रोमियो ट्र्याप (लभर बोइज, रोमियो पिम्पस) भनेका टीनएजमा प्रवेश गरेका स्कुले बालबालिका, युवतीहरू, किशोर-किशोरीहरूलाई मायाको जालमा फसाएर ब्ल्याकमेल गरी ठगी, बेचबिखन र यौनशोषण गर्ने, देहव्यापारमा लगाउने मानव तस्करहरू हुन्।
परम्परागत रुपमा गाउँ-गाउँमा जाने, त्यहीँका गाउँलेसँग नाता लगाउने, सामाजिक आर्थिक रूपमा विपन्न, दलित, अशिक्षित परिवारका युवतीहरूलाई सहरी तथा वैदेशिक रोजगारीको प्रलोभनमा पार्ने र विवाहको नाटक गरेर सहर हुँदै विदेशमा बेचबिखन गर्ने, वेश्यावृत्तिमा लगाउने शैली लोप हुँदै मानव बेचबिखन, तस्करी, ठगी, ब्ल्याकमेल गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग वृद्धिसँगै विकास भएको नयाँ शैली नै रोमियो ट्र्याप हो।
कसरी फसाइन्छ किशोरी, युवतीहरूलाई रोमियो ट्र्यापमा?
हालैमात्र प्रकाशित एक समाचारले मेरो ध्यान खिचेपछि मैले यस विषयमा नलेखी बस्नै सकिनँ। यो एकदमै सनसनीपूर्ण समाचार थियो। ठमेललाई कर्मथलो बनाएर ट्याटु आर्टिस्टको पेसा अपनाउँदै आएका एक २० वर्षीय युवक सुमन खड्गी (नाम परिवर्तन) एक पीडितको जाहेरीमा पक्राउ परेपछि प्रहरी अनुसन्धानमा उनको मोबाइलमा अरु ४३ जनाको किशोरी युवतीहरूको नग्न तस्बिर तथा भिडिओ फेला पर्यो।
उनले १४ देखि १८ वर्षसम्मका युवतीहरूलाई इन्स्टाग्राममा हाई-हल्लो गर्ने, उताबाट जवाफ आएमा आफू बैंककमा बसोबास गर्ने गरेको भन्ने, विस्तारै फेसबुकमा जोडिने गर्दा रहेछन्। युवतीको पारिवारिक, व्यक्तिगत विवरण पत्ता लगाउने र उनीहरूलाई नजिक बनाउने। अलि नजिकिँदै गएपछि जथाभावी गाली-गलौज गरेर लेख्ने। उताबाट पनि गाली-गलौज आयो भने आफूले गरेका गाली-गलौज डिलिट गर्ने र उताबाट आएका गाली-गलौजका स्क्रीनशटहरू पुनः युवतीलाई पठाउने गरेर ब्ल्याकमेलिङ सुरु गर्छन्।
यी स्क्रीनशटहरू तेरो स्कुलका प्रिन्सिपल, तेरो परिवार, टोल, फेसबुक जताततै सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउन थाल्छन्। युवती आत्तिएर त्यसो नगर्न आग्रह गर्छे, अनुरोध गर्छे। परिवारले आफू त्यस्तो फोहोरी शब्द प्रयोग गरेको, त्यो पनि एउटा अन्जान मान्छेसँग भन्ने थाहा पाए बेइज्जत हुने, स्कुलबाट निष्कासित हुनुपर्ने, टोलछिमेक सबैतिर बेइज्जत हुने डरले युवती रोइकराइ गर्न थाल्छे। अनि यहीँबाट सुरु हुन्छ मोलमोलाइ।
सुरुमा स्तन, गुप्ताङ्गको फोटो माग्ने, अनुहार नदेखाएपछि केही हुँदैन भनी कन्भिन्स गर्ने, त्यसपछि अनुहारसहितको नग्न फोटो भिडिओ माग्ने गर्छन्। त्यो व्यक्तिले दिन अस्वीकार गरे 'तेरो आइडीबाट आएको नग्न फोटो तेरै हो भन्ने हुन्छ, नत्र हेर्' भनी स्क्रीनशटहरू पठाउने गरेपछि युवतीको होस् हवास उड्न थाल्छ।
अब अनुहारसहितको फोटो, भिडिओ पठाउन भन्दै त्यो पनि नपठाए उसको नग्न तस्बिर र भिडिओ तत्काल सार्वजनिक गरिदिन्छु भनी धम्क्याएर भेट्न बोलाउने, भेट्न अस्वीकार गरे उसका नग्न भिडिओ अन्तर्राष्ट्रिय पोर्न साइटमा पठाइदिन्छु भन्दै निरन्तर युवतीलाई दबाब दिन्छन्। युवती झन्-झन् ट्र्यापमा पर्दै जान्छे र जे भने पनि गर्न तयार हुन्छे। यसरी किशोरीहरूलाई फन्दामा पारेर यौनशोषण गर्ने, मानसिक याताना दिने, डिप्रेसनको शिकार बनाउने, ठगी गर्ने सामाजिक सञ्जालका आमसञ्चार माध्यममा सक्रिय गिरोह नै रोमियो ट्र्यापर हुन्।
यो एउटा उदाहरण मात्र हो। फेसबुकमै चिनजान गरेर, मायाको नाटक गरेर वैदेशिक रोजगारीमा भएका युवकहरू, तिनका श्रीमतीहरू ठूलो धनराशी ठगीमा परेका पनि प्रशस्तै समाचारहरू आइरहन्छन्। यतिसम्म कि एक युवतीले एकजना ब्रिटिस आर्मी युवकलाई रोमियो ट्रयापमा फसाएर विवाह मण्डपबाटै सम्पूर्ण गरगहनासहित फरार भएकोजस्ता घटनाहरू पनि उत्तिकै सुनिएका छन्।
अनलाइन प्रिडेटर
च्याट रुम, इन्स्टाग्राम, म्यासेजिङ, सामाजिक सञ्जाल, भिडिओ गेम आदिको प्रयोग गरेर विशेष गरी साना स्कुले केटाकेटीलाई लक्षित गर्ने अनलाइन प्रिडेटरहरू बिगबिगी छन्। अनलाइनलाई माध्यम बनाएर चोरी, ठगी, यौनशोषण मानव बेचबिखन आदि अनलाइन प्रिडेटरहरूको व्यवसाय हो। यिनीहरूको मुख्य निशाना नै बालबालिका, किशोरकिशोरीहरू, युवायुवतीहरू हुन्।
कम आर्जन भएका विक्षिप्त झगडालु परिवारका बालबालिकाहरू यस्ता अनलाइन प्रिडेटरहरूका शिकार बनिरहेका छन्। उच्च जोखिममा भने अनलाइन कक्षाको प्रयोगसँगै बालबालिकाहरूको हातहातमा मोबाइल, ल्यापटप, ट्याब, कम्प्युटर आदिको पहुँचले गर्दा यस्ता अनलाइन प्रिडेटरहरू गाउँमा भन्दा सहरमा, विपन्नभन्दा पनि मध्यम र सम्पन्न परिवारका बालबालिका वा किशोर किशोरीहरूलाई रोमियो ट्र्यापमा फसाउन उद्धत छन्। अत: गाउँका भन्दा सहरका बालबालिका उच्च जोखिममा छन्।
के हुनसक्छ समाधान?
बालबालिका किशोर किशोरीहरूलाई ल्यापटप वा अन्य विद्युतीय सामग्री नदिनु, उनीहरूलाई इन्टरनेटको पहुँचबाट बञ्चित गराउनु यसको समाधान होइन। यसले उनीहरूमा मानसिक तनाव सृजना गर्छ। अहिलेको प्रविधिमैत्री युगमा प्रविधिबाटै वञ्चित गराउने कुरा उल्टो बाटो हो। अभिभावकहरूले सही तर सूक्ष्म र अहस्तक्षेपकारी निगरानी बढाउनुपर्छ। आवश्यक परेको खण्डमा धेरै होस पुर्याएर मात्र हस्तक्षेप गर्नुपर्छ।
आफ्ना छोराछोरीहरूको बानी व्यवहारमा अप्रत्यासित परिवर्तनजस्तै कम बोल्ने, कम खाने, झोक्राएर बस्ने, तर्सिने, रिसाउने, झर्किने, पढाइमा मन कम लगाउने जस्ता व्यवहारहरू पाइएमा उनीहरूलाई फकाएर, सम्झाएर, उनीहरूको समस्या पत्ता लगाउने गर्नुपर्छ। यस्ता व्यवहारहरूमा कमी आएन भने मनोचिकित्सकसँग, विद्यालयका शिक्षक शिक्षिकाहरूसँग परामर्श गरिहाल्नुपर्छ ताकि यस्ता अनलाइन शिकारीहरूबाट हुने ठूला क्षतिबाट आफ्ना नानीबाबुलाई जोगाउन सकिन्छ।
अहिलेका बालबालिकाहरू अत्यन्तै संवेदनशील हुन्छन्। साना-साना कुरामा पनि उनीहरू धेरै विक्षिप्त हुन्छन् र आत्महत्या जस्ता अप्रिय कदम उठाउँछन्। उनीहरूको संवेदनशीलतालाई नबुझ्दा यस्ता धेरै अप्रिय घटनाहरू भएका छन्। यसमा हामी सबैले धेरै होस पुर्याउनु पर्छ।
आमसञ्चार साक्षरता
यो अर्को समाधान हुनसक्छ। तपाईं दिनमा कतिसम्म आमसञ्चार प्रयोग गर्नुहुन्छ? एक अध्ययनका अनुसार अमेरिकामा एक वयस्कले दिनको १० घण्टा टिभी, रेडियो, इन्टरनेट, फोन, शैक्षिक सामग्री, मनोरञ्नात्मक सामग्री, फिल्म, पेन्टिङ, गीत-संगीत, कविता, भिडिओ गेम, पत्रिका, पोडकास्ट, इमेल, न्युजलेटर, क्यालेण्डर, ट्वीट, स्ट्रीट आर्ट, ब्रेकिङ न्युज, नोटिफिकेसन आदि आमसञ्चारको प्रयोग गरेर बिताउँछन्।
सुन्दा अचम्म लाग्न सक्छ। घर, अफिस, बाटो जताततै डिजिटल प्रविधि भएको ठाउँमा यो नौलो कुरा होइन किनकि तपाईं सपिङ मल जानुभयो। फूडस्टल र आइसक्रिम पार्लर जहाँ मानिसको भिड हुन्छ, त्यसकै अगाडि ठूलो डिजिटल होडिङ बोर्डमा विज्ञापन प्रसारित भइरहेको हुन्छ। तपाईंले नचाहेर पनि मिडियाको प्रयोग गरिरहनुभएको छ। हाम्रा बालबालिकाहरू पनि यस्ता आमसञ्चार माध्यमबाट अछुतो रहन सक्दैनन्। आम सञ्चार माध्यमहरूले सूचना, शिक्षा र मनोरञ्जन मात्र दिँदैनन्, हामीलाई धेरै भ्रमित पनि पारिरहेका हुन्छन्। अत: आमसञ्चार साक्षरता अत्यन्त जरुरी छ।
आमसञ्चार साक्षरता भन्नाले कस्ता समाचार, सूचना, अनलाइन सामग्रीहरू, आधिकारिक हुन्, कस्ता सामग्रीहरूले भ्रम सृजना गर्छन्, कस्ता सामग्रीहरू पढ्ने, कस्ता नपढ्ने सूचनाहरूको आधिकारिकता कसरी छुट्याउने भन्ने कुराको यथार्थ जानकारी राख्नु हो। युरोप अमेरिका लगायत विकसित मुलुकमा आमसञ्चार साक्षरता भनेर स्कुलमा पाठ्यक्रममै समावेश गरी सानै उमेरबाट बालबालिकाहरूलाई सुसूचित गरिन्छ।
नेपालजस्तो अल्पविकसित देश जहाँ डिजिटल आमसञ्चार पूर्ण रुपमा विकास भइनसकेको तर तीव्र विकास हुने चरणमा रहेकाले आमसञ्चार साक्षरता आजको टड्कारो आवश्यकता हो। अब हामीले हाम्रो पाठ्यक्रममा समावेश गर्न ढिला गर्नु हुँदैन। यसलाई प्राथमिकतामा राख्न अत्यन्तै जरुरी भइसकेको छ।
आमसञ्चार साक्षरता भन्ने विषय निर्धारण गर्न सकेमा रोमियो ट्र्याप र अनलाइन प्रिडेटरहरूबाट हामीले हाम्रा बालबालिका किशोर किशोरीहरूलाई बचाउन सकिन्छ अथवा आमसञ्चारबाट पैदा हुने खतराबाट धेरै हदसम्म जोगाउन सकिन्छ।