काठमाडौंमा कमजोर रहेको नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्दै १० मध्ये ३ प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवारी दिएको छ।
माओवादीले काठमाडौं क्षेत्र नम्बर २, ७ र ९ मा उम्मेदवारी दिएको छ। क्षेत्र नम्बर २ मा पूर्वसभामुखसमेत रहेकी नेता ओनसरी घर्ती, क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराई र ९ मा कल्पना धमला उम्मेदवार छिन्।
यी तीनै क्षेत्रमा कांग्रेस, एमालेको तुलनामा माओवादी केन्द्रको नगन्य मत छ। माओवादी केन्द्रका उम्मेदवारहरूले जित्न कांग्रेसको ९०-१०० प्रतिशत मत नै उनीहरूलाई जानुपर्छ। कांग्रेस-माओवादीबीच स्थानीय चुनावमा भएको मत ट्रान्फर हेर्दा यो धेरै चुनौतीपूर्ण छ।
यीमध्ये मानुषी बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको नेता हुन्। समाजवादी पार्टीले माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो।
२०७४ सालमा भएको चुनावमा क्षेत्र नम्बर २ मा तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपाल निर्वाचित भएका थिए। नेपाल अहिले एकीकृत समाजवादीका अध्यक्ष छन्। उनी रौतहटबाट चुनाव लड्न गएपछि यहाँ माओवादीकी नेता ओनसरीलाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर ७ मा यसअघि नेकपा एमालेका नेता रामवीर मानन्धरले चुनाव जितेका थिए। एमालेले टिकट नदिएपछि रामवीर अहिले यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन्। यो क्षेत्रमा एमालेले श्याम घिमिरेलाई टिकट दिएको थियो।
यस्तै काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले २०७४ मा चुनाव जितेका थिए। यो क्षेत्रमा एमालेबाट यसपालि पनि कृष्णगोपाल नै उम्मेदवार छन्।
पाँच वर्षअघि नेकपा एमालेका उम्मेदवारहरूले जितेका यी क्षेत्रमा अहिले सत्ता गठबन्धनले माओवादीबाट उम्मेदवार उठाएको छ। २०७४ मा एमाले-माओवादी तालमेल गरी वामगठबन्धनबाट उम्मेदवारी दिँदा काठमाडौंका १० मध्ये ६ क्षेत्र एमालेले जितेको थियो, बाँकी ४ क्षेत्र कांग्रेसले जितेको थियो। त्यसबेला माओवादीका भागमा परेका क्षेत्र नम्बर १, ६ र १० तीनवटैमा पराजित भएको थियो भने ४ मा गठबन्धन गरे पनि एमाले उम्मेदवार पराजित भएका थिए।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने काठमाडौंमा नेपाली कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत निकै कम छ। यी दुई पार्टीकै हाराहारीमा राप्रपासमेत छ भने उसले कतिपय क्षेत्रमा यी दुई पार्टीलाई जितेको छ।
स्थानीय निर्वाचनमा काठमाडौंका १० क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लेषण गर्दा नेपाली कांग्रेस एक्लै ७ स्थानमा बलियो देखिएको छ। उसले १, ३, ६, ७, ८, ९ र १० मा एमालेलाई पछि पारेको छ। क्षेत्र नम्बर २, ४ र ५ मा एमाले अगाडि छ।
माओवादीकी नेता ओनसरी घर्तीले उम्मेदवारी दिएको काठमाडौं क्षेत्र नम्बर २ मा स्थानीय चुनावको मत हेर्दा एमाले अगाडि छ। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ।
स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय २८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ। यति कम मत ल्याएको माओवादीले क्षेत्र नम्बर २ मा ओनसरीलाई अगाडि सारेको छ।
यो क्षेत्रमा २०७४ मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए। यसपालि काठमाडौं २ मा एमालेबाट मणिराम फुयालले टिकट पाएका छन्।
माओवादीबाट मानुषी यमी भट्टराईले टिकट पाएको काठमाडौं ७ मा पनि कांग्रेसको मत धेरै थियो।
स्थानीय तहमा यस क्षेत्रका वडाहरूको मत जोड्दा कांग्रेसले १४ हजार १ सय ६७ मत पाएको छ।
नेकपा एमालेले १२ हजार २ सय २ मत ल्याएको छ। तेस्रोमा रहेको एकीकृत समाजवादीले ३ हजार ८ सय ३९ मत ल्याएको छ। राप्रपाले २ हजार २७ र माओवादी केन्द्रले ५ सय ७६ मत ल्याएको छ।
यो क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर १६, १७, १८ र २५ नम्बर वडा पर्छन्। नागार्जुन नगरपालिकाको १,२ र ३ नम्बर वडा पर्छन्। त्यस्तै तारकेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ५ पर्छन्।
यो क्षेत्रमा २०७४ मा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनले १८ हजार १ सय २ मत ल्याउँदा राप्रपा उम्मेदवार विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए। त्यसबेला यो क्षेत्रमा कांग्रेसले राप्रपालाई सघाएको थियो।
माओवादीबाट कल्पना धमलाले उम्मेदवारी दर्ता गरेको काठमाडौं क्षेत्र नम्बर ९ मा पनि कांग्रेस नै अगाडि थियो।
स्थानीय तहमा पर्ने वडाहरूमा कांग्रेसले १९ हजार ९ सय १६ मत ल्याएको छ भने एमालेले १९ हजार २ सय ८२ ल्याएको छ। राप्रपाले २ हजार २ सय १ मत छ। माओवादी केन्द्रले ६ सय ९५ र नेकपा एकीकृत समाजवादीले ४ सय ६५ मत ल्याएका थिए।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नम्बर वडा पर्छन् भने चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १, १२, १३, १४ र १५ पर्छ। साथै नागार्जुन नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र १० पर्छन्। यो क्षेत्रमा २०७४ मा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याएका थिए। कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए।
गत वैशाखमा भएको स्थानीय चुनावमा काठमाडौं १० मा बाहेक अन्य क्षेत्रमा माओवादीले दुई हजार मत कटाएको थिएन। त्यसकारण माओवादीका यी उम्मेदवारलाई चुनाव चुनौतीपूर्ण छ।