चितवन राष्ट्रिय निकुञ्जको घना जंगल शिकारीहरूको लागि इतिहासमा विश्वमै कहलिएको जंगल हो। राजा त्रिभुवनको शासनकालसम्म पनि यहाँ शिकार खेल्ने परम्परा थियो। औँलोको प्रकोपबीच पनि शिकार खेल्नैका लागि ब्रिटिश राजपरिवारका सदस्यहरू यहाँ आएको इतिहास छ। नेपालका राणा र राजपरिवारका पारखीहरूको त कुरै नगरौँ। उहिले-उहिले चितवन नाम जुर्नुअघि यो जंगली इलाकालाई कालापानी भनेर चिन्थ्यो, लोकले।
आठ कक्षामा इतिहास पढ्ने बेला अध्यापक डण्डापानी लम्सालले प्रसंगवश एउटा चाखलाग्दो कुरो भन्दिनु भो। राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले चितवनको जंगलमा शिकार खेल्न आउँदा एउटा रुखसँग मित लाएको कुरा। हामी त दंग पर्यौं। बाफ रे! जंगेको मित। त्यो दिनदेखि जंगेको मितले टाउको रन्किन थाल्यो। कौतुहलतामा लगातार वृद्धि भयो।
दाजुभाइ अनि साथीहरूसँग गफ लडाइन्थ्यो, बेला बखत। अनि हामी भन्थ्यौँ, 'त्यो रुख त राजाले नि चढ्न सक्दैनन् होला यार!'
अर्कोले थपिहाल्नी, 'त्यही भएर त जंगेले मित ला होला नि। आम्मामा त्यो रुखलाई देख्न पाए त गति परिन्थ्यो यार।' जंगबहादुर राणाले मित लाएको त्यो रुख भाइरल भयो।
बर्खामा माडीबाट भरतपुर आउनलाई युद्ध लडेजस्तै हो, उबेला। हिँड्नुको विकल्प थिएन। हिँड्नलाई दुई वटा नाका थिए। एउटा धोवा-घट्गाइँ अर्को बन्कट्टा-ध्रुव। हिउँदमा देखिने बसहरू बर्खामास पारि नै थन्किएका हुन्थे। घैलाघारी र निकुन्जलाई जोड्ने गरी राप्तीमा मोटरेबल पुल बनेपछि बल्ल माडीमा यातायात सहज हुन थालेको हो। त्योभन्दा पूर्व त माडी जानभन्दा मनाङ जान सजिलो थियो। धोवा-घट्गाइँको जंगली दूरी लगभग १३ किलोमिटर थियो भने बन्कट्टा-ध्रुवको ५/६ किलोमिटर मात्रै।
कक्षा नौमा पढ्दा एकदिन गाउँका दाइहरूसँग पारी आउने मौका मिल्यो (माडीमा भरतपुरलाई पारी भन्ने गरिन्छ)। धोवा आउनलाई रिउको तिरैतिर आउँदा फरकपनको छनक मिल्छ। एक त खोलामा पानीको स्थित कस्तो छ थाहा पाइने, दोश्रो बुढापाका थारुहरूसँग भेट्न र गफ गर्न मिल्ने। बाटोमा बुढापाका थारुहरूसङ्ग गफ अर्दै हिडँदा बाटो कटेको नि पत्तै पाइन्न।
एउटा काकालाई सोधेँ जंगेको मितज्यूको बारेमा। उनले भनेअनुसार त्यो रुख धोवाघाटमा रहेको सेनाको सुरक्षा पोष्टदेखि हजार/पन्ध्र सय मिटर टाढा पर्दो रहेछ। खुरुखुरु हिँड्दै गर्दा धोवा घाटाँ रिउको डिला रहेका चियापसल पनि पुगियो। संयोग यस्तो जुर्यो कि घट्गाइँ तिर हिँडेका एकजना पाका थारुसँग भेट हुन् लेख्यो। उनी एक्लै परेर साथी कुरेर बसेका।
फेरि उनीसँग पनि कुरो निकालेँ। आफ्नो मनमा त रन्को छ नि। एकैछिनपछि उनै काकासँगै हाम्रो चार/पाँच जनाको टोली जंगल छिर्नलाई अघि बढ्यो। चेकपोष्टबाट टोकन (प्रवेशाज्ञा) लिएर हाम्रो टोलीले जंगलको बाटो ततायो। बात मार्दै अघि बढ्या छौँ, आफूलाई चासो छैन। मनमा कुरा खेलिछन्, उही मितका।
सालघारीको बाटो नाप्दै गर्दा लगभग आधा घण्टापछि काकाका फाल एक्कासी रोकिए। एउटो सालको बुटो लौरोले देखाए। फेदा त अबिर, अक्षता, रङ र जलको लोटी रहेछ। बुटो त अजंगको छ गाँठे! फेद त दलिखम्बे मान्छेले अँगाला हाले नि नभेट्ने छ। आकाश तिर हेरेको टुप्पो त कता हो कता, अरे गगनभेदी रुख। निधारा हत्केलोको पाली हाल्दा नि देख्न मुस्किल पर्छ।
अमेरिकाको रेडउड जंगलमा देखिने अग्लो न अग्लो रुखजस्तै बाइ। उता काका चुप छन्। हँ भाइ! नसोधी भएन भन्ने लायो र सोधेको त 'जंगेको मित यही हो नि' भनेर काकाले जवाफ फर्काए।
ए आम्मामा, यत्रो रुख! अनि जंगेको मित त हुनि न भो।
स्यानो छँदा जंगबहादुर र उनको यो मितबारे धेरै किस्सा सुन्निथ्यो। बाघ आएको सुइँको पाएपछि मितको छेल पारेर बसेका जंगे डोकोले त्यसलाई छोप्थे। शिकार खेल्न माहिर जंगेको यो किस्साले आङ सिरिङ्ग हुन्थ्यो। यो मितको शिराना पुगेर जंगेले पूरा फाँट हेर्थे रे। आहा! सुन्दा नि मनै उद्देलित हुने किस्सा, नेपालको पूर्वी पहाडमा चलेको हम जाएगाको जस्तै। हामी पनि कल्पन्थ्यौँ, यो रुखा चढ्न पाए धर्ती र आकाश कस्तो देखिँदो हँ?
काकाले कथा हाले फेरि। 'जंगबहादुर शिकार खेलेर थकाइ मार्न यही बुटोको मुन्तिर बसे। वरिपरि नजर लाए। आकाशतिर हेरे। अनि सिपाही र थारूहरूलाई भने, 'यो मेरो मित। बडेमानको यो रुख अब जंगलको राजा, म चाहिँ नेपालको।' त्यस यता यही बाटो भएर हिँड्ने बटुवाहरू अनि घाँस-दाउरा, तिउन-तरकारी र चरीचरन गर्न आउनेहरूले दिनको पहिलो प्रहरमा यसलाई भगवान मानेर पूज्न थाले।'
आफ्ना बाजेबराजु र गुरौहरूको हवाला दिँदै काकाले जंगेको मितको कहानी मेटे। हामी भने नतमस्तक, जंगेको मित देखेर र रोमाञ्चक कहानी सुनेर। काकाले जंगेको मितको कहानी कति बेला मेट्या हुन् भेउ नै पाइएन।
वारि सदरमुकाम भरतपुरबाट पारि फर्केपछि दुई/चार दिनलाई जोत हान्न पुगि गो। गुच्चा खेल्दा होस् वा खोलामा असला माछा लखेट्दा वा गोठालो हिँड्दा गफै त्यही मात्रै आउनी। 'यो रुख चढ्न सके त राजा भइन्छ होला ओई,' सखाहरू रोमाञ्चित हुँदै भन्थे। अनि त्यो भिमकाय रुख चढ्ने आँट गरिन्थ्यो राजा हुनलाई, दुनियाँ चकित पर्थ्यो। तर बिपनामा होइन सपनामा मात्र सुनौला सपनामा।
त्यस उपरान्त रिउ-राप्तीमा धेरै पानी बगेको छ। आम मान्छेहरूलाई किम्बदन्ती लाग्ने जंगबहादुको यो मितको खबर भने बेखबर छ।