काठमाडौँ छोडेपछि बिर्सनै पर्ने धेरै कुराहरू बिर्सने चक्करमा सम्झनै पर्ने धेरै कुराहरू पनि बिर्सिएको छु अनि बिर्सनै पर्ने कतिपय कुराहरू चाहेर पनि बिर्सन सकेको छैन। झन्डै एक दशकको बसाइँमा काठमाडौँले धेरै कुरा सिकाएको छ। आफन्त, आफन्तजस्ताहरू, जिन्दगी, प्रेम, बिछोड, मान्छे, समय, पैसा र यावत अनि सबैभन्दा ठूलो कुरा त आफूले आफैलाई चिन्न सक्ने पनि त बनाएको छ।
काठमाडौँ बसाइँमै हो जीवनको एउटा कालखण्ड विद्यालय, पुस्तकालय, मदिरालय हुँदै यदाकदा बेश्यालयसम्म पनि पुगेको छ। तर आजसम्म मलाई केही कुराको लत बसेन भनेर गर्व गर्नै लाग्दा सम्झन्छु मलाई काठमाडौँले नराम्ररी म:मको लत बसाइदिएको छ।
एक समय म:मको डल्लो मुख भित्र नपसेको दिन हुँदैन थियो। कहिले खाजा म:म, कहिले खानै म:म। कहिले रहरमा म:म, कहिले बाध्यतामा म:म।
बसन्तपुरबाट ताहचल निस्कने गल्लीका ठेला, टपरी र म:म सम्झन्छु अनि हठात् मेरो मस्तिष्कमा एउटा धुमिल आकृति सल्बलाउँछ। जो मेरो हातको टपरीबाट सिन्कोले घोचेर एउटा डल्लो म:म उठाउँछ र अटाई नअटाई मुखभित्र कोचेर एउटा हातले मेरो पाखुरीमा प्याट्ट हिर्काउँछ र खुसीको उन्माद मुस्कान मुस्कुराउँछ। म उसले निलेको म:मको डल्लोमा आफ्नो जीवनको तृप्तता महसुस गर्छु।
म:म खाइसकेर आफ्नो कोठा नपुगुन्जेलसम्म त्यही आकृति मेरो एकातिर पाखुरीमा झुन्डिएर जीवनका विविध रङहरू बोलिरहन्छ, म चुपचाप सुनीमात्र रहन्छु र त्यसैलाई आफ्नो संसार ठान्दिन्छु।
जब म म:म सम्झन्छु, म:मसँगै जोडिएर आउने त्यो आकृतिलाई कहिल्यै भुल्न सक्दिनँ चाहेर पनि। त्यही आकृति जो आफ्ना हातका औँलाहरू मेरा हातका औँलाहरूमा कैँची बनाएर खप्टिन्छ र भोटाहिटीका पुस्तक पसलहरूबाट निस्कँदै रत्नपार्कको आकाशे पुल, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट हुँदै सुन्धारासम्म आइपुग्छ कतै नछुट्टिकनै। मानौँ कि ती हातहरू युगौँदेखि यसरी नै जोडिएका छन् र युगौँसम्म यसरी नै जोडिरहने छन्।
सुन्धारा पुगेपछि म धरहरा सम्झन्छु र धरहराभन्दा बढी धरहरा परिसरभित्रै रहेको म:म क्याफे सम्झन्छु। काठमाडौँमै यहाँको म:म मेरो बेस्ट म:म हो, मेरो मात्रै हैन मेरो मस्तिष्कमा सल्बलाइरहने त्यो धुमिल आकृतिको पनि।
'म:म भनेको त बफ नै खानुपर्छ, बुझ्यौ?' मैले भनिनसक्दै ऊ बोल्छ, 'हैन, आज बफ-चिकेन खानुपर्छ!'
उसैले भनेझैँ मेरो हातको टपरीबाट एउटा बफ म:मको डल्लो टिपेर ऊ खान्छ र उसको हातको टपरीबाट एउटा चिकेन म:मको डल्लो टिपेर म खान्छु। अलिकति विश्वास, अलिकति समर्पण र अलि धेरै प्रेम मिसाएर बफ-चिकेन म:म खाँदै गर्दा म उसका अनुहारभरि सन्तुष्टिका रेखाहरू पढ्न सक्छु र त्यसैलाई आफ्नो सर्वश्व मान्दिन्छु।
जसरी धरहरा ढल्यो, त्यसरी नै त्यो सम्बन्ध पनि तहसनहस भयो। परन्तु धरहरा फेरि उठ्यो नयाँ भएर तर त्यो सम्बन्ध, तिनै मान्छे, त्यही साथ र त्यही परिवेश अब कहिल्यै उठ्नेछैन न त पहिलेजस्तै गरी न त नयाँ भएर नै। र पनि मेरो मस्तिष्कमा सिमेन्टेड एउटा अजर धरहरा त आज पनि छँदै छ जसलाई समयको दसौं रेक्टर स्केल भूकम्पले पनि भत्काउन सक्दैन। अचेल अक्सर त्यही धरहराको टुप्पोमा पुग्छु र तिनै जोडी पैतलाहरूको पदचाप पछ्याउँछु, यी आँखाहरूबाट ओझेल नपरुन्जेल।
अँ साच्ची, म त म:म पो सम्झँदै थिएँ। म:मले के-के सम्झाइदियो के-के।
काठमाडौँ छोडेको झन्डै आधा दशक भैसकेको छ। यताको पिज्जा, बर्गर र केएफसीले म:मको स्वाद भुलाउन सकेन, सक्दैन। नेपाली नामका टन्नै म:म रेस्टुरेन्टहरू नभएका पनि हैनन्, एक त पायक पर्दैन, दोस्रो समय मिल्दैन र तेस्रो काठमाडौँको जस्तो स्वाद कहाँ पाइन्छ र यहाँ! यसकारण पनि धेरै भो म:म नखाएको। आज म:म खुब सम्झिरहेछु, अझ नढाँटी भनौँ, मलाई म:म सिक भएको छ।