‘अब त बिहे गर्न ढिला भएन? तिम्रो उमेरमा त मेरो २ वटा नानी थिए। महत्वाकांक्षी धेरै हुने चक्करमा जीवनको अस्तित्व नै नबिर्सिनू, बिहे नगरी हुन्न नि!’
२५/२६ वर्ष कटेसी हरेक युवतीले सुन्नुपर्ने कुरा हो यो। चाहे आफन्तबाट होस् या छिमेकीबाट।
अझै एक महिला आफूले बिहे गरेर हजार सपना मारेर घरकै गृहिणीमात्र भएकी महिलाको प्रश्न हुन्छ यो सधैं।
जागिर गर्ने, आफ्नै जिन्दगीमा ध्यान हुने महिलाहरू त्यही उमेर र बिहेको पछि लाग्दैनन्। धेरैजसो गृहिणी दिदी-बहिनीहरू, बुढापाका, छरछिमेकलाई हुन्छ त्यस्तो चिन्ता!
तर समाजको २-३ उदाहरणहरू हेर्दा म आफैं अचम्म पर्छु। नारीले नै अर्को नारीप्रति गरेको व्यवहार हेर्दा!
***
मेरो एक जना साथीको एकमात्र भाउजू हुनुहुन्छ। भाउजू र नन्दमात्र रहरले पनि मिल्नुपर्ने सोचिन्छ नि! तर खोइ किन विवाहित नन्दलाई सासूआमाले मुटु कलेजो दिने गरी माया गरेको साथीको भाउजूले सहन नसकेको देख्दा छक्क पर्छु। नन्द माइती आएको नि कति रिस गर्ने!
आफू चाहिँ माइती आउ-जाउ गरिरहने, बुढालाई नि १० दिनसम्म ससुराली राख्ने, माइतीमा दाजुभाइ नि कोही छैनन्।
उसको नि भाउजू-बुहारी माइतीमा भएको भए सायद बुझ्ने थिइन् होला। माइती भएर नि खेदो गर्दा कति पीडा हुन्थ्यो ती साथीलाई।
माइतीमा भाउजूले देख्न नसकेपछि ती नन्द माइतीको छेउमै बसे पनि आफ्नो दाजु र आमाबाट एक हात टाढा नै भइन्।
जन्मिएको हुर्केको घर बिहे गरेर गएपछि हैन अर्काको छोरी भित्रिएपछि पराए भयो उसको लागि।
पुरूष प्रधान देशमा पनि छोरीको माया भए पनि छोराले नै हो भोलि पाल्ने भन्ने स्वार्थले छोरीभन्दा बुहारी नै च्याप्न बाध्य भए आमा पनि। त्यही भाउजूले आफ्नो बहिनी प्राणभन्दा प्यारो मान्ने तर श्रीमानको बहिनीलाई सहनै नसक्ने किन होला!
सबै ठाउँमा भन्दिनँ तर कतिपय ठाउँमा परिस्थिति उल्टो पनि हुन सक्छ।
म पनि एक विवाहित महिला हुँ। ६ महिना हुँदैछ मेरो विवाह भएको।
जसले नि मलाई सोध्नु हुन्छ- घरमा को-को हुनुहुन्छ?
मैले ‘दिदी-बहिनी हुनुहुन्न’ भन्दा ‘आहा! कस्तो आनन्द! कसैको हस्तक्षेप नै छैन’ भन्छन्। अनि म आफैं अचम्म पर्छु।
मेरो आफ्नो फुपू दिदीहरू नि हुनुहुन्न। भएको भए पनि मेरो बुवाहरूले माया नै गर्नु हुन्थ्यो। तर धेरै मान्छेले नन्द-आमाजू नभएको आहा! भन्दा मलाई नराम्रो लाग्छ।
कति बदनाम गरेका रहेछन् महिला आफूले आफैंलाई घर, समाज, कुल कुटुम्बमा। कति गिराएका रहेछन् महिला आफूले आफूलाई!
समाजमा यस्तो देख्दा मेरो त भाइ छ, मेरो भाइ- बुहारीले मलाई इज्जत गर्ने ठाउँमा सधैं बस्न सकून् जस्तो लाग्छ।
माइतीमा यातना दिने आमाजूभन्दा पनि सासूआमापछिको इज्जतको पात्र बन्न सक्नुपर्छ जस्तो लाग्छ। खोइ त महिला दिदी-बहिनीले बुझेको? सके माइती पनि घर जसरी सपार्नु नसके चुपचाप आफ्नो ठाउँमा बस्नु तर सधैं ‘म, मेरो, मलाई’ मात्र नगरौं र अर्काले गरेकोमा पनि अपजसमा नलागौं।
म त्यति मकेअप गर्न रुचाउदिनँ। म पढ्नमा र सीपमूलक काममा रुचि राख्ने मान्छे। अचेल सबै जना सामाजिक सञ्जालमा चिटिक्क फोटो हाल्छन्। बिहे अगाडि पनि सारै चिटिक्कै परेर हिँड्ने थिइनँ। अहिले बिहेपछि पनि त्यस्तोमा खासै रुचि राख्दिनँ।
तर जहाँ गए नि यस्तो सारी लिनु, यस्तो कुर्ता लिनु, किन विवाहितजस्तो मेकअप गरेर नबसेको, किन यस्तो नगरेको यी यावत कुरा गर्छन्।
तर म यस्ता अनावश्यक कुरा ध्यान दिन चाहन्नँ न नै सरोकार राख्न चाहन्छु। यस्ता कुरालाई पन्छाएर नै अघि बढे जीवन शान्त र खुसी हुन्छ जस्तोलाग्छ।
यो पितृसत्तात्मक समाजमा महिला दिदी-बहिनीले नै महिलालाई साथ नदिने हुनाले महिलाको जीवन झन् अप्ठ्यारो देख्छु म।
कोही माइतीमा माया गरेको डाहा गर्ने भाउजू-बुहारी छन्, कोही दु:ख दिने आमाजू-नन्द छन्, कोही छोराले बुहारीलाई माया गरेको रिस गर्ने सासू छन्, कोही सुख पाको देख्न नसक्ने आफन्त छन्, कोही त आफ्नै दिदी-बहिनी पनि सौता लाग्नेसम्म छन्। कोही सासू-बुहारी, नन्द-भाउजू, देवरानी-जेठानी पनि एकले अर्कालाई सहन नसक्ने छन्।
शिक्षाको कमी, ज्ञानको कमी, सोच नै सानो र हिनताबोधी मानसिकताले दबाएर उठ्न नसकेर अरूलाई नि गिराउने, व्यंग्य गरेर या पेच पर्ने गरी बोलेर आफ्नो भित्री सोच निकाल्छन्।
अर्कालाई तल गिराएर आफूलाई ठूलो मान्ने अहम् कतिमा हुन्छ। यस्ता मानसिकताले आफ्नो छविमात्र होइन वरपरको वातावरण समेत धमिल्याउनेछ। जब एक महिलाले अर्को महिलाको उन्नतिमा रिस गर्न छोडेर साथ दिने, सहयोग गर्ने, दु:ख पर्दा सहानुभूति दिने गर्छिन् त्यसपछि मात्र यो समाजको अनुहारमा नौलो बिहानी छाउनेछ। आशा छ ती दिन अवश्य आउनेछ।