निद्राको मोह त्यागेर फेरि उही जीवनको व्यस्त दिनचर्यामा फर्किन मनमनै निधो गरें। परेलाहरूलाई केही हदसम्म छुट्टाउँदा आफ्नो अनुहार किताबमा अड्किएर अस्ताएको पाएँ। सिरानी भने गोडामुनि च्यापिएको। सायद यही हो, एक लोक सेवा परीक्षार्थीले बाँच्नुपर्ने संघर्षको जीवन।
लोक सेवातर्फको आकर्षण, मधेसीका लागि व्यवस्था गरिएको विशेष आरक्षणले गर्दा कदापि भएको होइन। एक रहरले गर्दा भएको हो। बाल्यकालमा छँदा आफू अखबारको पृष्ठ भागमा छापिएको र आफ्ना कामहरूले खुब प्रख्याति कमाएको कल्पना मात्रले मन गदगद भएर आउँथ्यो। बित्दै गरेको समयले आफूसँगै मेरो कल्पनालाई सपना र सपनालाई रहरको रूप दियो। अनि म पुगें काठमाडौं।
बिहानको नित्यकर्म सकाएर चिया पिउने तरखरमा बजारतिर लागें।
हरेक फरक फरक बिहानीसँगै चियाको चुस्की लिन एउटै ओडारमा पुग्थें। चन्देवश्वर चिया अड्डा। नाम मात्रले उनको पृष्ठभूमिको संकेत गर्थ्यो। तर किताबको आवरण मात्रले सिंगै किताब आंकलन गर्नु पनि उचित भएन।
चन्देश्वर दाइ हँसिलो अनुहार र एकदमै मिलनसार प्रवृत्तिका थिए।
तर क्रान्तिको झिल्को बेलाबेला बल्दै राख्थ्यो उनमा। प्राय उनी आफ्नो नामले पनि असन्तुष्ट नै देखिन्थे।
एक दिन ठट्टा गर्दै उनले भने, 'नाम चन्देश्वर भएर होला, मभन्दा दोब्बर उमेरकाले पनि 'भैया' भनेर बोलाउने गर्छन्। चन्देश्वरको सट्टा चन्द्रबहादुर राखिदिएको भए आज तिनै व्यक्तिहरूले 'दाइ' वा 'भाइ' भनेर सम्बोधन गर्ने थिए।
'म भने चुपचाप चियाको घुटसँगै उनको गुनासो पिउँदै गएँ।
सहमति जनाउन शिर भने हल्लाइ राखें। बडो गम्भीर मनोवादमा पुर्यायो उनको ठट्टाले मलाई।
साँच्चै हाम्रो पहिचान पनि लोक सेवामा सोधिने मल्टिपल च्वाइस प्रश्नजस्तै भयो। कि नेपाली भएर बाँच्न पाइने कि मधेसी भएर मात्र, दुबैलाई सँगै मिसाउने प्रयत्न गरेमा पहिचानको सर्टिफिकेट बाँड्ने समाजमाथि ठूलै आपत पर्न जान्छ।
चियाको तातोपन र क्रान्तिका कुराहरूले मस्तिष्कमा जडा गाड्दै गर्दा कक्षा ५ मा हुँदाको सम्झना भयो। कक्षाकोठामा नेपाली शिक्षकले ढाका टोपी मिलाउँदै प्रश्न गरे,
'यता आफूलाई नेपाली ठान्नेहरू एकचोटि हात उठाऊ त?'
म पनि बडो उत्साहका साथ हात माथि उचाल्दै गर्दा सम्झिएँ, 'म नेपाली नभएर एक मधेसी मात्र रहेछु।'
मनभित्र निराशाको भारी बोक्दै हात तल फर्काएँ। तर फेरि उही बेला मधेसी आन्दोलनले चर्को रूप लिइसकेको थियो। मभित्र पनि कतै न कतै 'म पनि एक नेपाली हुँ' भन्ने भावनाले स्थान ओगट्दै थियो।
म पनि त्यस बेला आफ्नो हात गर्वले ठड्याउन चाहन्थें तर मैले देखाउन चाहेको साहसले शिक्षकको मनोभावलाई आघात हुने हो कि भन्ने विचारले मलाई शून्य तुल्यायो। चुप लागेर शिक्षकलाई सुनिमात्र रहेँ।
शिक्षकले केहीछिन पश्चात मुस्कुराउँदै भने, 'अनि हात नउठाएकाले आफूलाई नेपाली किन नसम्झिएका होलान्? के आफ्नै पहिचान बोक्न पनि कसैको स्वीकृति चाहिने हुन्छ?'
थुप्रै तर्क-वितर्क पछि कुरा अन्त्य गर्दै भनें।
'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, बाढी आए तराईमा, पहाडले छेक्नुपर्छ,' शिक्षकको कुराले मन एकदमै खुसी भयो।
चियोको अन्तिम घुटसँगै विचारलाई बिराम दिएँ।
पैसा तिरेर आफ्नो कोठातिर लागेँ।
काठमाडौंको बसाइँ पनि ऋणकै भरमा भएर होला जुनै बेला पनि किताबका पानाहरूमा जागिर भेट्ने प्रबलता देख्थें।
साथीहरूको नाममा भने साहित्यका एक थान जति किताबहरू मात्र थिए। प्राय : फुर्सदको बेला तिनै किताबहरू सँगै बडो आत्मीयता गाँस्थें।
गाउँ भने जलेश्वर सदरमुकाम। बुवाको उदाउँदो बिहानीदेखि अस्ताउँदो साँझसम्म खेतमै बित्ने गर्छ। देशको मुख्य पेसा कृषि अंगालेका अनेकौं दुःखी किसानहरूमध्ये एक मेरा बुबा पनि हुन्।
बुवालाई जीवन धान्न गाह्रै पर्छ र त्यसमाथि पनि आफ्नो एक मात्र छोरालाई राजधानीमा जागिरे बन्ने सपना बोकाएर ऋण काढी पठाएको कुराले हरेक राति उनलाई नपिरोलेको पनि होइन।
उनी छरछिमेकमा सरकारी जागिरेहरूको बढ्दो रवाफ देखेर निकै लोभिन्छन्। जीवनभर हलो चलाएका मेरा बुवाले मलाई कार्यालयमा कलम चलाएको देख्न चाहन्छन्। म भने अखबारको अग्रभागमा मेरा कामहरूले स्थान ओगटेको हेर्न चाहन्छु ( मूलत : नेपाली भएर दर्ता हुन चाहन्छु)।
लोक सेवा तयारीमा निरन्तर लागिपरेको बेला समयले चाल फेरिसकेको पत्तै भएन। निकै दिन बितिसकेको थियो चन्देश्वर दाइ कहाँ चिया र बात मारेको।
'अनि बाबु आजकल म गरिबकहाँ देखिनै छोडेछौ? चियामा त्यो मिठास रहेन कि मेरा तर्कहरूले सार्थकता गुमाए?,' निकै बाठो तरिकाले मलाई देख्ने बितिक्कै आफ्नो प्रश्नको झटारोले प्रहार गरे।
'बोल्नमा यिनी यति चतुर छन् कि पत्रकारिता र वकालतको कला पनि यिनमा छरपस्ट देखिन्छन्', मनमनै हाँस्दै सोचें।
चियाको कप मेरो हातमा समाउन लगाउँदै उनले आफ्नो गुनासो र पीडाको सवारीलाई चाल दिन थाले।
'गाउँका सबै साथी विदेशी रोजगारको लोभमा पर्दा आफू भने क्रान्तिको वेगमा परियो। जे गरे पनि देशकै माटोमा आफ्नो भविष्य फलाउने एक निर्भर युवा बन्ने विचार राख्दथें। तर आफू उबेला खाडी धाएको भए राहदानीमा भए पनि नेपाली भएर स्वतन्त्र चिनिने थिएँ। आज मेरो चिया मभित्र छिट्टै विलीन भयो। समयको अभावलाई कदर गर्दै उनीसँग बिदा माग्दै गर्दा उनले आजको चियाको पैसा लिन अस्वीकार गर्दै भने,'बाबु भोलि मेरो जन्मदिन, अरू कोही भन्दा पनि मलाई बुझ्ने तिमी मात्र रहेछौ।हामीले भोगिरहेको पहिचानको पीडा पनि कतै न कतै एकनास नै देखिन्छ। भोलिको पहिलो चिया तिमीलाई खुवाएर सुरूआत गर्न चाहन्छु।'
भावुकताको वेगले मेरा शब्दहरूलाई अवकाश दिई मलाई निःशब्द बनाइसकेका थिए।
आफ्ना आँखीभौंलाई चिम्लिँदै गरेको आँखासँग झुकाइ उनलाई आश्वस्त गराएँ।
प्राय: म उनलाई इशारामै जवाफ फर्काउँथें तर ती हरेक इशारामा उनका निम्ति सम्मान पक्कै पनि हुन्थ्यो।
अर्को बिहानी उनको चिया पसल पुग्न तयार भएँ तर उनको विशेष दिनको लागि कोसेली ल्याउनै बिर्सें।
अर्को पल्टको भेटका लागि बाँकी राख्न सक्ने उपायले मलाई तत्काल पछुतोबाट बचायो। उनको पसल नजिक पुग्दै गर्दा कुनै गीत ठूलै स्वरमा बजिरहेको पाएँ। हिँड्दै जाँदा गीत अनुमान लगाउन खासै गाह्रो परेन।
गीत गोपाल योञ्जनको स्वर र शब्दमा रहेको थियो, 'म झुक्दै नझुक्ने नेपालको छोरो।' पछि त्यो गीत चन्देश्वर दाइकै पसलमा बजिरहेको पाएँ। आफ्नो जन्मदिनमा देश प्रेमकै गीत सुन्न मन पराएका रहेछन्।
म उनी नजिकैको बेन्चमा बसें।
आज केही फरक कुरा लागेर आयो। उनले नयाँ उमंग र पुरानै शैलीमा कपको तातोपन मेरो हातमा निष्ठापूर्वक जिम्मा लगाए।
'चन्देश्वर यादव नेपालीको पहिलो चियो तिम्रो निम्ति।', म 'नेपाली' शब्दको उच्चारणले एक क्षण गम्भीर भएँ।
उनको शब्दावलीमा प्राय: मधेसी शब्दको प्रयोग नै व्यापक थियो.
'नेपाली' भन्ने शब्दको अस्तित्व उनको वाक्यहरूमा रहर बोध गराउन मात्र रहन्थ्यो। कुराकुरैमा मेरो कटाक्ष मेरो अगाडि झुन्ड्याइएको उनको पसलको नाम बोक्ने ब्यानर माथि पर्यो।
पसलको नाम समेतले परिवर्तन चाखेको रहेछ (चन्देश्वर यादव चिया अड्डाबाट चन्देश्वर यादव 'नेपाली' चिया अड्डा)!
मसँग पनि यस्तै उत्तरको अपेक्षा राखेका होलान् मेरा नेपाली शिक्षकले।
साथीहरूमा कोहीले आफूलाई मगर नेपाली त कोहीले आफूलाई तामाङ नेपाली चिनाएको बेला मैले पनि आफू ठाकुर नेपाली भएको कुरा सर्वस्व उत्साह र गौरवसाथ भन्नुपर्ने थियो।
दाइलाई जन्मदिनको शुभकामना साथ उपहार अर्को भेटमा ल्याइदिने कुरा बताएँ।
उपहार ल्याइदिने आश्वासनले हो कि हाम्रो बढ्दो आत्मीयताले, दाइ साह्रै खुसी भए।
फेरि उनको पसललाई नियाल्दै गर्दा मैले उनले लगाएको श्वेत र अलि मलिन रंगको कुर्तालाई एकटक हेरिरहें। कुर्ताको भुँडीमा गाढा र हातले कोरिएका ठूला-ठूला प्रतिकारका अक्षरहरू लेखिएका थिए,'नाँट नेपाली? एनफ!'