शिक्षण एक सम्मानित पेसा हो।
विशेषगरी विद्यार्थीहरूमा शिक्षकहरूप्रति गहिरो सम्मान हुन्छ। विद्यार्थी-जीवन, त्यसमा पनि खासगरी विद्यालय तहमा, उनीहरूले अधिकांश समय शिक्षकहरूसँग बिताउँछन्। उनीहरूका निम्ति नयाँ कुरा सिक्ने र व्यक्तिगत आचरणको विकासमा तिनै शिक्षकले प्रमुख भूमिका खेलेका हुन्छन्।
एक शिक्षकको गुण-अवगुण सबै विद्यार्थीका निम्ति ग्राह्य र अनुकरणीय हुन्छ। त्यसैले शिक्षक स्वयंले आफ्नो व्यक्तित्व र आचरण विकासमा निरन्तर ध्यान दिनुपर्ने हुन्छ।
लुबना अहमद भन्नुहुन्छ- शिक्षक आफैं पनि विद्यार्थीजस्तो जिज्ञासु हुनु आवश्यक छ।
योसँगै उहाँले शिक्षक मासिकको एक अंकमा औंल्याउनु भएअनुसार सकारात्मक सोचको बढावा, सहभागितामूलक सिकाइ, फरक विद्यार्थीहरूलाई समेट्न सक्नु, सहज र सम्मानजनक शिक्षण अभ्यास, विद्यार्थीप्रति सहानुभूतिको दृष्टिकोण र आफूपनि सिक्दै उनीहरूलाई निरन्तर सिकाइमा प्रोत्साहित गर्नुपर्ने बुँदाहरू उहाँ आफ्नै लागि पनि एक शिक्षकका रूपमा महत्त्वपूर्ण सिकाइ भएको स्वीकार्नु हुन्छ।
नेपालका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा भन्नुपर्दा उहाँहरू आफैं अग्रसर नभएसम्म यी सबै गुणहरू आफ्नो व्यावसायिक विकासमा समेट्न गाह्रो देखिन्छ। यस्तो अवस्था हुनुका पछाडि उहाँहरूले पाउनुपर्ने व्यक्तिगत पृष्ठपोषणको अभाव हो।
शिक्षकको कमजोरी, समस्या र सबल पक्षको अध्ययन गर्दै कक्षाको सिकाइ प्रभावकारी बनाउन र सामुदायिक विद्यालयको अध्यापन सुधारमा समन्वय गर्न सरकारले २०५६ सालबाट देशभर स्रोत व्यक्ति (आरपी) नियुक्त गरेको थियो। पुरानो शिक्षक मूल्यांकन पद्धति हेर्दा प्रधानाध्यापकको अध्यक्षतामा विद्यालय निरीक्षक (विनि) र आरपीसहितको समितिले मूल्यांकन गर्नुपर्ने थियो।
तर त्यो कतिसम्म प्रभावकारी भयो भन्ने यथार्थ हाम्रो वर्तमान विद्यालय अवस्थामा प्रतिबिम्बित हुन्छ। त्यो निश्चय पनि राम्रो देखिँदैन। यस्तो हुनुमा प्रधानाध्यापकको आफ्नै कमजोर भूमिका, विनि र आरपीको कार्यक्षेत्र तथा भूमिकामा देखिएको अन्यौलता लगायत अन्य कारण पनि हुन सक्छन्। अझ २०७६ सालबाट आरपीको भूमिका समेत विद्यालयहरूबाट हटाइएको छ।
विद्यालय क्षेत्र सुधार योजनाको अन्त्यमा गरिएको संयुक्त मूल्यांकनमा पनि माथि उल्लिखित चुनौतीहरू देखिएका थिए। त्यसैले उक्त मूल्यांकनले सुझावका रूपमा प्रधानाध्यापकको कार्य दायरा बढाई उहाँको कार्यदक्षता वृद्धि गर्दै विद्यालयभित्र अनुशासकीय कारवाही गर्न पाउने र शिक्षकहरूको शिक्षण पद्धति निरीक्षण गर्दै आवश्यक सहयोग प्रदान गर्न सक्नुपर्ने उल्लेख गरिएको छ।
हाल विद्यालय क्षेत्र विकास योजना लागू भइसक्दा पनि प्रधानाध्यापककै संयोजनमा स्थानीय र जिल्ला तहको शिक्षा प्रमुखसहितको समितिले शिक्षक मूल्यांकनमा काम गर्नुपर्ने देखिएको छ। यसरी हुने मूल्यांकनले शिक्षकको दक्षतालाई मात्र नहेरी माथि उल्लेख भएअनुसार उहाँहरूको व्यावसायिक विकासमा पनि सघाउने गर्छ।
यी सबै चुनौतीबीच शिक्षकहरूको आफ्नो सर्वाङ्गीण व्यक्तित्व विकास कसरी सम्भव होला त?
यसका लागि तिनै विद्यार्थी राम्रा आधार हुन सक्छन् जसले आफ्ना शिक्षकलाई सर्वोपरि ठान्छन्। शिक्षक मासिककै एक अंकमा प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षामा विद्यमान समस्या सुधारका निम्ति दिनुभएका दश सुझावमध्ये छैठौं सुझावमा इंगित गर्नुभएको छ- कुनै पनि शिक्षकले प्राप्त गर्ने पृष्ठपोषणको प्रमुख र महत्त्वपूर्ण स्रोत अरू कोहि नभएर स्वयम् विद्यार्थी हुन्छन्।
जसरी माथि शिक्षक आफैं पनि निरन्तर सिकाइमा लागिरहनुपर्ने कुरा उल्लेख गरियो, त्यसै गरी 'टिच फर नेपाल'ले आफ्ना कुनै पनि प्रज्ञार्थीमा यो गुण हुनु अपरिहार्य ठान्छ। त्यसैले त टिच फर नेपालको सात विशेष मूल्य र मान्यतामध्ये एक निरन्तर सिकाइ पनि हो।
झन्डै एक दशकको कक्षाभित्रको अनुभवबाट हेर्दा टिच फर नेपालले पनि विद्यार्थीलाई नै शिक्षक-पृष्ठपोषणको निम्ति महत्वपूर्ण स्रोत मानेको देखिन्छ। अत: सुरूआतदेखि नै विद्यार्थीको शिक्षकप्रतिको धारणा बुझ्न 'पर्सेप्सन' सर्वेक्षण गराउँदै आएको छ। यो सर्वेक्षण बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले हार्वर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरेको हो र हाल पानोरामा नामक कम्पनीले यो सर्वेक्षण गराउँदै आएको छ।
पर्सेप्सन सर्वेक्षणलाई त्रिकोणात्मक सर्वेक्षण पनि भनिन्छ किनभने यसले विद्यार्थीको समग्र विकासका लागि उनीहरूले कक्षाभित्र पाउनुपर्ने तीन प्रमुख आधारलाई मूल्यांकन गर्छ। ती हुन् – विद्यार्थीले एउटा शिक्षकबाट पाउने व्यक्तिगत आड, पाठ्यक्रममा हुने सहायता र शैक्षिक सामग्री तथा गतिविधि।
यसलाई पनि टुक्र्याउँदा लुबना अहमदले भन्नुभएजस्तै सात फरक विधामा विद्यार्थीले आफ्ना शिक्षकको मूल्यांकन गर्छन्। अंग्रेजी अक्षर सीबाट सुरू हुने यी सात विधालाई 'सेभेन सीज' पनि भनिन्छ। जसलाई नेपालीमा यसरी बुझ्न सकिन्छ– कक्षा नियन्त्रण, विद्यार्थीको हेरचाह, उनीहरूको विचारको सम्मान, सिकाइ प्रक्रियाको आकर्षण, विषयवस्तुको पूर्णता, विषयवस्तुको स्पष्टता, र सिकाइ प्रक्रियाको चुनौती।
टिच फर नेपालका हरेक प्रज्ञार्थीको कुनै एक कक्षाका सम्पूर्ण विद्यार्थीले यो सर्वेक्षण भर्छन् र केही समयपश्चात् यसको नतिजा पनोरामाबाट प्राप्त हुन्छ। यसरी प्राप्त नतिजाले कुनै एक प्रज्ञार्थीको कुन पक्ष सबल र कुन पक्षमा सुधारको आवश्यकता छ भन्ने थाहा हुन्छ।
यस तरिकाले उक्त प्रज्ञार्थीले आफ्नो सबल पक्षलाई निरन्तर दिई कमजोर पक्षलाई सुधार गर्दै जानुपर्ने हुन्छ। सर्वेक्षण आफैं मात्र पूर्ण हुँदैन। यसको नतिजा बुझ्न एक शिक्षकलाई सही मार्गदर्शनको पनि आवश्यकता पर्छ।
टिच फर नेपालमा निश्चित प्रज्ञार्थीका निम्ति खटाइएका नेतृत्व विकास संयोजकहरूले यस किसिमको भूमिका निर्वाह गर्दै हरेक प्रज्ञार्थीको व्यावसायिक शिक्षण विकासका निम्ति कार्ययोजना बनाउन मद्दत गर्नुहुन्छ। यसरी शिक्षकले पनि विद्यार्थीबाट आफूले सिक्नुपर्ने र सुदृढ गर्नुपर्ने पक्षहरूको ज्ञान प्राप्त गर्न सक्छन्। यिनै प्राप्त ज्ञानलाई अवलम्बन गर्दै गए शिक्षकहरूको शिक्षण गुणस्तरमा केही हदसम्मको सुधार आउने निश्चित छ।
देश संघीयतामा गइसकेको अवस्थामा शिक्षाक्षेत्रमा पनि उत्साहजनक परिवर्तनको अपेक्षा गरिएको थियो। त्यही अनुरुप राष्ट्रिय शिक्षा नीति २०७६ नेपाल सरकारले स्वीकृत गरेको छ। यो नीतिले पनि शिक्षकको पेसागत सक्षमता अभिवृद्धि गर्ने र उहाँहरूको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग जोड्ने व्यवस्थाको विषय उठाएको छ।
अन्य क्षेत्रमा जस्तै शिक्षामा पनि धेरै अधिकार र कर्तव्यका विषय स्थानीय तहमा पुगिसकेको अवस्था छ। यसरी निर्धारित भूगोलका सीमित शिक्षकको निम्ति आवश्यक व्यावसायिक र भौतिक सहायता प्रदान गरी प्रभावकारी शिक्षण पद्धति विकास गर्न केही सहज पनि हुनसक्छ।
कतिपय स्थानीय तहमा यस्तै नवीनतम अभ्यास सुरू पनि भइसकेको छ जसलाई समयानुकूल परिस्कृत र परिमार्जन गर्दै शिक्षकको टेवामा अगाडि बढाउनु पर्नेछ। तर यति हुँदाहुँदै पनि यी सबै व्यवस्था संस्थागत नभएसम्म शिक्षक आफैं अग्रसर भई स्वमूल्यांकन गर्दै निरन्तर सिकाइको बाटोमा लाग्नुपर्ने देखिन्छ।
विद्यालय क्षेत्र विकास योजनाले शिक्षकको मूल्यांकन आगामी दिनमा राष्ट्रिय शिक्षा विकास केन्द्रले विकास गरेको शिक्षक योग्यता मापदण्डका आधारमा हुनुपर्ने उल्लेख गरेको छ। उक्त मापदण्डमा उल्लिखित आठ विधामध्ये दुइटाले विद्यार्थी र तिनको सिक्ने तरिका र कक्षभित्रको सिक्ने वातावरणको ज्ञान एक शिक्षकमा हुनुपर्ने औंल्याएको छ।
यदि यी दुई विषयलाई मात्र पनि न्यूनतम आधार मान्ने हो भने अब शिक्षकले विद्यार्थीसँग पाठ्यक्रमभन्दा बाहिर रहेर अन्तर्क्रिया बढाउनुपर्ने देखिन्छ। त्यसो भए मात्र सामुदायिक स्कुलका शिक्षकहरूको व्यावसायिक विकास सम्भव छ।
(कल्याण अधिकारी टिच फर नेपालका पूर्व प्रज्ञार्थी हुन् भने हाल टिच फर नेपालमा इम्प्याक्ट इभ्यालुएसन म्यानेजरका रूपमा कार्यरत छन्)