२०२१ को डिसेम्बर महिना। अरु देशहरू जाडोले कठ्याङ्ग्रिरहँदा अष्ट्रेलिया भने गर्मीको उन्मादमा थियो। सालको अन्तिम महिना, क्रिसमस अनि नयाँ वर्षको उल्लास सहर बजारतिर छाउँदै थियो।
स्कुलहरू छुट्टी हुन थालिसकेका थिए, अफिसहरू धमाधम आ-आफ्ना अन्तिम कारोबारहरू टुंग्याउन व्यस्त देखिन्थे भने होटल बजारहरू बिदा मनाउन र रमाउन आउनेहरूका लागि स्वागत गर्न आतुरका साथ तयारी गरिरहेका देखिन्थे। यता कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि चहलपहल बढाउँदै थियो। दिनानुदिन केसहरू बढिरहेको समाचार सुनिन्थ्यो। तर पनि मानिसहरूको चहलपहलमा भने कुनै किसिमको प्रभाव परेको जस्तो देखिँदैन थियो।
यता मेरो पनि कोरोना कहरकै उत्तरचढावबीच दुई वर्षे मास्टर्सको पढाइ भर्खरै सकिएको थियो। साथै, उत्तमको पनि काममा क्रिसमस र नयाँ वर्षलाई भनेर दुई हप्ता छुट्टी थियो। वर्षभरि काम अनि पढाइले थलिएका हामी, यो बिदालाई भरपुर उपयोग गर्ने योजनामा थियौँ। अष्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको एकदम व्यस्त सहर सिड्नीमा बसिरहेको भएर होला, मलाई यो कोलाहलभन्दा पर गएर केही दिन बिताउने रहर थियो।
कोरोना, लकडाउन अनि अरु यस्तै विविध कारणहरूले गर्दा यता आएको लगभग साढे दुई वर्ष भैसक्दा पनि नेपाल जाने सौभाग्य भने मिलिरहेको थिएन। नेपालको डाँडापाखामा खेल्दै हुर्केबढेको हामी नेपालको झल्को 'घुमन्ते र पूर्वी ब्लुजको' ट्राभल ब्लग हेरेर मेटाउथ्यौँ। सहर बजारले भन्दा, गाउँघर अनि त्यो हिमाल पहाडले बिच्छट्टै मन लोभ्याउथ्यो। कहिलेकाहीँ त लाग्थ्यो, अहिले नै टिकट काटेर उडिहालूँ।
त्यतिकैमा उत्तम र सुशील दाइ काम गर्ने कन्स्ट्रक्सन कम्पनीको मालिक भिव (भिवियान वेदरल) सरले, सिड्नी र अष्ट्रेलियाको राजधानी क्यानबेरा सहरको बीचमा अवस्थित आफ्नो फार्महाउसमा केही दिन घुम्न र बस्नको निमित्त निमन्त्रणा गर्नु भएको रहेछ। त्यस्तै अवसर खोजिरहेका हामीलाई त्योभन्दा खुसीको कुरा के हुन सक्थ्यो र? हामीले आफ्नो बिदा त्यतै मनाउने निधो गर्यौँ।
पहिलो दिन, डिसेम्बर २७ तारिख। हामी चार जना (म, साथी सबिना, उत्तम र सुशील दाइ) फार्महाउसमा बस्ने अनि त्यहाँबाट केही परको क्यानबेरा सहर घुम्ने गरी तीन दिनको यात्रामा निस्कियौँ। घरबाट निस्किँदा बिहानको लगभग साढे एघार बजेको थियो। गर्मी मौसम भए पनि दिन भने धुम्म-धुम्म थियो, न चिसो न गर्मी।
धेरैपछि कतै पर निस्किएको भएर होला, हामी सबै उत्साहित थियौँ। गाडीमा नेपाली गीतहरू घन्काउँदै हामीले आफ्नो यात्रा तय गर्यौँ। सिड्नी सहर कटेपछि खासै बस्तीहरू देखिएनन्। राजमार्गको दुवैतिर जंगल र चउरहरूमात्र देखिन्थे अनि देखिन्थे त त्यसमा चरिरहेका भेडा र गाईका बथानहरू। बाटो छेउ-छेउमा भने मसिना रंगीबिरंगी फूल फुलेका थिए जसले बाटोलाई अझ सुन्दर बनाएको थियो।
ठाउँ ठाउँमा स-साना रेस्ट एरिया र पेट्रोल स्टेशनहरू बाहेक अरु बजारहरू थिएनन्। यसरी करिब दुई घण्टाको यात्रापश्चात हामी न्यू साउथ वेल्स राज्यको सानो र पुरानो सहर गोलबर्न भन्ने ठाउँमा पुग्यौँ जुन सिड्नीबाट १८० किलो मिटरको दूरीमा पर्छ।
हामीले फार्महाउसमा बस्दा ताका वेदरल परिवारलाई नेपाली खाना चखाउने हिसाबले घरदेखि नै मःम पकाउने भाँडा बोकेर गएका थियौँ। अरु समानहरू गोलबर्न बजारमा किन्ने सल्लाह थियो। त्यसअनुरुप नै भिव सर र उहाँको छोरा हामीलाई लिन र चाहिने समान किनिदिनका लागि बजार आइसक्नु भएको रहेछ।
भिव सरको बारे घरमा धेरै सुनिराखेका हुन्थ्यौँ, तर प्रत्यक्ष भेट भने भएको थिएन। कस्तो हुनुहुन्छ होला भन्ने कौतुहलता थियो। सुशील दाइले सबिना र मलाई 'सरलाई भेट्दा नमस्ते गर्नू नि' भन्नुभएको थियो। हामीले पनि त्यस्तै गर्यौँ। उहाँले नाम सोध्नु भयो र अङग्रेजी मिसिएको लवजमा 'सन्चै छ?' भन्नुभो। हामी मुस्कुरायौँ।
किनमेल सकेर हामी त्यहाँदेखि २३ किलो मिटरको दूरीमा रहेको वोलोगोराङ उपत्यका अर्थात् भिव सरको फार्महाउसतिर लाग्यौँ। सर अघि-अघि हिँड्नु भो- हामीले उहाँलाई गाडीमा पछि-पछि पछयायौँ। बाटाहरू सुनसान थिए। वरपर खुला मैदान, चउर, स-साना रुखका बुट्यानहरू बाहेक खासै घरहरू थिएनन्। राजमार्ग कटेर अलि भित्र छिरेपछि ग्राभेल रोड भेटियो। त्यहीँ बाटोलाई पछयाउँदै जाँदा अलि अग्लो स्थानबाट केही पर झुम्म परेका रुखहरू अनि केही घरहरूसहितको फार्महाउस देखियो।
अलि भित्र पुगेपछि दुई वटा पुराना, बाहिरपट्टि केही खिया लागिसकेका जस्ता चिठी राख्ने मेलबक्सहरू भेट्यौँ। अझ भित्र छिर्दा एउटा गेटजस्तो ठाउँ आयो, जहाँ ठूलो नेपाली झण्डा फर्फराइरहेको थियो। त्यो दृश्यले हामी एकछिन छक्क पर्यौँ। यस्तो बिरानो ठाँउमा आफ्नो देशको झण्डा त्यसरी सम्मानका साथ फहराइएको देख्दा हामी गर्वले फुल्यौँ।
फार्महाउस पुगेर परिवारसँगको चिनापर्चीपश्चात सरले हामीलाई मूलघर घुमाउनुभयो। २०० वर्षभन्दा पुरानो, अष्ट्रेलियाकै ऐतिहासिक त्यो फार्महाउस पुरानै शैलीमा बनेको भए पनि भव्य थियो। यसो झट्ट हेर्दा हाम्रो सिंहदरबार, बबरमहलजस्तै पुराना दरबारहरूजस्ता देखिन्थे। बाहिरपट्टि सेतो रङ पोतिएको, भित्र बैठक कोठा, खान बनाउने किचेन, खाना खाने छुट्टै डाइनिङ रुम, बेडरुम, ट्वाइलेट, बाथरुम सबै भव्य र व्यवस्थित थिए।
एउटा ढोकाबाट छिरेपछि त्यतैबाट अरु धेरै कोठाहरू पुग्न सकिने, भित्ताहरूमा विभिन्न आकृतिका पेन्टिङहरू सजिएका थिए भने आगो ताप्ने फायर प्लेसहरू मात्रै १३ वटा थिए। यस्तो लाग्थ्यो, मानौँ हामी सानोतिनो संङग्रहालय नै भ्रमण गरिरहेका छौँ। त्यहाँ यस्तो एउटा कोठा थियो, जसका भित्ताहरू नाम, हस्ताक्षर र मितिहरूले भरिएका थिए। ती सबै भित्ताहरू त्यहाँ घुम्न आउने व्यक्तिहरूले भरेका रे। सामान्य व्यक्तिहरूदेखि ठूला अनि चर्चित व्यक्तिहरूको दशकौँ अघिका हस्तक्षरहरू समेत सुरक्षित देखिन्थे।
मूलघरबाहेक अरु साना ६-७ वटा घरहरू थिए। त्यसमध्ये एउटा घर हामीलाई बस्नको लागि दिइएको थियो। नजिकै स्विमिङ पुल, करेसाबारी अनि बगैँचाहरू थिए- जहाँ आरुबखडा र ओखरजस्ता विविध फलफूलहरू फलिरहेका थिए। साँझमा हामीले मःम, भात, काउली, आलु र मासु पकायौँ। वेदरल परिवारले मिठो मानेर थपी-थपी खाए। भिव सरले आफू नेपाल रहँदाका किस्सा कहानीहरू सुनाउनुभयो। बबरमहलमा हुर्की बढ्दाका अनुभवहरूदेखि चितवनका जंगलमा बाघसँग भाग्दाका अनि पौडेर नारायणी नदी तर्दाका सम्झनाहरू केलाउनु भयो। हामीले पनि चाख मानेर सुन्यौँ।
दोस्रो दिन बिहान उठ्दा त्यो ठाउँ यति सुनसान र आनन्ददायक थियो कि म शब्दले बयान गर्न सक्दिनँ हावाको सिरसिर आवाज अनि चराचुरुङ्गीका चिरबिरबाहेक केही सुनिन्थेन। दसैँमा काठमाडौंदेखि गाउँ गएर आफ्नै घरमा उठेको जस्तो महसुस भैरहेको थियो। जिन्दगीले पनि हामीलाई को-को भेटाउँछ, कता-कता पुर्याउछँ। यस्तै-यस्तै कुरा मनमा खेलाउँदै, आफूलाई भाग्यमानी सम्झिँदै केहीबेर बगैँचामा टहलिरहेँ।
त्यसपछि हामी दोस्रो दिनको यात्राका लागि क्यानवेरातिर निस्कियौँ। दिनभर अष्ट्रेलियाको ससंद भवन, बुर्ली ग्रीफिन ताल, बेइजिङ गार्डेन, माउन्ट एन्सली इत्यादी घुमेर बेलुकी पुनः फार्महाउस नै फर्कियौँ। दास्रो दिन अझ धेरै परिकारहरू तयार गर्यौँ, भिव सरले विशेषतः हाम्रै लागि भनेर मृगको मासु राखिदिनु भएको रहेछ, त्यो पनि हामी आफैले पकायौँ। राति अबेरसम्म खानपिन अनि गफगाफ चलिरह्यो। सबिना र म भने अलि बढी थाकेको हुनाले सुत्न निस्कियौँ।
तेस्रो दिन, खासै केही योजना थिएन। त्यसैले पनि हामी अबेर गरेर उठ्यौँ। उठेर सबिना, म र उत्तम फार्महाउस चाहार्न निस्कियौँ। अलि पर चउरमा गाईहरू चरिरहेका थिए, अनि अर्कोपट्टि भेडाका बथान। नयाँ अनुहारहरू देखेर होला भेडा र गाईहरू केही दच्केजस्ता, डराएका झैँ देखिन्थे। चउरको वरिपरि छेकबारको लागि तारहरू लगाइएका थिए। केहीबेर ती खुल्ला मैदानमा बरालिएर हामी फर्कियौँ।
३२० एक्कर (२५४५.५० रोपनी) क्षेत्रफलमा फैलिएको फार्महाउस सरले हामीलाई गाडीमा राखेर पुनः घुमाउन लानु भयो। सय वर्षभन्दा पुरानो भेडी गोठ डुलाउँदै उहाँले हामीलाई सामूहिक रुपमा भेडाको ऊन काट्ने ठाउँ, हाम्रै गाउँघरमा प्रयोग हुने खालका पुराना वजन नाप्ने मेसिन, आदि देखाउनुभयो। उहाँले बुबा मिकी वेदरल, आमा काय वेरदल अनि मित सौर्य शमसेर जबरा राणाका सम्झनामा रोप्नु भएको धुपी देखाउँदै, आगामी वर्षहरूमा अझ धेरै रुख बिरुवा सार्ने योजना पनि सुनाउनु भयो।
त्यसपछि फर्किएर खानपिन गरी, घरजाने सुरसार कस्यौँ। बिदा मागेर फर्किने क्रममा भिव सरले हामीलाई कोसेलीस्वरुप त्यहीँ फार्ममा भर्खरै झिकेको मह एक-एक बट्टा दिनुभयो। आफ्नै बा-आमाले झैँ बाटोमा ख्याल गरी जान सुझाउनु भयो। वेदरल परिवारको न्यानो आतिथ्य र मायाप्रति आभार व्यक्त गर्दै हामी फेरि भेट्ने वाचाका साथ भारी मन लिएर सिड्नी फर्कियौँ।
भिव सरको नेपालसँगको नाता
सन् १९५२ मा भारतको पट्नामा जन्मिनु भएको भिव सरको नेपाल र नेपाली प्रतिको मोह भने यत्तिकै बसेको होइन रहेछ। दार्जिलिङ सहरमा हुर्केबढेका अनि नेपाललाई आफ्नो कर्मभूमि बनाएका ईन्जिनियर मिकी वेदरल (मिकी दाइ) का छोरा हुन् भिव वेदरल। बेलायतमा आफ्नो पढाइ सकाएपश्चात पट्नामा आफ्नै ईन्जिनियरिङ फर्म खोलेका मिकी वेदरल, विविध भारतीय तथा बेलायती सहयोग परियोजनाहरूमार्फत सडक तथा पुलहरू बनाउन नेपाल पुगेका रहेछन्।
उनको टोलीले त्रिशुली पुल, झापा-इलाम राजमार्ग अनि म आफै पढेको स्कुल, बूढानीलकण्ठ पनि बनाएको रहेछ। त्यसलगायत इलामका चिया बगानहरू बनाउन पनि उनको ठूलो योगदान रहेछ।
यसरी बुबाको कामको सिलसिलामा ४ वर्षको उमेरमा काठमाडौँ पुगेका रहेछन् भिव वेदरल। त्यस ताका एक्लो जीवन बिताइरहेका बुवा मिकी वेदरलको भेट अनि विवाह अष्ट्रेलियन नागरिक तथा नेपालका लागि बेलायती राजूतको सचिवको रुपमा कार्यरत कायसँग भएछ। त्यहीँबाट जोडिएको रहेछ अष्ट्रेलियासँगको साइनो।
दार्जिलिङ र बेलायतमा हाईस्कुल सकाएर १७ वर्षको उमेरमा नेपाल छोडी अष्ट्रेलिया आएका भिव सर अहिले ७० वर्षका भए। उनी बिल्डिङ पार्टनर नामक कन्स्ट्रक्सन कम्पनी चलाउँछन जहाँ धेरै नेपालीहरू कार्यरत छन्। त्यस अलवा उनी बुबाआमाले अवकाश प्राप्त जीवनमा थालेको यान्डिला तोरीको तेल फार्म पनि सम्हाल्छन् जुन अष्ट्रेलियाकै पहिलो तोरीको तेल उत्पादन गर्ने संस्था हो।
आजका दिनसम्म पनि उनी नेपाल र नेपालीलाई उत्तिकै माया र श्रद्धा गर्छन्, नेपाली मज्जाले बोल्छन्। ३५ वर्षपछि एकपटक फेरि नेपाल गएका थिए रे, धेरै कुरा परिवर्तन भए पनि नेपालीहरूको सद्भाव उस्तै रहेको भन्दै उनी नेपालीहरूको जस्तोसुकै अवस्थामा पनि नआत्तिने बानीको प्रसंशा गर्छन्।
काय र मिकी वेदरल क्यानबेरास्थित अष्ट्रेलिया-नेपाल फ्रेन्डशीप सोसाइटीका संस्थापक पनि हुन्।
यो माया, सदभाव अनि अवसरको लागि वेदरल परिवारप्रति हार्दिक आभार।