मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि दलहरू मुख्य गरी दुई गठबन्धन बनाएर चुनावमा होमिएपछि मधेश प्रदेश ४ वटा क्षेत्रमा प्रमुख तीन दलमध्ये कसैको पनि उम्मेदवारी छैन।
यी चार क्षेत्रमा जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच मुख्य प्रतिसपर्धा हुदैछ।
सप्तरी-२, महोत्तरी-३, सर्लाही-१ र पर्सा-१ मा जसपा र लोसपा मुख्य प्रतिस्पर्धी हुन्।
गठबन्धनका कारण यी क्षेत्रमा नेपाली काग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कोही पनि उम्मेदवार छैनन्।
कांग्रेसको नेतृत्वमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा एकातिर छन् भने अर्कोतिर एमाले र जसपा छन्।
गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा हुँदा यी क्षेत्रमा जसपा र लोसपा मुख्य प्रतिस्पर्धी बनेका हुन्।
सप्तरी-२ मा जसपाका उपेन्द्र यादव उम्मेदवार छन् भने लोसपाका जयप्रकाश ठाकुर उमेदवार छन्। यादवले यो क्षेत्रबाट २०७४ मा निर्वाचन जितेका थिए।
महोत्तरी-३ मा लोसपाका महन्थ ठाकुर उम्मेदवार बनेका छन् भने जसपाका हरिनारायण यादव उम्मेदवार बनेका छन्। ठाकुर गत निर्वाचनमा यहाँबाट विजयी भएका थिए।
त्यस्तै सर्लाही-१ मा जसपाका प्रमोद साह उम्मेदवार छन् भने लोसपाका रामप्रकाश चौधरी छन्। साहले २०७४ मा यो क्षेत्रबाट निर्वाचन जितेका थिए। पर्सा-१ मा पनि जसपा र लोसपाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। जसपाबाट २०७४ मा निर्वाचित सांसद एवं वन मन्त्री प्रदीप यादव प्रतिस्पर्धामा छन् भने लोसपाबाट लक्ष्मणलाल कर्ण रहेका छन्। कर्णले २०७४ मा पर्सा क्षेत्र नं ४ बाट निर्वाचन जितेका थिए।
एमाले जसपा गठबन्धनका तर्फबाट जसपाका यादव उम्मेदवार हुन भने सत्ता गठबन्धनका तर्फबाट लोसपाका कर्ण उमेदवार बनेका हुन्।