२०४८ सालदेखि अहिलेसम्म संसदीय ६ वटा निर्वाचन भए। आगामी मंसिर ४ गते बहुदल पुनर्स्थापना पछिको सातौं निर्वाचन हुँदैछ। यो चुनावमा केही नेता यस्ता छन्, जो सातौं पटक उम्मेदवार बनेका छन्।
सातै पटक उम्मेदवार बन्नेहरूमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता विजयकुमार गच्छदार र कांग्रेसकै रामचन्द्र पौडेल छन्। त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि सातौं पटक चुनावी मैदानमा छन्।
कांग्रेसका देउवा र गच्छदारले अहिलेसम्मका सबै निर्वाचन जितेका छन्। देउवाले डडेल्धुराबाट ६ पटक निर्वाचन जितिसकेका छन्। उनी अहिले सातौं पटक प्रतिस्पर्धामा छन्।
गच्छदारले पनि अहिलेसम्मका सबै निर्वाचन जितेका छन्। उनले २०४८, ०५१ र ०५६ को निर्वाचन जितेका थिए। २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी भएका थिए। २०७० मा कांग्रेसबाट विजयी भएका गच्छदार अहिले पनि उम्मेदवार बन्दैछन्। भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका गच्छदारको अहिले पनि विशेष अदालतमा मुद्दा विचाराधीन छ।
कांग्रेसका रामचन्द्र पौडेलले २०४८ सालयता २०७४ बाहेकका सबै निर्वाचन जितेका छन्। उनी अहिले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका झलनाथ खनाल पनि ०४८ यताका सबै चुनावमा लगातार उम्मेदवार बनेका छन्। २०६४ बाहेकका सबै निर्वाचनमा ओली झापाबाट विजयी भएका छन्। उनी यस पटक पनि झापा-५ बाटै चुनावी मैदानमा होमिएका छन्।
झलनाथ खनाल इलामबाट २०४८ सालयता भएका सबै निर्वाचनमा उम्मेदवार बनेका छन्। उनले २०५६ को बाहेक सबै निर्वाचन जितेका छन्।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नवलपरासीबाट २०४८ यताका सबै निर्वाचन लडेका छन्। उनले २०७० बाहेकका सबै निर्वाचन जितेका छन्। २०४८ देखि २०५६ सम्मका ३ निर्वाचन नेपाल सद्भावना पार्टीबाट जितेका त्रिपाठीले २०६४ को निर्वाचन तमोलपाबाट जितेका थिए। २०७० को निर्वाचन तमोलपाबाटै हारेका त्रिपाठीले २०७४ पश्चिम नवलपरासीबाट सूर्य चिन्ह लिएर लडेका थिए।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले २०४८ यताका ४ निर्वाचन जितेका छन् भने २ निर्वाचन हारेका छन्। २०४८ देखि २०५६ सम्मका तीन निर्वाचन कांग्रेसबाट जितेका ठाकुरले २०६४ र २०७०को निर्वाचनमा तमलोपाबाट पराजित भए।
२०७०मा महोत्तरी क्षेत्र नं ३ बाट विजयी भएका ठाकुर यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। २०७४ मा राजपाबाट जितेका ठाकुर यसपटक लोसपाको उम्मेदवार बन्दैछन्।
कांग्रेसका नेता कृष्ण सिटौला झापाबाट उम्मेदवार बनेका छन्। २०४८मा पहिलो पटक उम्मेदवार बनेका सिटौला २०५० को उपनिर्वाचनमा पनि लडे। २०५० को उपनिर्वाचनसहित यो उनको आठौं निर्वाचन हो। अहिलेसम्म उनले ३ चुनाव जितेका छन् भने ४ निर्वाचन हारेका छन्।
२०५० को उपनिर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका एमाले नेता कृष्णगोपाल श्रेष्ठ पनि त्यसपछिका सबै निर्वाचनमा सहभागी भएका छन्। २०५६, ०६४, ०७० र २०७१ को उपनिर्वाचनसहित चार वटा निर्वाचनमा पराजित श्रेष्ठ २०५०, ०५१ र ०५६ मा विजयी भएका थिए।
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ लमजुङबाट सधैँ उम्मेदवार बनेका छन्। २०७४ मा प्रदेश सभाको उम्मेदवार बनेका गुरूङ यसपटक भने संघीय संसदको उम्मेदवार बन्दैछन्। उनले २०६४ मा संविधान सभाको निर्वाचन जितेका थिए भने २०७४ मा गण्डकी प्रदेशको निर्वाचन जितेका थिए। त्यसबाहेकका अरू निर्वाचन भने उनले हारेका छन्।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले २०४८ सालयताका ५ निर्वाचन जितेका छन्। २०६४ मा पहिलो संविधान सभा निर्वाचन हारेका पाण्डेले २०७४ मा बागमती प्रदेश सभाको चुनाव जितेका थिए।