'मास्टर लाइफको बे'ज्जत भो यार दाइ!'
'कहिले पो इज्जत थ्यो'र भाइ यार मास्टर लाइफको नेपाली समाजमा?'
मेरो अनपेक्षित प्रतिप्रश्नले स्तब्ध हुँदै भाइले, 'म केही बोलिनँ दाइ!' भन्दै फेरि केही बोल्यो।
भाइले यसो भन्दै गर्दा प्रकाश सपूतको गीत अनायासै मेरो मानसपटलमा गुन्जियो, 'बोल माया बोल, तिम्रै बोली छ मलाई अनमोल।'
टाक्राटुक्री गरेर जोड्दा विभिन्न विद्यालय गरेर मैले झन्डै ७ वर्ष शिक्षण पेसामा बिताएँ। यो दौरानमा धेरै आरोह अवरोह भोगें।
नमस्कार खाने काम ज्यादा भो तर आर्थिक सूचांकहरू सधैं औसतभन्दा तल। खाना, लाउन टन्न पुग्ने तर बिरामी पर्दा कि सहकारीकै भर पर्नुपर्ने कि त आफन्तकै अघि हात फैलाउनुपर्ने आम शिक्षण जिन्दगीको नियति नै हो।
तै पनि फेरि यही पेसा छाड्न नसक्ने! बहुत नशालु पेसा!
तासकै खालबाट प्रहरीले पक्राउ गरेको हेडमास्टरलाई भेट्न एक दर्जन केरा बोकेर थाना भेट्न गा'को अनुभव पनि यही पेसाले दियो। विद्यार्थीसँगै रंगेहात आपत्तिजनक अवस्थामा भेटेर अभिभावकले 'रामधुलाई' गरेर घाइते भएको शिक्षकलाई अस्पताल लान एम्बुलेन्सको व्यवस्था गर्ने जिम्मा पनि यही पेसाले दियो।
खानेपानी उपभोक्ता समितिको अध्यक्ष भएबापत हिनामिनाको आरोपमा मोसो दलिएका शिक्षकलाई मन नलागी नलागी 'तपाईंमाथि घोर अन्याय भो, जालसाजी भो।' भनेर सान्त्वना दिनुपर्ने दुर्लभ अवसर पनि यही पेसाले दियो।
दलीय राजनीतिमा पनि उही शिक्षक, ठेक्कापट्टामा नि उही शिक्षक, बहुविवाहमा पनि उही शिक्षक, रक्सी पसल पनि शिक्षककै हुँदाहुँदा खेती किसानी पनि उही शिक्षकले गर्नुपर्ने।
झोलामा दर्ता गरिएका एनजिओको अध्यक्षमा पनि शिक्षक नै, कृषि सहकारीको नेतृत्वमा पनि शिक्षक नै। सर्बत्र उपलब्ध हुने शिक्षक विद्यालयमा चाहिँ गयल भैराख्ने।
शिक्षकको आवद्धता रहेको संघसंस्थाको सूची हेर्ने हो भने जोकोहीलाई पनि लाग्न सक्छ हाम्रा शिक्षकहरू विद्यालयमा पढाउन जाँदैनन् बरू थकान मार्न र बात मार्न जान्छन्। अनि इज्जत हुन्छ त मास्टर लाइफको? राजनीतिक दलको अधिवेशनमा उनै शिक्षकहरू प्रतिनिधि छनोट हुन्छन्। दलको निर्वाचन मण्डलमा उनै शिक्षकहरू खटिन्छन्। शिक्षकहरू किन स्वतन्त्र ढंगले व्यवसायिक हुन सक्दैनन्? शिक्षण पेसालाई किन मर्यादित र अनुशासित बनाउन सकिरहेको छैन? यो आम प्रश्न हो।
कक्षा १० को विद्यार्थीलाई, 'भविष्यमा के बन्ने?' भन्ने प्रश्न गरेमा सायदै कसैको जवाफ आउँछ शिक्षक बन्छु भनेर।
आफ्ना नानीबाबुलाई भविष्यमा के बनेको देख्न चाहनुहुन्छ भन्ने प्रश्न सोधेमा सायदै अभिभावकले शिक्षक भनेर भन्लान्।
यति विघ्न अरुचिको पेसा किन बन्यो शिक्षण? किनकि अभिभावक र विद्यार्थीले रक्सी खाँदै गरेका, तास खेल्दै गरेका, बहुविवाहमा फसेका, भ्रष्टाचारमा समातिएका शिक्षक गाउँघरमा बग्रेल्ती देखेका छन्।
स्थानीय तहमा हुने अनियमितता, व्यभिचार, भ्रष्टाचारजस्ता अनैतिकजन्य घटनाहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा शिक्षक संलग्नता भएकै हुन्छ। अनि यो हदको 'बिग्रेको पेसा'लाई आजको विद्यार्थीले भविष्यमा किन आफ्नो पेसा बनाउन चाहलान्?
यस्तो अवस्थामा कुन चाहिँ अभिभावकले आफ्ना सन्तानलाई शिक्षण पेसामा आवद्ध हुन प्रेरित गर्लान् र?
अन्ततः शिक्षण पेसालाई आकर्षक र रुचिकर बनाउन शिक्षकहरू मर्यादित तवरले 'रोल मोडेल' बन्नुपर्ने देखिन्छ। 'जुवाडे र तासे शिक्षक'हरू जागिरबाट निष्कासित हुनुपर्छ।
'घन्टे शिक्षक'हरू सच्चिनुपर्छ अनि राजनीतिक दलका 'खेताला शिक्षक'हरूले राजीनामा दिनुपर्छ।
छात्रालाई गलत नजरले हेर्ने शिक्षकहरूलाई विद्यालय परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाउनुपर्छ।
शिक्षण पेसा गर्ने तर पठनपाठन नगर्ने परिपाटीको समूल अन्त्य हुनु जरूरी छ। घरपायक शिक्षण पेसालाई निरूत्साहित गरेर शिक्षकहरूले अनिवार्य रूपमा हरेक पाठको 'लेसन प्लान' बनाएको वा नबाएको भन्ने पाटोको सूक्ष्म अनुगमन विद्यालयका प्रधानाध्यापकबाट नियमित हुनुपर्दछ। प्रविधि भित्र्याइएको नाममा हरेक सामुदायिक विद्यालयहरूमा अहिले इन्टरनेट जडान गरेको भेटिन्छ।
के हाम्रा शिक्षकहरूले उक्त उपलब्ध प्रविधिको उच्चतम प्रयोग गरेका छन् त? कि उनीहरू फेसबुक चलाएर बस्छन्? कि उनीहरू मोबाइलमा तास खेलेर बस्छन् त? कि उनीहरू नेपाली हाँस्य टेलिसिरियलहरू डाउनलोड गरेर बस्छन्?
खासमा भन्ने हो भने आजका शिक्षकहरू चारित्रिक र नैतिक रूपमा विद्यार्थीमाझ स्खलित भएका छन् र त आम छात्र-छात्राहरू उनीहरूलाई भरोसा गर्दैनन्। उनीहरूले भनेका टेर्दैनन्। किनकि उनीहरू शिक्षाका रूपमा विद्यार्थीलाई जे गर्नु हुँदैन भनेर लेक्चर दिन्छन् उही काम आफैं गरेर हिँड्छन्।
दिउँसो विद्यालयमा 'चुरोट रक्सी खानुहुन्न' भन्ने शिक्षक, बेलुका आफैं भट्टीमा रक्सी खाँदै गरेको बग्रेल्ती भेटिन्छन्। भनाइ र गराइमा तारतम्यता मिलाउन नसक्नु आजको शिक्षकको मूल समस्या हो।
वनभोज जान तम्सिहाल्छन्। शैक्षिक भ्रमणको नाममा नयाँ नयाँ गन्तव्य घुम्नलाई यिनीहरूलाई कसैले सुझाव दिनै पर्दैन।
राष्ट्रपति रनिङ शिल्डमा सम्बन्धित खेलाडीहरूलाई मात्रै पठाएर बाँकीलाई नियमित ढंगले कक्षा सञ्चालन गरेमा यिनीहरू 'हेडसर' विरूद्ध आन्दोलनको विगुल फुक्न पछि पर्दैनन्।
सुविधा कम भएर यिनीहरू मात्तिएका पक्कै पनि होइनन्। स्थानीय चाडको नाममा विद्यालय बन्द गर्न यिनीहरूमा ऐतिहासिक एकता देखिन्छ।
हुँदाहुँदा यिनीहरू यदिसम्म हुन्छन् पैसै लिएर भएनी विद्यार्थीलाई अतिरिक्त कक्षा पढाउन अल्छी गर्छन्।
निचोडमा भन्नुपर्दा 'मास्टरहरू आवारा हुन् किनकि आवाराहरू मास्टर भएका छन् यहाँ।'