नेपालमा चुनाव नजिकिँदै छ। नेताहरूबीच मतदाताले कसलाई भोट गर्लान्, उनीहरूको प्राथमिकताहरूबारे अनुमान लगाउने र आगामी चुनावमा उम्मेदवार भएर सम्भावित मतदाता समक्ष आफ्ना कुरा कसरी पुर्याउने चर्चाको विषय छ वा बन्नेछ।
अब पर्चाहरूको वितरण गरी नेतादेखि जनतासम्म सूचना प्रवाह गर्ने दिनहरू करिब-करिब सकिँदै छ। जसको छनक अहिले भर्खर महाधिवेशन सकेका पार्टीले फेसबुकको अत्यधिक प्रयोग गरेर दिएका छन्। अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ (एमएल) र ठूलो डाटाको उदयले राजनीतिज्ञहरूले आफ्ना सम्भावित मतदातालाई आफ्ना कार्य योजना कसरी बुझाउने भन्ने कुरालाई मौलिक रूपमा परिवर्तन हुँदैछ र हुनेछ।
एआई भनेको कम्प्युटर प्रोग्राम (अल्गोरिदम) हो, जसले मानिसको स्वभावको नक्कल गर्न सक्ने क्षमता राख्छ। यी अल्गोरिदमले समस्या समाधान गर्ने, नयाँ कुरा सिक्ने र योजना बनाउन सक्ने क्षमता राख्छन्। उदाहरणका लागि एआई प्रयोग गरी डेटाको विश्लेषण गरेर र त्यसभित्रको प्याटर्न पहिचान प्राप्त गर्न सक्छन्। यस्ता प्याटर्न मानिसहरूले के खोजिरहेका छन् भनी बुझिकन व्यापारीले वा निर्वाचनताका नेताले आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्छन्।
एमएल एआईको एक शाखा हो। एमएल समयसमयमा आफैं परिवर्तन भई क्रमिक रूपमा परिस्कृत हुने अल्गोरिदम हो। उक्त स्व-परिवर्तनशील अल्गोरिदमको प्रयोग गरेर धेरै छिटो ठूलो परिमाणको डेटाको विश्लेषण गरिन्छ।
मानौं अहिले आम नेपालीको कोभिड, कोभिड-खोप, आगामी निर्वाचनबारे के धारणा छ भने बुझ्न एआईको प्रयोग गर्न सकिन्छ। सबै नेपालीको फेसबुक वा ट्विटरमा लेखेको, लाइक वा सेयर गरेको डेटा संकलन र विश्लेषण गरी एआईको माध्यमबाट निमेषभरमै जनताको मनोभावना बुझ्न सकिन्छl जबकि मानिसहरूले कुनै कम्प्युटर प्रयोग नगरी उक्त धारणाहरू पत्ता लगाउन महिनौंदेखि वर्षौं लग्न सक्छ।
यी प्रविधिहरूको प्रयोग स्मार्टफोनमा अनुहार चिन्न वा व्यक्तिगत अनलाइन किनमेल अनुभव बुझ्न गरिन्छ। जस्तो कि यदि तपाईंले दराजको वेबसाइटबाट सामान किन्नुभएको छ भने उसले 'यदि तपाईंले यो सामान किन्नुभयो भने तपाईंलाई यो पनि किन्न मन पर्न सक्छ' भनेर अर्को समानको सिफारिस गर्छ। युट्युबले पनि त्यस्तै गर्छ। युट्युबमा केही गीत सुन्नुभयो भने यसले तपाईंलाई पनि उस्तै प्रकारका गीतहरू सुन्न सुझाव दिन्छ। यस्तो प्रकारको सुझावका लागि एआई-एमएलको प्रयोग गरिएको हुन्छ।
अहिले साइबरस्पेसमा सामाजिक सञ्जालमार्फत राजनीतिज्ञ, सरकार, र मतदाताहरूबारे व्यापक जानकारी तैरिरहेको छ। आगामी निर्वाचनमा उक्त जानकारीको विविधताको फाइदा उठाउँदै उम्मेदवारले आफ्ना एजेन्डा अघि बढाउन पर्ने हुन्छ। यसका लागि अहिले पहिलेभन्दा धेरै सामाजिक सञ्जालहरू उपलब्ध छन्। मतदाताले पनि उम्मेदवारको गतिविधिलाई नियालिरहेका हुन्छन्।
सामाजिक सञ्जाल, संयुक्त राज्य अमेरिकामा सन् २००८ को राष्ट्रपति चुनावताका राजनीतिक कुराकानी, असहमति र रणनीतिक, मार्केटिङका लागि एक केन्द्रीय प्लेटफर्मका रूपमा देखापर्यो। किनकि त्यति बेला पहिलोपटक आधाभन्दा बढी मतदान गर्ने उमेरका जनसंख्याले राजनीतिक प्रक्रियाबारे जानकारी राख्न इन्टरनेट जडान गरी सामाजिक सञ्जालको प्रयोग गरे।
तत्कालीन अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाराक ओबामासँग आफ्नो चुनावी अभियानमा एमएलमार्फत राजनीतिक क्षेत्रमा उन्नत डेटा विश्लेषण गरी मतदाता लक्षित विज्ञापन ल्याउन एआईमा पोख्त अग्रणी टोली थियो। उक्त टोलीले सामाजिक सञ्जालका गतिविधिद्वारा उत्पन्न डेटा प्रयोग गरेर चुनाव प्रचारप्रसार गर्ने परिष्कृत विश्लेषणात्मक मोडलहरू सिर्जना गर्यो। डेटा एनालाइटिक्सको उक्त मोडलहरू प्रयोग गरी मतदाता लक्षित चुनावी अभियान गरेको हुनाले २००८ मा ओबामालाई राष्ट्रपतिमा विजय हुन ठूलो सहयोग भयो।
२०१२ को चुनावमा ओबामाले एक सयभन्दा बढी डेटा विश्लेषकहरूको टोली बनाए जसले मतदाताको भावना भविष्यवाणी गर्ने भिन्न-भिन्न मोडलिङ गरे। उक्त मोडलअनुसार मतदाताको भावना बुझी चुनाव प्रचार गर्ने रणनीतिक निर्णय लिए र फेरि राष्ट्रपति बने। २००८ र २०१२ ताका चुनावमा एआईको प्रयोग निकै नौलो थियो। तर अब राजनीतिक गतिविधि यस प्रयोग सामान्य भएको छ। एआईको प्रयोग राजनीतिक वा व्यापारिक विज्ञापनहरूमा धेरै जसो रणनीति निर्णय लिन धेरै महत्वपूर्ण मानिन्छ।
यसमा कुनै शंका छैन कि एआई र एमएलले सन् २००८ ताकाभन्दा निकै प्रगति गरेको छ। यी प्रविधिहरू ग्राहक वा मतदाताहरूको मनोभावना विश्लेषण गरी लक्षित विज्ञापन गर्न, कुनै कानुन पारित हुने सम्भावना छ कि छैन भनेर अग्रिम जानकारी राख्न, नक्कली समाचार र गलत जानकारी पत्ता लगाउने र त्यसविरूद्ध लड्ने रोबोट बनाउन र उम्मेदवार र उनीहरूको मुद्दाहरूबारे मतदाताहरूलाई शिक्षित गर्न व्यापक रूपमा प्रयोग गरिन्छ।
हामी अहिले एआईको सतह 'स्क्र्याच' गर्दैछौं। अक्सफोर्ड र येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अबको ४५ वर्षमा मानिसले गर्ने सबै कामहरू एआईले गर्ने सम्भावना छ भनेर पूर्वानुमान गरेका छन्। मानिसहरूले सामूहिक रूपमा साइबरस्पेसमा, अनलाइन किनमेल गर्न र सबै सामाजिक सञ्जाल र च्याटरूम प्रयोग नगर्ने निर्णय नगरेसम्म, कुनै पनि तरिकामा हाम्रो दैनिक जीवनमा एआईको प्रयोग भइनै रहनेछ र यो रोकिने छैन। बरू परिस्कृत हुँदै व्यापक हुने पक्का छ।
द एट्लान्टिक पत्रिकाले एआई प्रयोग गरी सन् २०२० मा पत्ता लगाएको थियो- २०१६ को अमेरिकी राष्ट्रपतीय चुनाव बेला गरिएका २० प्रतिशत ट्विटहरू एआईद्वारा गरिएको रहेछ।
एक अनुमानअनुसार ब्रेक्जिट भोटका बारेमा गरिएका ट्विट एक तिहाइ रोबोटले गरेको थियो। यसले के देखाउँछ भने कुनै कारणबस एआई गलत मानिसको हातमा पर्यो भने यसले दीर्घकालीन रूपमा असर गर्ने खालको निर्णयमा पुग्न मानिसहरूलाई उद्दत गर्न सक्छ जुन खतरनाक पनि हुन सक्छ।
ठूला डेटा र उच्च विशिष्टीकृत, एमएल आधारित मतदाता विश्लेषण प्रविधिद्वारा सञ्चालित अभियानहरू संसारभर कम हुने कुनै संकेत देखिँदैन। राष्ट्रपति ओबामाको २००८ र २०१२ अभियानहरूमा ठूला डेटाको प्रारम्भिक सफल प्रयोग भएपछि ट्रम्प र हिलारी क्लिन्टनको राष्ट्रपतीय चुनावताका, सन् २०१६ मा उक्त प्रविधिको प्रयोग अझ नयाँ उचाइमा भयो।
वाशिङ्टन पोस्टमा प्रकाशित समाचारमा हिलारी क्लिन्टनको राष्ट्रपति चुनाव अभियान लगभग पूर्ण रूपमा 'एडा' नामक एमएल अल्गोरिदमद्वारा सञ्चालित भएको खुलासा भयो। अझ विशेष रूपमा, उक्त अल्गोरिदमले क्लिन्टनका सहयोगीहरूले गरेको लगभग हरेक रणनीतिक निर्णयमा भूमिका खेल्ने भनिएको छ। जसमा उम्मेदवार र उनको कार्यकर्तालाई कहाँ र कहिले तैनाथ गर्ने र टेलिभिजन विज्ञापनहरू कहाँ प्रसारण गर्ने जानकारी हुन्थ्यो।
सन् २०२० मा ट्रम्प र जो बाइडेन दुवैले संयुक्त रूपमा एआई सञ्चालित फेसबुक विज्ञापनमा मात्रै दुई सय मिलियन डलर खर्च गरे। जबकि राष्ट्रपति ओबामाको सन् २००८ को अभियानमा फेसबुक विज्ञापनमा ६४३ हजार डलर खर्च गरिएको थियो। यसले राजनीतिमा एआईको प्रयोग झन्-झन् बढ्दै गएको देखाउँछ।
नेपालमा पनि चुनावताका एआई प्रयोगका लागि पैसा खर्चिने छन्। नेपालीका सामाजिक सञ्जालबाट डेटा संकलन गरी एआईमार्फत चुनावी रणनीति अबलम्बन हुनेछ। चतुर राजनीतिज्ञले मानिसहरूको सामाजिक सञ्जालमा व्यक्त भएका भावनाअनुसार आफ्नो विचार व्यक्त गर्नेछन् र मतदाता लक्षित राजनैतिक विज्ञापन गर्नेछन्। मतदाताबीच राजनीतिक गहिरो विभाजन, उम्मेदवारहरूका राजनीतिक उत्प्रेरणा र जित्नै पर्ने बाध्यताले गर्दा आगामी चुनावमा एआईको व्यापक प्रयोग हुने देखिन्छ।
सामाजिक सञ्जालमा धेरै अनुयायी भएका राजनीतिज्ञले प्रविधिमार्फत नक्कली समाचारहरू फैलाउन, लक्षित भावनात्मक अपीलमार्फत संवेदनशील मतदातालाई मनोवैज्ञानिक रूपमा हेरफेरका लागि प्रयोग गर्न पनि सक्छन्।
फेसबुक समूहहरू बनाई ब्रेक्जिटको समय ब्रिटेनमा गलत जानकारी एक निश्चित समूहहरूमा बाँडिएको थियो। त्यसले ब्रेक्जिटको निर्वाचनको परिणामलाई असर गर्यो। त्यस्तै हेरफेर नेपालका राजनीतिज्ञले उठाएका मुद्दामा नहोला भन्न सकिँदैन। विवादास्पद विषयहरूलाई सामाजिक सञ्जालमा गलत तरिकाले उछालेर जनतामा बिग्रह ल्याउन काम गर्ने कम्पनीहरू संसारभरि छन्।
कल्पना गर्नुहोस्, नेपाली राजनीतिज्ञले त्यस्ता कम्पनी भाडामा लिएर आफ्नो राजनीतिक लक्ष्यका लागि काम गरे के होला?
यस्तो काम गर्न नेपालमै बस्नुपर्छ भन्ने पनि छैन। विदेशबाट विदेशीले नै गरिदिन सक्छ।
टाइम पत्रिकाले भर्खरै एउटा समाचार प्रकाशन गरेको थियो। त्यसको शीर्षक सार 'आर्टिफिसियल इन्टेलिजेन्सले अब मौलिक चुट्किलाहरू शिल्प गर्न सक्छ– अनि त्यो हाँसोको विषय होइन' भन्ने थियो। अब चुट्किलाहरू पनि एआईले नै लेख्ने र भन्ने भयो जुन हाँस्य कलाकारका लागि पनि साह्रै कठिन कार्य हो।
त्यसैगरी बिबिसीले सन् २०१७ मा 'वासिङ्टन विश्वविद्यालयका अनुसन्धाताहरूले अमेरिकी भूतपूर्व राष्ट्रपति बाराक ओबामाको फोटोरियलिस्टिक उत्पादन गरेका' भनेर समाचार प्रकाशित गरेको थियो। जसमा ओबामा बोल्दा कसरी मुख चलाउँछन् भन्ने कुराको नमूना बनाउन एआईको प्रयोग गरियो। उनीहरूको प्रविधिमा 'कृत्रिम बराक ओबामा' उनीहरूले चाहे जसरी कुनै पनि शब्दहरू बोल्न सक्छन्।
अब त्यस्ता प्रविधि जसले पनि प्रयोग गर्न सक्छ। अनुमान गर्नुहोस्, कृत्रिम बराक ओबामाले जस्तै कृत्रिम अमूक नेपाली नेताले प्रतिस्पर्धी पार्टीको नेताबारे 'आधारहीन तथ्य' चुनाव छेक बोलेको दृश्य सामाजिक सञ्जालमा व्याप्त भयो भने के गर्ने?
यदि एआईलाई कानुनी दायरामा राखिएन भने चुनावका समयमा धेरै गलत सूचना सामाजिक सञ्जालमा भाइरल हुनेछन्। जसका कारण हामीहरूले सही जानकारी प्राप्त गर्न मुश्किल हुनेछ। फलतः गलत राजनीतिज्ञलाई मतदान गर्ने सम्भावना रहन्छ, जुन नेपाल र नेपालीका लागि विषाक्त हुनेछ।
नेताहरू, एआईका विज्ञहरू र हाम्रो निर्वाचन आयोगले एआईको सम्भावित खतरनाक प्रभावबाट हुर्किँदै गरेको हाम्रो कलिलो लोकतन्त्रलाई जोगाउन नेपाली जनजनले प्रयोग गरिरहेका उदीयमान प्रविधिका व्यापक फाइदा, कमीकमजोरी र सम्भावित जोखिम समीक्षा गर्नुपर्छ। अनि प्रभावकारी नीति-निर्माण सुनिश्चित गर्न ढिलो गर्नु हुँदैन।
चुनावको निकै अगाडि नै सरकारले विशेष टिम बनाएर एआई प्रयोग गरी सामाजिक सञ्जालमा फैलिन सक्ने गलत सूचना कसरी निराकरण गर्ने भनेर गम्भीर हुने बेला भएको छ।
(सुन्दर पाण्डेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)