बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जनाले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ २ र प्रदेश सभा प्रत्यक्षतर्फ ४ गरी समाजवादीका ६ जनाले उम्मेदवारी दिएका हुन्।
समाजवादीका अध्यक्ष महिन्द्र राय यादव सर्लाही २ बाट उम्मेदवार भएका छन्। यस्तै समाजवादी नेता मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उम्मेदवार छिन्। उनीहरू सत्ता गठबन्धनबाटै उम्मेदवार छन्।
यस्तै प्रदेश सभातर्फ नेता गंगानारायण श्रेष्ठ सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट फणिन्द्र देवकोटा उम्मेदवार छन्।
नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेश सभा (क) बाट चिनक कुर्मी, सर्लाही २ को प्रदेश (क) बाट सुनिल साहले उम्मेदवारी दिएका छन्।
माओवादीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पनि समाजवादीका ५ जनाको नाम समावेश गरेको छ।