आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ बुधबार ३७६ जनाको उम्मेदवारी फिर्ता भएको छ।
निर्वाचन आयोगले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार प्रतिनिधि सभा तर्फ ११९ र प्रदेश सभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
योसँगै अब प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ जम्मा ५ हजार ६ सय ३६ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।
जसमध्ये प्रतिनिधि सभातर्फ कुल २ हजार ४ सय १२ जना छन्। यी उम्मेदवारहरूमा पुरुषहरू २ हजार १ सय ८७ जना छन् भने महिलाहरू २ सय २५ जना छन्।
आयोगका अनुसार प्रदेश सभातर्फ कुल ३ हजार २ सय २४ जना उम्मेदवार छन्। यसमा पुरुषहरू २ हजार ९ सय ४३ जना, महिला २ सय ८० जना र एक जना अन्य (तेस्रो लिंगी) छन्।