अहिलेको परिवेशमा उद्यमी, उद्योगपतिलाई नराम्रो दृष्टिकोणले हेरिन्छ। तर के साँच्चीकै उद्यमी बन्नु नराम्रो हो? देशमा रोजगार श्रृर्जना गर्नु नराम्रो हो? देशको अर्थतन्त्र जोगाउनु नराम्रो हो? देशको स्रोत-साधन प्रयोग गरेर आम्दानी गर्नु नराम्रो हो? मेड इन नेपाल लेखेको सामान अन्तर्राष्ट्रिय बजारमा बेच्नु नराम्रो हो त?
राजनीति खिचातानीले आज देशका उद्योग कलकारखाना धरासाई बनेका छन्। आम जनता माझ उद्यमीको प्रतिष्ठा गुमेको छ। उद्यमी भनेका अर्थतन्त्रको बलियो खम्बा हुन् र देश निमार्णको एउटा बलियो आधार हुन भन्नी कुरा सायद हामीले भुलिसकेका छौँ। यसको मूल कारण राजनीति र उद्योगको जम्काभेट हुनु हो।
अहिलेको परिवेशमा मैले नबुझेको कुरा के भने, उद्यमीलाई राजनीति चाहिने हो कि राजनीतिलाई उद्यमी चाहिने हो वा उद्यमी र राजनीति एउटै रथका दुई पाङ्ग्रा हुन्? सायद यसको जवाफ हामीले अबका दिनहरूमा बुझ्दै जानेछौँ।
देश र अर्थतन्त्रलाई जोगाउने हो भने राजनीतिलाई उद्योगदेखि टाढा राख्नु जरूरी छ। आफ्नो स्वार्थ पूरा गर्न राजनीतिज्ञले देशका ठूला-ठूला कलकारखानालाई बेचेर सदाका लागि बन्द भएका कुरा हामीलाई यथावत नै छ। अहिलेको राजनीतिक खिचातानीले गर्दा बन्द भएका कलकारखाना फेरि सुचारू भएर अर्थतन्त्रलाई टेवा पुराउँछ भन्ने हामी नेपालीको झिनो आशा पनि अब मरेको छ। किनभने कुशल नेतृत्वका साथ अब कुनै पनि प्राइभेट सेक्टर वा कुनै विदेशी कम्पनीले लगानीको लागि तयार हुने छैनन्।
सरकारले लगानी गरेर चलाउन खोजे फेरि राजनीतिक भागबन्डा र असक्षम नेतृत्वले गर्दा लगानीको दोब्बर घाटा खाएर बन्द गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन। यो सबै समस्याको मूल कारण नै उद्योग कलकारखानामा राजनीतिक स्वार्थको प्रवेश हुनु हो।
यो सबै परिस्थिति देख्दा हामीले के शिक्षा लिने? आफ्नै देशमा बसेर रोजगारीको कारण बन्ने लक्ष्य बोकेका मजस्तो युवाले के पाठ सिक्ने? के उद्यमशीलता पनि राजनीतिजस्तै फोहोर भएको हो त? मेरो उद्यमी बन्ने लक्ष्यलाई पुनर्विचार गर्नुपर्ने हो त? अब म पनि नेपालमा केही भविष्य छैन भनेर परदेश पलायन हुने? यी सबै प्रश्नका उत्तर कसले दिने, राजनीतिज्ञले दिने कि अहिलेका ठूला भनिएका उद्योगपतिले दिने?
उद्योग चलाउन राजनीतिको सहारा लिनु नै पर्ने हो? ईलन मक्सले पनि टेस्ला लगायत विभिन्न उद्योग चलाउन राजनीतिक सहारा लिएका होलान् त? कि जो वाइडेनले राजनीति गर्न उद्योगी व्यवसायीको सहारा लिएका होलान्? विश्व प्रसिद्ध कम्पनीहरू जस्तैः एप्पल, गुगल, माइक्रोसफ्टहरू राजनीतिको सहारा लिएरै यति विशाल कम्पनी भएका होलान् त? कि हाम्रो नेपालमा उद्योग चलाउने इन्धन नै राजनीति हो वा राजनीति चलाउने इन्धन नै उद्योग हो? मेरो यो प्रश्न हाम्रो देशका ठूला र अर्बपति उद्योगपति र राजनीतिज्ञलाई।
सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न बजेटमार्फत विभिन्न नीति नियम बनायो तर कार्यान्वयन खै? कार्यान्वयन भए पनि ज्ञान र सीप भएको तर राजनीतिक पहुँच नहुने युवाको लागि त आकाशको फल आँखा तरी मर नै हो। अहिलेको अर्बपति उद्योगीहरूले स्टार्टअपमा कति योगदान गरेका छन्? युवाहरूको नयाँ व्यवसायिक सोचमा लगानी गरेका छन् त? कि सरकारी नीति नियम मिच्दै अझै धनी बन्ने होडबाजीमा व्यस्त हो।
नेपाल खुलामुखी अर्थतन्त्र हो भनिन्छ तर साँच्चीकै हाम्रो अर्थतन्त्र खुलामुखी छ त? छ भने किन हाम्रो देशको अर्थतन्त्रको ठूलो हिस्सा केही सीमित व्यक्तिको हातमा मात्र छ। किन कुनै व्यवसायीले राजनीतिक पहुँचबाट सजिलै लाइसेन्स पाउने तर राजनीतिक पहुँच नहुने तर सबै मापदण्ड पूरा गर्ने व्यवसायीले लाइसेन्स नपाउने? यो त खुलामुखी अर्थतन्त्रभन्दा पनि राजनीतिमुखी अर्थतन्त्र भन्दा ठिक होला।
देश विकास हुनलाई बाटो, पुल मात्र बनेर हुँदैन। देश र नागरिक दुवै सक्षम हुन जरूरी पर्छ। देशमै रोजगारी सिर्जना भएर परदेश पलायन भएका नागरिक स्वदेश फर्किन पर्छ तबमात्र देश विकासतर्फ उन्मुख हुन्छ। तर सत्तामा बसेका राजनेताहरूलाई देश विकासभन्दा पनि आफ्नो सत्ता विकास गराउन रातदिन नभनि मेहनत गरेका छन्। यसरी हाम्रो देशको विकास कहिले पनि हुने छैन। जबसम्म युवाहरूको समस्या समाधान हुँदैन तबसम्म हाम्रो देश अगाडि बढ्न सक्दैन।
अन्तिममा, यो सबै भनाइ र प्रश्न मेरो मात्र नभई मजस्तो देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सबै युवाहरूको हो।