गोरखामा उम्मेदवारी दर्ता गराएकामध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
गोरखाको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीले आज उम्मेदवारी फिर्ता लिएकी छन्।
उनी नेपाली कांग्रेसनिकट हुन्। गोरखा २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्।
गोरखाको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दिएका नेपाल समाजवादी पार्टीका नेता तथा गण्डकी प्रदेशका ऊर्जा मन्त्री हरिशरण आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी गोरखा कार्यसमितिले बागी उम्मेदवारी फिर्ता लिन मंगलबार आग्रह गर्दै विज्ञप्ति निकालेको थियो। आचार्य तत्कालीन नयाँ शक्तिबाट २०७४ मा यो प्रदेश सभा क्षेत्रबाट निर्वाचित भएका थिए।
यस्तै यही क्षेत्रमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता जुद्धविलास भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। एकीकृत समाजवादीले पनि बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो।
यही क्षेत्रमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बेलबहादुर बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दिएका कांग्रेसका पूर्णबहादुर दाहालले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यो क्षेत्रमा कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने सत्ता गठबन्धनबाट उम्मेदवार छन्।
यो प्रदेश सभा क्षेत्रमा एकीकृत समाजवादीका टेकराज भट्ट र माओवादी केन्द्रका राजकुमार ढकालले पनि गत असोज २३ गते उम्मेदवारी दिएका थिए। उनीहरूले पनि उम्मेदवारी फिर्ता लिएको गोरखास्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन चाहे फिर्ता लिन समय दिइएको थियो।