मुटु रोगी वा मुटु रोगको जोखिम भएका व्यक्तिहरूमा कोभिड- १९ को संक्रमणको असर कस्तो देखिएको छ?
कोभिड- १९ को संक्रमण भएका बिरामीहरूमा मुटु रोग एउटा जटिल समस्याका रुपमा देखिन सक्छ। त्यसमा पनि जुन बिरामीहरू पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, मुटु रोगजस्ता रोगहरूबाट ग्रसित छन् तथा मुटु रोगको जोखिममा छन्, त्यस्ता बिरामीहरूमा कोभिड- १९ को संक्रमणको कारणले हुने मृत्युदर मुटु रोगी वा मुटु रोगको जोखिम नभएका व्यक्तिहरूको तुलनामा निकै उच्च छ (लगभग १० गुणा बढी छ)। विभिन्न अनुसन्धानहरूले देखाएअनुसार लगभग ३०-३५ प्रतिशत मुटु रोगहरूको कोभिड- १९ को संक्रमणका कारण मृत्यु भएको छ।
कोभिड- १९ को संक्रमणले मुटुमा हुने जटिलताका कारणहरू के-के हुन्?
- कोभिड- १९ को संक्रमणपश्चात मुटुको चालमा गडबडी आउन सक्छ। साथै कोभिड- १९ को संक्रमणपश्चात उपचारका लागि प्रयोग हुने औषधिहरू जस्तै- हाइड्रोअक्सिक्लोरोकुइन र एजिथ्रोमाइसिनले मुटुको चालमा गडबडी गराउन थप मद्दत पुर्याउँछ।
- कोभिड- १९ को संक्रमणपश्चात मुटुको रक्तसंचार नलीहरू फुल्ने वा रगत जम्न सक्छ जसको कारणले रक्तसंचार नलीहरू बन्द हुनगई हृदयघात हुनसक्छ।
- कोभिड- १९ को संक्रमणपश्चात मुटुको मांसपेशीहरूमा संक्रमण हुनगई मांसपेशीहरू सुनिन सक्छन् जसले मुटुलाई थप क्षति पुर्याई हार्ट फेलियरजस्तो गम्भीर जटिलता निम्त्याउन सक्छ।
- कोभिड- १९ को संक्रमणपश्चात शरीरका विभिन्न भागका रक्तसंचारका नलीहरूमा रगत जम्ने वा रगत धेरै पातलो हुन सक्छ जसको कारणले मुटुमा क्षति पुग्न जान्छ।
मुटु रोगी वा मुटु रोगको जोखिम भएका व्यक्तिहरूले के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?
- मुटु रोगी वा मुटु रोगको जोखिम भएका व्यक्तिहरूले कोभिड- १९ विरुद्धको खोप लगाउनुपर्छ, दुई डोज खोप लगाइसकेकाले बुस्टर डोज पनि लगाउनुपर्छ।
- चिकित्सकको सल्लाहअनुसार खाइराखेको औषधिलाई निरन्तरता दिनुपर्छ।
- विभिन्न अनुसन्धानले देखाएअनुसार जुन बिरामीले उच्च रक्तचाप/मुटु रोगको लागि एसिइ इनहिबिटर (इनालाप्रिल) र एआरबि (लोर्साटन) जस्ता औषधिको सेवन गरिराखेका छन् उनीहरूले कोभिड- १९ को संक्रमणपश्चात पनि यी औषधिलाई निरन्तरता दिन सक्छन्। तर नयाँ औषधि सुरु गर्ने बिरामीहरूले यी दुई वटा औषधि कोभिड- १९ को संक्रमण हुँदा सुरु गर्नु हुँदैन।
- यदि कोभिड- १९ को संक्रमणपश्चात बिरामीहरूमा सास फेर्न गाह्रो भएमा, छाती दुखेमा, मुटु हल्लेमा, चिटचिट पसिना आएमा तुरुन्त अस्पताल जानुपर्छ।
मुटु रोगी वा मुटु रोगको जोखिम भएका व्यक्तिहरूले कोभिड- १९ विरुद्धको खोप लगाउँदा के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?
- मुटु रोगी जसले एन्जियोप्लाष्टी र बाइपास सर्जरीपश्चात एस्पिरिन र क्लोपिडोग्रेलजस्ता रगत पातलो हुने औषधि लिइराख्नु भएको छ, उहाँहरूले यी औषधिहरूलाई निरन्तरता दिँदै कोभिड- १९ विरुद्धको खोप निर्धक्कका साथ लगाउन सक्नुहुन्छ।
- मुटु रोगी जसले भल्बको सर्जरीपश्चात रगत पातलो गराउने औषधि वारफारिन लिनुभएको छ उहाँहरूले खोप लगाउनु अघि रगतमा आइएनआर जाँच गरी टार्गेट रेन्ज २-३ राखी डाक्टरको सल्लाहअनुसार खोप लगाउन सक्नुहुन्छ। यी बिरामीहरूमा खोप लगाएको ठाउँमा रगत बग्ने र जम्ने जस्ता समस्या देखापरेमा सुई लगाएको ठाउँमा अलि बढी समय थिचेर रगत बग्ने र जम्ने प्रकृयालाई रोक्न सकिन्छ।
- लामो समयदेखि उच्च रक्तचाप र चिनी रोग भएका बिरामीहरूको रक्तचाप र चिनीको मात्रा नियन्त्रण छैन भने १/२ हप्ता कुरेर डाक्टरको सल्लाहअनुसार रक्तचाप र चिनीको मात्रा नियन्त्रण गरेर खोप लगाउँदा बढी सुरक्षित हुन्छ।
(मुटु रोग विशेषज्ञ डा. आनन्द जिसी स्टार हस्पिटल, सानेपामा कार्यरत छन्।)