नेपाल सरकारले २०७७ साल, चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गर्यो। साविकजसो दैनिकी बदलियो, मन्त्रालयमा कामको आधारमा उपस्थिति हुनेगरी कामकाज गर्ने निर्देशनअनुसार घरमा अनकलमा बसियो। घरमा बस्दा अध्ययन, समाचार अपडेट र त्रासपूर्ण दैनिकीमा समय बित्ने गर्थ्यो। सबै कामकाज कार्यशैली वर्क फ्रम होमको नीतिलाई अवलम्बन गर्नुको विकल्प रहेन हाम्रोसामु।
तर २०७७, चैत्र २७ गते अफिसबाट विभूषण सुशोभनको खबर आयो। स्थितिगत सूचना गर्नपर्यो। राष्ट्रपतिबाट राष्ट्र जीवनका महत्वपूर्ण व्यक्तिहरूलाई सुशोभित गर्ने कार्यक्रम २०७८, बैशाख १ गते तय गरिएको थियो। मन्त्रालयबाट फोन आएपछि सवारीचालक नजिकै नबस्ने र संक्रमण हुने डरले भाइले गाडी चलाएर हामी मन्त्रालय पुग्यौँ।
काठमाडौँको बाटो छिटफुट गाडी चलिरहेको, पारिजात लगायतका फूलहरू पेटीमा झरेर गलैँचा बिछ्याएजस्तो मनमोहक र सुनसान थियो। त्यस समयमा अदृश्य भाइरसले हामी सबलाई तह लगाएर एक्लै सहरमा सयर गरिरहेको अनुभूति भयो। अर्कोतिर प्रकृति अत्याधिक दोहन गरेपछि प्रकृतिले आफ्नो स्वच्छ स्वरुप पुन:स्वरुप लिँदै गएको जस्तो महसुस भयो।
विश्वभर स्वास्थ्य पद्धति राम्रा भएका र शक्ति राष्ट्र कोरोनाभाइरस सामु घुँडा टेकेर आत्मसमर्ण गरिरहेको अवस्थामा दिन प्रतिदिन मृत्यको खबरले फेरि एकचोटि माल्थसको जनसंख्या सम्बन्धी सिद्धान्तको मान्यताको पुष्टि हुँदैछ भन्ने लाग्यो।
संक्रमणबाट उच्च सावधानी अपनाउनु कुनै विकल्प थिएन। बाहिरबाट घर फर्किएपछि सबै लुगा फुकालेर जतिसुकै बेला नुहाएर र किनेर ल्याएको सामान सेनिटाइज गरेर मात्र प्रयोग गरिन्थ्यो। कोभिड- १९ बाट बच्न सावधानीका कुनै कसर नराखी दैनिक व्यवस्थित गर्ने गरिएको थियो।
मन्त्रालयमा एकजना समकक्षीले मेरो सजगता, सतर्कता र सावधानीपूर्ण शैली देखेर सबैको अगाडि अपरेशन थिएटरबाट आएको भन्न समेत भ्याए। यो कोरोना संक्रमणप्रति नजरअन्दाज र विभाजित बुझाइ स्वरुपको अभिव्यक्ति थियो।
२०७७, जेठमा गृह मन्त्रालयले जुम्लाको प्रमुख जिल्ला अधिकारी खटाइएको प्रशासनडटकमको खबर सामाजिक संजालबाट थाहा पाएँ। यसबीच जिल्लामा कोभिड महामारी बेला केन्द्रमा रहेर काम गर्ने कि जिल्लामा गएर फ्रन्टलाइन गएर सेवा गर्ने अन्तरद्वन्द्व मनमा चलिरहेको थियो।
केही जिल्लाबाट प्रमुख जिल्ला अधिकारीहरू धमाधम सरुवा माग्दै थिए। एक किसिमको त्रास अग्रपंक्तिमा काम गर्ने पदाधिकारी रहेको पाइयो। राष्ट्रसेवक कर्मचारी भएपछि राज्यले खटाएको बखत जस्तोसुकै परिस्थितिमा काम गर्ने आँट, साहस सेवाप्रति समर्पण र तत्परताले व्यवसायिक निष्ठाको सिद्ध गर्छ भन्ने निष्कर्षमा पुगेँ।
गृह जिल्लाको प्रमुख प्रशासक जिम्मेवारीले यस विषम् परिस्थतिमा मातृभूमि सेवा गर्नु विरलै प्राप्त हुने अवसरको रुपमा ग्रहण गरेँ। मन्त्रालयको निर्णयलाई शिरोउपर गर्दै आफूलाई यस कठिन घडीमा जिम्मेवारी निर्वाह गर्ने अठोट गरेँ। तर मेरो जिम्मेवारीमा दुःख मनाउने गर्नेहरू केही व्यक्तिहरूलाई ढाल बनाएर समाजिक संजालमा कुतर्क र पूर्वाग्रहको हतकण्ठा मचाउँदै थिए।
यो मानवीय स्वभावलाई त्यति वास्ता गरिएन। जागिरे सुविधा भोगी मात्र हुँदैनन्, राज्यले दिएको जिम्मेवारी कठिन परिस्थितिमा पूरा गर्ने क्षमता राख्छन् भन्ने कुरा प्रमाणित गर्न २०७७, जेठ १६ गते गृह मन्त्रालयबाट रमाना बुझी १८ गते जुम्ला कार्यक्षेत्र जाने भएँ। ।
बिहान करिब ४ बजेतिर हिँड्ने योजना बनाएँ। लकडाउन भएकाले दुई दिनको यात्रामा बाटोमा खाने-बस्ने ठाँउ उपलब्ध नहुने भएपछि रोटी बनाउन या पराठा बनाउने चक्करमा लागियो। लकडाउनले कक्षा ६ र ७ तिर हामीले पढेको पाकशिक्षा यतिबेला स्मरण गर्दै लकडाउनको अवधिमा विभिन्न परिकार बनाउने र समय बिताउने बहाना बनेको थियो।
भाइहरूले सिक्दै बनाउँदै गरी निकै समयपछि बाटोको लागि खाना मिल्ने गरी ५-७ पराठा तयार गरियो। अन्य सामानहरू अब लामो बसाइको लागि प्याकिङ गरियो। मनमा कुरा खेलिरह्यो। आफ्नो जन्म स्थानतिर यात्रामा पनि युद्धको मैदानतिर होमिन लागेको अनुभूति हुँदै थियो। एकातिर दुई वर्षसम्म भेटघाट नभएका बुवा-आमा र श्रीमतीसँगको मिलनलाई पनि मनमा खेलाउँदै मिश्रित अनुभूति साथ प्याकिङ सकियो।
कुनै ठाँउलाई छोड्दा मलाई त्यो माटो, वरिपरि वातावरणको माया र घनिष्ठताले धेरै सताउने गर्छ। मलाई सोही प्रवृत्ति यो पटक दोहोरियो, निद्रा परेन। घडी हेर्दा रातिको करिब ११ बजिसकेको थियो निद्रा नभए पनि बिहानै ४ बजे हिँड्नु पर्ने योजनाले सुत्न दबाब सिर्जना भयो।
करिब ४ बजेतिर सवारी चालकलाई गाडीमा समान हाली बुढानिलकण्ठबाट हामी अगाडि बढ्यौँ। काठमाडौँ कोराना कहरले सहरमा सन्नाटा छाएकै थियो। बिहानको मिर्मिरे खाली-खाली सडकमा यात्रा अगाडि बढ्यो। थानकोट प्रहरी चेकपोष्ट पुगेपछि प्रहरीले हाम्रो गाडी रोक्यो, मैले मन्त्रालयबाट जिल्ला बाहिर जाने पास देखाएँ तर उनीलाई विश्वास लागेन। सवारी पास नम्बर जारी भएको पास खोजे।
सवारी चालक जितेन्द्रले देखाएपछि गाडी अगाडि जाने अनुमति दिए। एकाबिहानै प्रहरीले आफ्नो तोकिएको जिम्मेवारीप्रति निकै संवेदनशील भएर निर्वाह गरेको मलाई महसुस भयो। हामी सबै सार्वजानिक जिम्मेवारी पदमा बस्नेले यसरी नै जिम्मेवारी पूरा गरी जनताको जीउधनको सुरक्षामा लाग्नु पर्ने अनुभूति भयो।
सधैँ यात्रामा निस्कँदा देखिने मलेखु र कुरिनाटर चहलपहल यो बेला खण्डहर उजाडिएको वस्ती जहाँ ठूलो विपत्ति परेजस्तो देखियो। कता-कता नरमाइलो अनुभूति भयो।
'आउनुस् आउनुस् हजुर, ल मलेखुको माछा हजुर' भन्ने होटले दाइको बोलावटको आवाज यो पटक सुन्न पाइएन। कुरिनटारबाट अलिकति अगाडि बढेपछि भिषण वर्षा र कुहिरो लाग्यो। म जुन जिम्मेवारी निर्वाह गर्न जाँदैछु त्यति सहज छैन जसरी भिषण पानी र कुहिरोले हाम्रो यात्रा असहज र कठिन छ।
करिब १२ बजेतिर चितवन पुगियो। खाना खान होटल भेटिने कुरा भएन, सवारी चालकको आफन्तको घरमा खाना खाने निधो भयो। सवारी चालकका आफन्तले देखाएको आतिथ्यता र सत्कारले नेपाली समाजको सामाजिक पुँजीको रुपमा रहेको 'अतिथिति देव भवः' को संस्कार झल्कायो।
यात्रा अगाडि बढ्दै थियो, बीच-बीचमा गृह जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका पाएकोमा शुभकामना आइरहन्थ्यो। गृह जिल्ला भएको नाताले परिचितहरूले लकडाउन कारण औषधि अभाव भएकाले डाइबेटिजको सिरिन्ज ल्याइदिनु पर्यो, सकिएर गाह्रो भएको छ भन्नुभयो। मलाई लाग्यो बन्दाबन्दीले सबैभन्दा बढी दीर्घरोगीलाई प्रभाव पार्दो रहेछ।
जिल्लामा आफ्नो भूमिका सम्हालेपछि विशेष रुपमा दीर्घरोगी र बिरामीको लागि सेवा र सहजीकरणमा प्राथमिकतामा राखी ससेवा पुर्याउनु पर्ने महसुस भयो। पश्चिमको त्यस्तो चहलपहल हुने बजार शून्यप्रायः थियो। बजारमा निस्केका मानिसहरूमा एक किसमको त्रास देखिन्थ्यो। २/४ वटा पसल चाहरेपछि एउटा पसलमा औषधि किनेर यात्रा पुनः अगाडि बढ्यो। औषधि पसलले त्यो सिरन्ज गुणस्तर कायम गर्न फ्रीजमा राखेको पानीसहित औषधि प्याकिङ गरेपछि उसको व्यवसायिकता प्रतिको संवेदनशीलताले मलाई छोयो।
साँझ करिब ७:३० बजेतिर पुगियो जुम्ला पुगियो। आफन्तको घरमा बास लिनु विकल्प भएन। विषम् परिस्थतिमा बिना संकोच देखाउनु भएको प्रेम, माया र ममता र कर्तव्यनिष्ठताको सदैव ऋणी भएको महसुस भयो।
जुम्ला जिल्ला प्रवेशपछि दुई वर्षपछि भेट नभएका आमाबुवा र करिब ७ वर्षदेखि भाइटीका लगाउन नपाएका दिदी-बहिनीसँग भेट हुने अपेक्षाले मेरो मन हर्षित भएको थियो।
हाल तातोपानी गाउँपालिकाको लाम्रा नजिक जिल्लास्थित सुरक्षाकर्मी प्रमुख तत्कालीन डिएसपीद्वय लालबहादुर धामी र गगन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद देवकोटाले स्वागत गर्नुभयो। न्यानो स्वागतको मालाले जिल्ला प्रमुख जिम्मेवारी मेरो काँधमा थपिएको महसुस भयो। चन्दननाथ नगरपालिका प्रवेशपछि बुवाको स्वागतको फूलमालाले कुल सन्तानको इज्जतको लागि थप ऐतिहासिक काम गर्नुपर्ने दायित्व बोध गरायो।
जिल्लाबासीको स्वागतमा उनीहरूको अपेक्षा चुलिएको अनुभूति भइरह्यो। जिल्ला बाहिरबाट आएपछि संक्रमण हुने आशंका हुने भएकोले पिसिआरपछि काम सुरु गर्ने निधो गरियो। नेतृत्वदायी व्यक्तिबाट स्वास्थ्य प्रोटोकल पालना गर्दा जनतामा सकारात्मक सन्देश फैलिने मूल्य-मान्यता साथ निर्णय गरेँ। औपचारिक रुपमा पिसिआर रिपोर्ट नेगटिभ आएपछि मात्र काम सुचारु गरेँ।
जिल्लाको प्रमुख प्रशासकको हैसियतले निष्पक्षता कायम, जनतालाई न्याय दिलाउने र स्थानीय प्रशासकले जनमुखी सेवा प्रवाह, शान्ति सुव्यवस्था कायम गर्दै सुशासन अनुभूति दिलाउनु मेरा अगाडि चुनौतीको रुपमा रहे। जुम्लामा लकडाउन कार्यान्वयन नभएको मान्छे भिडभाड भएको जनगुनासो, विपद व्यवस्थापन समिति उठेका राय समेतलाई विचार गरी २०७७, जेठ २० गते राति १२ बजेबाट लागु हुने निषेधाज्ञा जारी गर्नुपर्यो।
निषेधाज्ञा एउटा स्वस्थ प्रशासनको कदम मानिँदैन थियो तथापि जिल्लाबासीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन गरिएको आपतकालीन कदम थियो। हाजिर भएको चौबीस घण्टा नबित्दै संक्रमितलाई क्वारेन्टाइन अलग गरी आइसोलेसन स्थान्तरणमा भएको विलम्बले आलोचना खेप्नुपर्यो। सोही दिन आफै राति १० बजेसम्म फिल्ड खटिएर व्यवस्थापन गर्ने काम गरियो।
त्यो आलोचना सबैले प्रशासनको काम कारबाहीमा बढ्दो अपेक्षा स्वरुप थियो। गृह मन्त्रालयले यस कठिन परिस्थितिमा सुम्पिएको गहन जिम्मेवारीलाई कुशलता निर्वाह गर्न गृह जिल्लामा सेवा गर्ने अवसरलाई कुनै पनि हालतमा खेर फाल्नु हुँदैन भन्ने हेतुले राज्यलाई संकट परेको बेला सँच्चा राष्ट्रसेवक भूमिका सिद्ध गर्न काँधमा जिम्मेवारी, मस्तिष्कमा समझदारी र हृदयमा इमान्दारी बोकी अहोरात्र खट्नु अहिलेको आवश्यकता हो भन्ने अठोट गरी अगाडि बढ्ने निधो गरेँ।
सबै सरोकारवालाहरू स्थानीय तह, नागरिक समाज र सुरक्षाकर्मी समन्वयसँग स्थिति आकलन रोकथाम र अनुगमन तथा व्यवस्थापन गतिविधि सघन रुपमा अगाडि बढाइयो। जुम्लाको संयुक्त परिवार प्रणाली र सामूहिक कार्यशैली कोरोना रोकथाम प्रोटकोल लागु गर्न जनचेनतना कार्यक्रम संचालन तथा कानुनी कारबाही समेत गर्नु पर्यो।
कडा सुरक्षा शैली र निगरानी कारण जुम्ला जिल्लाले पहिलो लहरमा कुनै व्यक्ति महामारीमा गुमाउन परेन। त्यसमा कोरोना रोकथाममा स्थानीय तहको क्वारेन्टाइन व्यवस्थापनमा देखाएको सक्रियता नै थियो। संघीय प्रणालीमा स्थानीय तहको औचित्य स्थापित भएको थियो।
दिनरात अग्रपंक्तिमा रहेर काम गर्दा म पनि संक्रमित हुन पुगेँ। दैनिक कार्यसूचीमा क्वारेन्टाइन अनुगमनमा जानु थियो। डाक्टर मंगल रावल फोन गरेर मेरो पोजेटिभ रिपोर्टबारे जानकारी दिनुभयो। म छाँगाबाट खसेजस्तै भएँ। मन एक किसिमको शून्यताको भाव अनुभूति भयो। एक किसिमको चिट्चिटाहपन भयो। आफूलाई सम्हालेँ र आफ्नो जिम्मेवारीलाई सम्झिएँ।
कोरोना संक्रमण हुने पहिलो प्रमुख जिल्ला अधिकारी म थिएँ। एक्कासी मनमा मन्त्रालयमा सचिवलाई जानकारी दिनुपर्छ भन्ने चेत आयो। सदा झैँ पिसिओले उठाउने फोन त्यो दिन सचिवज्यूले आफैले उठाउनु भयो। उहाँलाई जानकारी दिएँ। उहाँले, 'ल क्वाटरमा बस्नुस्' भनेर फोन राख्नुभयो। यस अवधिमा गृह परिवारबाट एउटा सदस्यलाई सहानुभूति शब्द खर्चिन कन्जुस्याइँ भयो। त्यतिबेला हाम्रो कर्मचारीतन्त्र निर्दयी संयन्त्र रहेछ भन्ने अनुभूति भयो।
कोरोनाको दोस्रो लहरमा जिल्लामा व्यवस्थापन स्वरुप भिन्न गर्नुपर्ने भयो। आइसोलेसन बेड र अक्सिजन प्लान्ट र एन्टिजन टेस्टलगायत व्यवस्थापकीय कुरा जोड दिनुपर्ने भयो। पहिलो लहरमा जस्तो स्थानीय तह सक्रियता देखिएन, बजेट अभाव समस्या देखाए। आइसोलेसन विस्तार र टेस्टको लागि डिसिएमसी रात अहोरात्र खटिनु पर्यो।
तत्कालीन सुरक्षाकर्मी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सक्रियता निकै सराहनीय रह्यो। समुदाय आफै नजागेसम्म सरकारी प्रयास केवल नतिजामुखी नहुने कुरा महसुस भयो। अब पनि यो सिकाइमा समुदाय सहभागिता र सजगता कदापि बिर्सन मिल्दैन। कठिन महामारी साझा प्रयासको सट्टा समुदायको अवरोधले बेलाबेला निराश बनायो।
तेस्रो लहरमा दिन प्रतिदिन संक्रमण दर बढ्दै छ। खोप कार्यक्रमलाई अनिवार्य रुपमा सरकारले अगाडि बढाउने, कोराना नियन्त्रण शैली आदेशात्मकभन्दा सहभागितमूलक र आम जनसमुदायले जनस्वास्थ्य र सुरक्षा मापदण्डलाई आत्मअनुशासन रुपमा परिपालना गर्न अत्यावश्यक छ।
नेपालमा कोरोना नियन्त्रणको प्रमुख चुनौती यस प्रतिको विभाजित बुझाइ नै हो। महामारीसँग मुकाबिला गरी लड्न कुनै एक निकाय र सरकारको एकल प्रयासले सम्भव देखिँदैन। सबै सरोकारवालाहरूको साझा प्रयास र समन्वयबाट मात्र कोरोना विरुद्धको सकसपूर्ण लडाइँबाट जित हासिल गर्न सकिनेमा आशावादी हुन सकिन्छ।
(लेखक प्रदेश लोक सेवा आयोग कर्णाली, सुर्खेतका प्रदेश सचिव हुन्।)