१७ वर्षको कलिलो उमेर। गालामा लाली पोखिँदै थियो, जवानीको डाली फक्रिँदै थियो। तनहुँको बर्लाँचीबाट चुँदीको ढकालथरसम्म आइपुग्न जम्माजम्मी ५-६ घण्टा लाग्यो होला। कहिले डोलेहरूले डोलीमा बोकिदिन्थे त कहिले आफै हिँड्नुपर्ने। जेठी छोरीबाट कान्छी बुहारीमा रुपान्तरण हुँदै थियो जीवन।
रिस्ती उपत्यका (तनहुँ र लमजुङमा संयुक्त रुपमा फैलिएको फाँट) का 'नेपाले' हजुरबाको जेठी नातिनी, काठमाडौँको प्रोजेक्टमा जागिर खाने बुवाकी जेठी छोरी अनि मामाघरमा पनि 'जिम्माल' हजुरबाको जेठी नातिनी। सानो बेलामा पाएको माया र प्यारको त के कुरा गर्नु? कहिलेकाहीँ कुचोले बढारेको देख्दा पनि मेरी नातिनीलाई किन बढार्न लगाएको भनेर कुचो खोस्न पुग्नुहुन्थ्यो रे नेपाले हजुरबा। मामाघरमा बस्दा नातिनी कहिले आउँछे भनेर दिन गन्नुहुन्थ्यो रे!
न्वारनमा ब्राह्मणले जुराउनु भएको नाम शकुन्तला। साह्रै नै शान्त स्वभावकी भएकी हुँदा मामाघरमा नाम शान्ता राखिदिनु भएको रहेछ। कस्तो संयोग रह्यो कुन्नी, जहाँ आमा मामाघर भन्दै रमाएर आउनुहुन्थ्यो-बस्नुहुन्थ्यो, त्यहीं नजिकैको गाउँमा कान्छी बुहारी बनेर भित्रिनु भयो। जब विवाह भएर बुहारीका रुपमा भित्रिनु भयो तब आम नेपाली महिलाको जस्तै आमाको पनि दैनिकी बदलियो।
कसेर लाउन नजानेकी छोरीले सिङ्गो घर बुहारी बनेर कसरी श्रृंगारिन् होला? बिहानको ८ बजे चार गाँस भात टिपेर बुवा दुई घण्टा टाढाको स्कुलमा पढाउन जानुहुन्थ्यो। फुपू पढ्न जानुहुन्थ्यो। हजुरबा-आमैसँग मिलेर घर सम्हाल्न सिकेर होला, विवाह पछिको निरन्तर मेहनतपछि एसएलसी पास भए पनि भर्ना भएको आइए पास गर्नसम्म पाउनु भएन। आमाको पढाइले त्यहीं बिट मार्यो। २०४४ सालको पुसमा जेठी छोरी जन्माएपछिको आमाको जीवनको हिसाबकिताबलाई सायद कुनै गणितले पनि भेट्दैन होला।
सुरुदेखि नै बुवालाई राजनीतिले राम्रैसँग छोपेको थियो। कहिले आन्दोलनका लागि सदरमुकाम जाने, कहिले जेल भित्रका उपियाँ-उडुसको टोकाइ खाने अनि कहिले राँको बालेर जङ्गल-जङ्गलमा मिटिङ गर्ने! बुवाको घर आउने टुङ्गो हुँदैन थियो। आए पनि राती-राती गरेर आउने अनि आँफूसँगै साथीभाइ लिएर आउने गर्नुहुन्थ्यो रे।
टुकी बालेर भान्सामा जे छ त्यही पकाएर हार्दिकताको स्वाद मिसाएर टक्राउनु हुन्थ्यो रे पाहुनालाई! काखमा दुधे बच्चा अनि दिन भरिको थकाइ, कस्तो निन्द्रा पर्थ्यो अनि कस्तो सपना देख्नुहुन्थ्यो कुन्नि राती!
बुवाले आफ्नो जागिर जोगाउँदै राजनीतिमा होमिनु परेकोले घरको कामधन्दामा बुवाबाट आमालाई खासै सहयोग भएन भन्ने कुरामा बुवा आफै सहमत हुनुहुन्छ। साइँली दिदी जन्मिँदा लामो समयसम्म सालनाल अड्केर आमालाई निकै गाह्रो भएको थियो रे। बुवा पनि घर नभएको समय। विचरी आमा कति आत्तिनु भयो होला!
आमाको उपचारको लागि टुहुरेपसलबाट 'शशि डाक्टर' गएर साल झिक्ने काम गरिदिनु भएछ। उहाँ पुगेर सो काम नगरिदिनु भएको भए आमा र साइँली दिदीलाई कतिखेर के हुन्थ्यो, भन्न सकिँदैन थियो भन्नुहुन्छ अझै पनि आमाको हजुरआमा। मझेरीमा बसेर पुराना धोतीको टालोको सहयोगमा छ छोरी हुर्काउनु भएकी आमालाई पानी लिन जाने पँधेरो र लुगा धुन जाने खोला सायद घाम डुब्ने क्षितिजभन्दा पनि टाढा लागे होलान्। कहिलेकाहीं जानुपर्ने मेलापर्म र नियमितजस्तै जानु पर्ने गोठालो आमाको जीवनका अभिन्न हिस्सा थिए।
२०६० सालसम्म आमा कहीँकतै जान रुचाउनु हुन्नथ्यो। आफन्त र गाउँठाउँका विवाह, व्रतबन्धजस्ता कार्यमा आमा जानैपर्ने बाध्यता भएमात्र जानुहुन्थ्यो। नत्र बुवा कि हामी केटाकेटीलाई पठाएर टारिदिनुहुन्थ्यो। खोइ किन हो कुन्नी आमालाई त्यस्ता सामाजिक जमघट खासै मन पर्दैनथ्यो। सायद, सबैले 'विचरा शान्ता'को पगरी गुथाउँछन् भनेर नै होला! 'यतिका छोरी जन्मिँदा एउटा भए पनि छोरा जन्मेको भए हुन्थ्यो' भन्ने किस्सा हामीले त कति सुन्यौं सुन्यौं, झन् आमाले कति सुन्नुभयो होला।
उमेरले नेटो काट्दै गर्नु भएका सासु-ससुरा, चिरविर गर्ने छोरीहरू, समाज रुपान्तरणको सपना देखेका श्रीमान् अनि घरमा प्रायः नटुट्ने पाहुना। आमाको जीवनरुपी डोकोले आशारुपी राम्रै नाम्लो पाएको रहेछ जिन्दगीको भारी थेग्न। २०६०-६१ सालतिर गाउँको स्कुलमा एकजना मेडम सुत्केरी बिदा बस्दा उहाँको सट्टामा आमाले १० महिना सरकारी तलब खाएर पढाउनुभयो।
बुवा शिक्षक भएको कारण पनि धेरैले 'शान्ता मेडम' भनेर चिन्नुहुन्थ्यो आमालाई। पछि आफै शिक्षक भएपछि आमाको आफ्नै परिचय बन्यो। आमाले पढाउन सुरु गर्दा म मामाघरको स्कुलमा पढ्थेँ। जब आमाले 'बगैंचा'को स्कुलमा पढाउन थाल्नु भएको छ भन्ने सुनेँ, तब मेरो मनमा उठेको छाल सायद अहिलेसम्म कुनै समुन्द्रमा उठेको छैन होला। त्यो खुसी यदि नाप्न मिल्थ्यो भने नाप्ने यन्त्रको सीमा पनि नाघ्थ्यो होला।
१० महिनाको शिक्षण पेसापश्चात् आमाले आफूलाई राजनीतिक-सामाजिक रुपमा पनि निकै सक्रिय राख्नुभयो। पहिला राजनीतिमा खासै रुचि नदिने आमा अब भने बुवासँगै आफू पनि हिँड्न थाल्नुभयो। कुनै समय यस्तो थियो कि, आमा संलग्न संघसंस्था जोड्ने हो भने दुई हातका औँलाले पनि भेट्दैन थिए। २०६०-६१ सालपछि हजुरबुवा बितिसक्नु भएको थियो, आमा र बुवा कार्यक्रममा हिँड्ने समयमा घरमा आमै, म र बहिनी मात्र हुन्थ्यौँ।
दिदीहरू अध्ययनको सिलसिलामा सहरतिर हुनुहुन्थ्यो। भैँसीलाई कुँडो पकाउन बिहान म सके आगो फुक्थेँ त नसके ठूलोबाको घरबाट कोइला ल्याएर जोडजाड गर्थेँ। भैँसी बाख्रालाई कुँडोपानी गर्न र गोबर फाल्न मलाई निकै सोख लाग्थ्यो। आमाबुवा घरमा नभएको समयमा बहिनीले घर भित्रको काम समाल्थिन् त म घर बाहिरको।
आमा विभिन्न कार्यक्रमहरूमा हिँड्दा 'तपाईं स्कुलमा पढाउनुहुन्छ हो?' भनेर सोध्नुहुन्थ्यो रे धेरै जनाले। आमाको प्रस्तुतिले कार्यक्रमका सहभागीहरूलाई शिक्षकको जस्तै झल्को दिँदोरहेछ भन्ने कुरा घर आएपछि हामीलाई सुनाउनु हुन्थ्यो। आमाको उमेर र पुस्ता अनि आमा जतिकै पढेका आमाकै समाजका धेरै महिलाहरू अहिले पनि शिक्षक हुनुहुन्छ।
हाम्रो आमाले पनि पहिलेदेखि नै शिक्षकको जागिर खाएको भए हुन्थ्यो नि भन्ने कुरा मेरो मनमा अहिलेसम्म खड्किरहन्छ। तर, आमाले जागिर खाने चाहना राख्दा हाम्रो त एकजनाको कमाइ छँदै छ नि, कमाइ नहुने साथीको परिवारलाई जागिरको अवसर दिनुपर्छ भनेर बुवाले आमाको जागिर खाने धोको पहिले पूरा हुन दिनु भएनछ।
आमा पेसाले सधैँ 'मास्टर' हुन त पाउनु भएन तर हामी छोरीहरूको जीवनको 'मास्टर' बनेर उभिरहनु भएको छ। आफू निभेर भए पनि छोरीहरूको जीवनमा प्रकाश छर्न हरसम्भव प्रयास गरिरहनु भएको छ। त्यसैले त मलाई भन्न मनपर्छ- 'मास्टर्नी आमा'।