क्यान्सर रोगका बिरामीहरू विशेषगरी उपचारमा सक्रिय रहेका बिरामीहरूलाई कोभिड- १९ को संक्रमणको जोखिम उच्च रहेको पाइएको छ। किनभने धेरै क्यान्सर रोगका बिरामीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ। त्यसै कारणले गर्दा अहिलेको परिस्थितिमा यस रोगका बिरामीहरूले यथाशीघ्र कोभिड-१९ विरुद्धको खोप लिन हामी क्यान्सर रोग विशेषज्ञहरूको सुझाव छ।
वर्तमान परिस्थितिमा कोभिड-१९ को तेस्रो लहर आउने लगभग पक्का छ। त्यसमा पनि कोभिड-१९ को सरकारबाट दिइने विभिन्न ब्रान्डका खोपहरूप्रति सर्वसाधारणबाट आइराखेका द्विविधालाई प्रष्ट पार्ने हेतुले सरल भाषामा कोभिड- १९ को खोपको बारेमा यस लेखमा प्रस्तुत गरको छु।
क्यान्सरका बिरामीहरूले कोभिड-१९ विरुद्धको खोप लगाउने कि नलगाउने?
अहिलेसम्मको सबै वैज्ञानिक खोज तथा अनुसन्धानमा कोभिड- १९ को खोपले क्यान्सर रोगका बिरामीहरूलाई प्रत्क्षय रुपमा यसको संक्रमणबाट जोगाएको देखिएको हुनाले सबै क्यान्सर रोगका बिरामीहरूले नेपाल सरकारले उपलब्ध गराइएको आफूलाई अनुकूल पर्ने जुन खोप लिँदा पनि हुन्छ।
यसका साथै क्यान्सर रोगीसँगै बस्ने परिवारका सदस्यहरू, रोगीका उपचारमा खटिएका सहकर्मी सबैले खोप लाउने।
कस्तो अवस्थामा भ्याक्सिन लगाउने र कस्तो अवस्थामा नलगाउने?
- केमोथेरापी लिइराखेका बिरामीलाई भ्याक्सिन दिने
- टार्गेटेड थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने
- इम्युनो थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने
- मेजर सर्जरी गरेका बिरामीको हकमा भ्याक्सिन लगाएको दिन सर्जरी नगर्ने तर भ्याक्सिन लगाएको ३-४ दिनपछि मेजर सर्जरी गर्न मिल्छ
- बोनम्यारो प्रत्यारोपण गरेका बिरामी तथा कल्चर थेरापी, अंग प्रत्यारोपण गरेकाहरूको हकमा बोनम्यारोको कल्चर गरेको तीन महिना कुर्ने र सम्बन्धित चिकित्सकसँग परामर्श लिएर तीन महिनापछि लगाउन सकिन्छ।
- इन्टेन्सिभ क्यान्सर किमो थेरापी लिइराखेका बिरामीको हकमा एप्सोलेट न्युट्रोफिल काउन्ट सामान्य भएपछि मात्र दिने।
- बोनम्यारो फेलियर अर्थात् बोनम्यारोले काम गर्न नसकेर औषधि उपचार गरिरहेका बिरामीलाई पनि भ्याक्सिन दिन मिल्छ।
- लामो समयले औषधि सेवन गरिरहेका तर स्वास्थ्य अवस्था सामान्य भइसकेका क्यान्सरका बिरामीहरू अर्थात् क्रोनिक माइलोइड ल्युकेमियाकालाई पनि भ्याक्सिन दिन मिल्छ।
के क्यान्सरका बिरामीहरूले बुस्टर डोज लगाउन आवश्यक छ?
हो, आवश्यक छ। विशेषगरी एक्टिभ क्यान्सर हुनेहरूलाई तथा प्रतिरोधात्मक क्षमता कमजोर भएका रोगीहरूलाई, यिनीहरूलाई नेपाल सरकारले स्वीकृति दिइएको सबै किसिमको बुस्टर खोप अथवा तेस्रो खोप दिन सकिन्छ। अहिलेसम्मको वैज्ञानिक अनुसन्धान तथा खोजको आधारमा तल उल्लेखित क्यान्सर रोगका बिरामीहरूलाई कोभिड- १९ विरुद्धको बुस्टर खोप लगाउन सकिन्छ।
क) क्यान्सरको उपचार गरिरहेका तर पहिलो वा दोस्रो डोज खोप लगाएको एक वर्षभित्र
ख) क्यान्सर रोग भर्खरै पहिचान भएका र क्यान्सरको उपचार सुरु गर्नु पने अवस्थामा रहेका
ग) रगतको क्यान्सर भएका बिरामी (जस्तैः क्रोनिक लिम्फोसाइटिक ल्यूकेमिया, मल्टिपल मायलोमा, मायलोडाइप्लास्टिक सिन्ड्रम, वा क्रोनिक मायलोप्रोलिफेरेटिभ नियोप्लाज्म)
घ) स्टिम सेल ट्रान्सप्लान्ट वा अन्य सेलुलर थेरापी (जस्तैः सिएआरटी सेल्स) गरेका बिरामी
ङ) क्यान्सरसँगै अरु रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने रोग लागेका (जस्तैः एचआइभी) तथा प्रतिरोधात्मक क्षमता कमजोर बनाउने औषधि लिइराखेका (जस्तैः स्टेरोइड्स)
के कोभिड-१९ को खोप लगाइसकेपछि सिटी, एमआरटी, पिइटी-सिटी गर्न मिल्छ कि मिल्दैन?
अहिलेको अनुसन्धानले के देखाएको छ भने कोभिड- १९ खोप तथा अरु खोपले गर्दा लिम्फ नोडहरू सुनिन सक्छ, जसले गर्दा क्यान्सर स्क्रीनिङ तथा पत्ता लगाउने जाचँहरू जस्तैः सिटी, एमआरटी, पिइटी-सिटीको रिपोर्टमा द्विविधा आउन सक्छ। त्यस कारण यी जाचँहरू सकभर अति आवश्यक नभए ४ देखि ६ हप्ता ढिलो गर्दा राम्रो।
के बुस्टर खोप लगाइसकेपछि मैले मास्क लगाउनु पर्दैन?
लगाउनु पर्छ। कृपया बुस्टर खोप लगाइसकेपछि पनि मास्क लगाइराख्ने। यसका साथै नेपाल सरकारले भनेका जनस्वास्थ्यका नियमहरू अत्यन्त अनुशासित भएर पालना गर्नुहोला।
क) मास्क लगाइराख्ने
ख) साबुन-पानीले हात मिची-मिची धुने
ग) सामाजिक दूरी कायम गर्ने इत्यादी।