सामान्य अर्थमा भन्नु पर्दा विविध आसन, अभ्यास, साधना आदि माध्यमबाट मन र शरीरलाई जोड्ने प्रकृयालाई पनि योग भनिन्छ। शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ। संक्षेपमा भन्नुपर्दा योगलाई जोड भन्ने पनि बुझिन्छ।
हिमालको काखबाट हजारौं वर्षअघि अस्तित्वमा आएको योग हाल विश्वभरि फैलिए पनि नेपालीले त्यसको अझै फाइदा लिन सकिरहेका छैनन्। आयुर्वेदको स्वास्थ्य जीवनशैली अपनाएर नसर्ने रोगहरूको रोकथाम योगबाट नै गर्न सकिन्छ।
बदलिँदो जीवनशैली, गलत खानपान अनि यो भयभीत महामारीको संकटमा मानव जीवनको जीवन नै उच्च जोखिममा पुगिरहेको अवस्थामा अक्सिजनको कमीको कारण अहिलेका मानिसहरू विभिन्न रोगहरूबाट ग्रसित हुन पुगिरहेका छन्।
यस्तो अवस्थामा हामीले योगलाई आत्मसाथ गर्दै जीवनयापन गर्न सकियो भने हामीले एउटा सुन्दर र स्वस्थ जीवनयापन गर्न सक्दछौं।
योग एक अभ्यास हो, जसले मानसिक, शारीरिक अनि आध्यात्मिक र सामाजिक स्वास्थ्यको क्षेत्रमा विकास गर्दछ।
योगबलले मानिसलाई मनमा केही गरी छाड्ने, उत्साह जगाउँछ। हृदयमा मानिसको ऊर्जालाई झझल्काउनु र मस्तिष्कमा नयाँ-नयाँ कामको सिर्जना ल्याउँछ।
कुनै पनि महान कार्य सम्पादन गर्ने संकल्प अगाडि बढाउनलाई मद्दत गर्दछ।
रोग लाग्नुका मुख्य तीन कारण:
१) गलत आहार विहार
२) गलत विचार
३) गलत जीवनशैली
तर योग गर्ने व्यक्तिमा यी सबै सन्तुलनमा ल्याउने ज्ञान आफैंमा आउँछ।
योग गर्ने उमेर वा कुन उमेरकोले गर्न भन्ने कुरामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया शाखाले योग सबै उमेरका मानिसले गर्न सक्ने बताउँदै बालबालिकाले पनि हप्तामा ६० मिनेट र वयस्कले १ सय ५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहने जनाएको पाइन्छ।
त्यस्तै, ६५ वर्ष माथिका मानिसमा योगले उदासीपन (डिप्रेसन) को जोखिम कम गर्न सघाउनुका साथै उच्च मनोबल क्षमताको विकास गर्ने र हात खुट्टा र नशा मांंसपेशीहरू पनि चलायमान हुने हुनाले प्यारालाइसिस जस्ता रोगहरूबाट पनि मुक्ति पाइने भूमिका छ।
योग साधारण व्यायाममात्र नभई शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारी निरोगी राख्ने विधि पनि हो।
कसरी, कति बेला गर्ने त ?
कुनै पनि स्वस्थ व्यक्तिले प्रमाणपत्र प्राप्त प्रशिक्षकको सुझावमा उपयुक्त तरिकाले नियमित योग गर्न फाइदाजनक हुन्छ भने बिरामी बुढापाका आदिले रोग अनुसार चिकित्सकको सरसल्लाह गरी आफ्नो उमेर अवस्था अनुसार योग गर्नुपर्दछ।
स्वस्थ व्यक्तिले गर्नुपर्ने योग:
बिहानै गरिएको योगमा डोपा माइन्ड मस्तिष्कमा पुर्याउनको लागि सहायक रसायनहरू उत्पन्न हुन्छन्। एउटा सामान्य स्वस्थ व्यक्तिले आफ्नो स्वास्थ्यलाई कायम राख्न वा रोग लाग्न नदिन प्रत्येक दिन योग आसनहरू गर्नुपर्दछ। यस अन्तर्गत दिनहुँ पूर्ण व्यायामजस्तै: सूक्ष्म व्यायाम, ताहासन, मर्कटासन, सूर्य नमस्कार आदि आसनहरू सँगै भास्त्रिका, कपालभाती, बाह्य उज्जाई, अनुलोमबिलोम (नाडीसोधन ) भ्रामरी, उग्दिध प्रणायम गर्नु पर्दछ।
स्वस्थ व्यक्तिले दिनहुँ सामान्यत: आधा घण्टादेखि आफूसँग भएको समय अनुसार दुई घण्टासम्म योगलाई समय दिनु उपयुक्त हुन्छ। सूर्यादय हुनुभन्दा दुई घण्टाअघि देखि सूर्य उदयको दुई घण्टापछिसम्म खाली पेटमा योग गर्दा अधिकतम फाइदा हुन्छ।
यदि कुनै कारणवश हामीलाई कुनै दिन समय नमिलेको खण्डमा ३० मिनेट चाहिँ योगलाई छुट्याउन पर्दछ जसमा १० मिनेट शारीरिक व्यायाम, १० मिनेट प्रणायम, १० मिनेट ध्यान गर्नुपर्दछ।
योगका फाइदाहरू:
- योग अभ्यासले शरीरमा हल्कापन ल्याउँछ।
- योगले अंगप्रत्यंग तथ कोषहरूलाई स्वस्थ बनाउँछ।
- रक्तनलीलाई साफ गर्छ, छाला मुलायम अनि चम्किलो बनाउँछ।
- योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव प्रयोग हुन्छ जसबाट प्राप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हुन्छ।
- योगले शरीरको रक्त संचार प्रणलीलाई व्यवस्थित गर्छ।
- योगले शरीरमा बढी भएको क्यालोरी कम गर्छ।
- योगले मस्तिष्कलाई सफा बनाउँछ मन स्वस्थ राखी सकारात्मक बनाउँछ।
- शरीरका हर्माेन्स तथा इन्जायमको सन्तुलन मिलाउन र शरीर सक्रिय एवं ऊर्जावान बनाउन योगको महत्वपूर्ण भूमिका हुन्छ।
- योगले ढाड तथा कम्मर दुखाइमा सहजता ल्याउँछ।
- जोर्नीहरू खुकुलो पारी प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ।
- योगले उच्च रक्तचाप, स्वासप्रस्वास सम्बन्धित विकार, मधुमेह रोगहरूलाई नियन्त्रणमा ल्याई सुधारमा ल्याउँछ।
- योगले मानसिक अर्थात् उदासी रोग, चिन्तासम्बन्धी विकार, थकाइ, तनाव कम गर्छ।
- योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, बुद्धि विवेकशील सत्गुण विकास गरी जिउने कला सिकाउँछ।
- योग नै शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक जोड विकासका लागि सर्वाेत्तम उपाय हो।
मानिसको जीवनमा जब-जब संकट आउँछ, त्यो सारा संकटलाई समाधान गर्ने योग विद्या हो। मान्छे मनले नै दुखी र सुखी हुन्छ।
संसारमा मनलाई नियन्त्रण गर्न कुनै विधि छैन त्यो मनलाई शुद्ध र सफा राख्न योग नै चाहिन्छ, ध्यान र तप नै चाहिन्छ। अन्य व्यायाम, जस्तै मर्निङवाक, जिम, जुम्मा विधिहरूबाट शरीर कसिलो र स्लिम त हुन्छ तर मन र तनलाई सफा राख्नको लागि त योग विधि नै अपनाउनु पर्ने हुन्छ।
तसर्थ योग यस्तो सञ्जीवनी बुटी हो, जुन हामीलाई हाम्रा पूर्वजहरूले छोडेर जानु भएको छ तर हामीले यसलाई चिन्न, बुझ्न र उपयोगमा ल्याउन सकिरहेका छैनौं।
धेरैजसो हामी मानिस आज धन बलको बन्दोवस्त गर्ने अन्त्यहीन दौडमा मानिसलाई न चैन छ, न विश्राम गर्ने समय छ। जब मानिस सबै कुराहरू बुझ्छ जीवनको बारेमा आफूले आफैंलाई चिन्न र बुझ्न योग साधनमा नै सम्मिलित हुनुपर्दछ।
अन्तत: योगको छहारी नै अनुसरण गर्नुपर्ने देखिन्छ। आउने ठाउँ पनि योग नै हो। यही वास्तविकता बुझेर हामीले बेलैमा योग, साधना ध्यान अंगाल्यौं भने हामीले बाँचिरहेको जीवन खुसी एवं स्वस्थ भएर जीउन सक्दछौं।
(लेखक योग प्रशिक्षक हुन्।)