कुरा २०६७ तिरकाे हुनुपर्छ। म स्नातकाेत्तर तहकाे अन्तिम वर्षमा चल्दै थिएँ। विभागअन्तर्गत प्रशासनतर्फ काम गर्ने एक जना कर्मचारी दिदी हुनुहुन्थ्याे। अभ्यास शिक्षणका लागि सम्बन्धित विद्यालयका लागि चिठी टाइपिङ (नेपाली) गर्ने काम परेकाे थियाे। ती दिदी अक्क न वक्क हुँदै थिइन्।
नाम पनि थाहा नभएका र मेरा घनिष्ट साथी पनि नभएका ती साथीले प्रिन्टी फन्टमा त्याे निवेदन टाइप गरेकाे हामी वरिपरि तमासा हेरेजसरी हेरिरहेका थियाैं। मैले त्यति बेलै सीपकाे महत्व पर्गेल्ने अवसर पाएकाे थिएँ।
झन्डै एक दशक पछाडि अहिले म मेरा विद्यार्थीहरूलाई नेपाली टाइप गर्न उत्प्रेरित गरिरहेकाे छु। लेख लेख्न (पुस १० - २४) बस्दै गर्दा विद्यार्थीहरू हिउँले बिदामा छन्। अनि मलाई फुत्तफुत्त गुगल डक्समा आ-आफ्ना लेख/रचना टाइप गर्दै पठाउँदै गरेका छन्।
अहिले म तिनै लेख/रचना सम्पादन पनि गरिरहेकाे छु। बितेकाे एक वर्षयता झन्डै सय लेख/रचना विभिन्न पत्रपत्रिका छापिएछन्। अनि याे क्रम जारी छ। उनीहरूमा बानी परिसकेकाे छ। त्याे देख्दा म खुसीले गदगद भइरहेकाे छु। त्याे सीप कहीँ न कहीँ उनीहरूलाई काम लाग्नेछ।
खासमा याे लेख लेख्ने जाँगर मैले अध्ययन गरेकाे पछिल्लाे कृति हरिहर तिमिल्सिना दाजुकाे उपन्यास 'कखरा' कै प्रेरणा हाे।
उपन्यासले मेराे दिमागलाई अझसम्म पनि हानेकाे हानै छ।
साेचेँ, के पुस्तक समीक्षा लेखूँ त!
अहँ, याे पनि बाेझिलाे अनि अनेक तानाबाना, मनले भन्याे।
अनि यस्तै, आफ्नै अनुभूत गरेका अनुभवहरू लेख्छु भन्ने मनले ठान्याे। त्यसैकाे जमर्काेस्वरूप लेखकाे सुरूआतकाे उदाहरण पनि हाे।
शिक्षासँग प्रत्यक्ष सराेकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक, समग्र शैक्षिक संस्थासँग आवद्ध जनमानसले पढ्नै पर्ने पुस्तक हाे ‘कखरा’। यति त निर्धक्कसँग भन्छु। चाहे विज्ञापन नै किन नहाेस्। राम्राे कुराकाे जानकारी दिनु पनि राम्रै काम हाे।
एउटा अर्काे प्रसंग:
उमेरले लगभग दशक कान्छा मेरा मावलीतिरका एक जना भाइ राम्रै बाेर्डिङ स्कुलबाट, राम्रै नम्बर ल्याएर पास पनि भए। अहिले ब्याचलर पनि सके। काठमाडाैंमै एउटा संस्थागत रूपमा अध्यापन पनि गर्छन्। अनलाइन कक्षा सञ्चालनकै सन्दर्भमा उनलाई मैले जानेका डाउनलाेड गर्ने, अपलाेड गर्ने टाइपिङ गर्नेजस्ता देख्दा सामान्य लाग्ने तर दैनिकी बनेका केही कुरा सिकाएँ पनि।
उनले भने, 'ओहाे म कुन दुनियाँमा रहेछु। खै, यस्ता कुरा त मैले विद्यालय तहमा नै जान्नुपर्ने पाे रहेछन् तर कहिल्यै सिकाइएन।'
अर्को प्रसंग, मेरै एक जना काठमाडाैं रैथाने साथीकी छाेरी अस्ट्रेलिया भिसा लागेर उडिन् पनि। अहिले घरमा स्काइपमा कुराकानी हुँदा उनी धरधरी रून्छिन् रे। कारण, चिया पनि पकाउन आउँदैन।
मजस्ता लाखाैं युवायुवती अहिले आफ्नाे परिवारकाे सुखशान्तिका लागि परदेशिएका छन्। यता सन्तानलाई कसरी राम्राे शिक्षादीक्षा दिन सकिन्छ भनी राम्राे स्कुलकाे खाेजीमा बेँसी वा सहर झर्ने क्रम बढ्दाे छ। केही अपवादबाहेक म याे झराइलाई सकारात्मक नै ठान्छु। तर्कवितर्क आफ्नै ठाउँमा हाेलान्।
आउनुहाेस्, तपाईं हामीले सामान्य रूपमा के कस्ता समस्या भाेगिरहेका छाैं त, नजर लगाऔं:
• भाषागत समस्या (नेपाली, अङ्ग्रजी, अन्य…)
• आत्मविश्वासकाे कमी
• इमेल लेखनकाे समस्या
• व्यवहारिक दक्षता (जस्तै: सवारी चलाउने सीप, सामान्य बटन/टाँक लगाउने सीप, खाना बनाउने सीप, कपडा धुने आदि)
• कम्प्युरसम्बन्धी सामान्य ज्ञान,
• समय व्यवस्थापनकाे अभाव
• सामान्य लेखन सीप ( बैङ्क भाैचर, सरकारी कागजात आदि) काे अभाव
यस्तैयस्तै समस्या हाेलान्, हैन त ! अरू पनि छन् भने थप्नुहाेस् है त !
तपाईं, मेराे पुस्ता (४० ननाघेकाे) काे अभिभावकले के यस्ता कुरामा ध्यान दिनुभएकाे छ। जुन तपाईंले विदेशका बसेर वा आफ्नै कार्यक्षेत्रमा बसेर भाेगिरहनुभएकाे छ वा सामना गरिरहनुभएकाे छ !
कि आफ्ना सन्तानले परीक्षामा ए प्लस ल्याएकाे कुरा फेसबुककाे माई स्टाेरीमा वा फेसबुक पानामा सजाउनु मात्रै भएकाे छ। वा नल्याउँदा मर्ने गरी सराप्नुभएकाे छ ! कुरा साेचनीय छ।
निश्चित तहकाे सर्टिफिकेट तपाईंं हामीलाई चिनाउने ऐना हाे। हाे, यसकाे पनि सख्त आवश्यक छ तर त्याे सर्टिफिकेटले ती व्यवहारिक सीपकाे सम्बाेधन गरेकाे छ त ? साेच्नैपर्ने भएकाे अब याे विषयमा !
यदि हाम्राे पुस्ता पनि यी कुरामा चुक्याे भने आउने पुस्ता र हाम्राे पुस्ताका यिनै कुराहरू साझा समस्या हुनेछन्।
के एसइईकाे नाममा बिहान ६ बजेदेखि चिसाे भात बाेकाएर बेलुका ६ बजेसम्म काेठामा कैद गर्दैमा, गृहकार्यका ठेली दिनहुँ तेर्साउँदैमा, अनि त्यही पाठ्यक्रम र पाठ्यवस्तु पढेर नै, के उल्लिखित सीप आर्जन भएका छन् त ? मेराे प्रश्न छ, याे मेराे पुस्तालाई !
हेर्नुहाेस्, यति सीप सिकाइ त विद्यालयीय (कक्षा १ - १२) तहमा हुनुपर्छ । हुन जरूरी पनि छ।
कुरा अर्काे पनि छ, समाज (शिक्षक, परिवार, विद्यालय) ले कक्षामा छिर्नेबित्तिकै विद्यार्थीलाई तँ जान्ने, तँ नजान्ने वा कमजाेरकाे टीका लगाइदिइहाल्छ। अनि जान्ने र नजान्नेकाे मापन विशेषत: गणित र विज्ञानजस्ता विषयमा गरिन्छ अनि त्याे विद्यार्थी कक्षा १० सम्म आइपुग्दा हिनताबाेधले कहिल्यै पनि टाउकाे ठाडाे गर्नै सक्दैन।
जिन्दगी गणितजस्ताे दुई-दुई जाेडेर चार बनाएजस्ताे सजिलाे कहाँ छ र ! जिन्दगी त नदिजस्तै नागबेली छ, लामाे यात्रामा निस्कँदा आइपर्ने उकाली ओराली अनि समथर बाटाेजस्तै पाे छ त !
हाे, याे कुरा न शिक्षकले, न अभिभावकले न हाम्राे शिक्षाले सिकाउनै सकेकाे छ !
अन्त्यमा, लेख पढ्दै गर्दा, समस्या मात्रै औंल्याएर हुन्छ र ! समाधानका विषय खै त भन्ने प्रश्न पनि उठ्ला, उठ्नु स्वाभाविकै हाे।
लेखमा मैले मेराे पुस्ताले आफैंले भाेगेका जीवनका यी ससाना प्रश्नहरू बुझिदिने चेष्टा मात्र गरे पनि धेरै नै फाइदा हुने थियाे, भन्ने हाे।
जब हामी समस्याका खाडलकाे पहिचान गर्न सफल हुन्छाैँ अनि मात्र समस्याका आधार खाेज्न सफल हुनेछाैं।