 'सबै प्रकारका विभेदहरूको उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धी दिवस' को संघारमा पनि छौँ। आऔं, यस पटक हामी सबैले साँचो हृदयले प्रण गरौं कि अब उपरान्त जातीय विभेद लगायतका कुनै विभेद गर्ने छैनौँ र अरुलाई गर्न पनि दिनेछैनौँ। एक सुसंस्कृत एवं समातामूलक समाजको निर्माणमा सहभागी हुनेछौँ।