सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग तालेमल गरेका जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवका लागि सप्तरीमा चुनाव जित्न सकसपूर्ण देखिएको छ। यादव मंसिर ४ गते हुने निर्वाचनका लागि सप्तरी-२ बाट प्रतिस्पर्धा गर्दैछन्।
यादवसँग सत्ता गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर र पहिलो पटक निर्वाचनमा भाग लिएको जनमत पार्टीका सिके राउत प्रतिस्पर्धामा छन्।
यादवका लागि यो निर्वाचन तीन कारणले सकसपूर्ण देखिएको छ।
पहिलो, स्थानीय चुनावमा दलहरूले वडागत रूपमा प्राप्त गरेको नतिजा अनुसार सप्तरी-२ जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि परेको अवस्थामा छ। सप्तरी २ मा सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले र जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत छ। मत हिसाबले एमालेसँग मिलेर गठबन्धन गर्नु उपेन्द्रका लागि घाटाको विषय देखिन्छ।
दोस्रो, सप्तरी-२ का मतदाताले उपेन्द्र यादवको विकल्पका रूपमा सिके राउत पाएका छन्।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने राउतको पार्टीको सप्तरी २ मा गतिलो प्रभाव छैन। जनमत पार्टीले ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ। पहिलो पटक चुनाव लड्न लागेका राउतले बनाएको बुद्धिजीवीको पहिचानले भने यादवलाई सकस पार्ने देखिन्छ।
अमेरिकामा पढेलेखेका राउत मधेशलाई छुट्टै देश बनाउने अभियानबाट पछि हटेर पहिलोपटक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा छन्। राउतले बनाएको व्यक्तित्वसँग यादवले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
तेस्रो, सप्तरीको यो निर्वाचन क्षेत्र लोसपाबाट यसपटक उम्मेदवार बनेका जयप्रकाश ठाकुरको प्रभाव क्षेत्र हो। २०७४ को निर्वाचनमा राजपाले टिकट नदिँदा स्वतन्त्र उठेरै ठाकुरले ९ हजार मत कटाएका थिए। व्यक्तिगत मत राम्रो भएका ठाकुरलाई यसपटक गठबन्धनको साथ छ। त्यसैले यादवका लागि ठाकुरसँगको प्रतिस्पर्धा चानचुने हुने छैन।
सकसका बाबजुद यो निर्वाचनमा उपेन्द्र यादवका लागि केही सहज पक्षमा पनि छन्। यादवले यो क्षेत्रबाट २०७४ सालमा निर्वाचन जितेका कारण उनलाई यो ठाउँ नौलो छैन। त्यस्तै मधेश आन्दोलनको रापतापमा बनेको उनको व्यक्तित्वको मत पनि उनले प्राप्त गर्नेछन्। त्यस्तै २०६४ साल यता लगातार राजनीतिको केन्द्रमा रहेका यादव चुनावी राजनीतिका पनि खेलाडी हुन्।
तर, २०६४ सालयता सप्तरी-२ बाट कुनै पनि उम्मेदवारले दोहोर्याएर निर्वाचन नजितेका कारण यादवका लागि चुनौती धेरै देखिन्छन्।
२०६४ सालमामा सद्भावना पार्टीका महेश यादव निर्वाचित भएको यो क्षेत्रबाट २०७० सालमा माओवादी केन्द्रका उमेश यादव विजयी भएका थिए। २०६४ सालका उम्मेदवार २०७० सालमा नराम्ररी पराजित भएका थिए।
त्यस्तै, २०७४ सालमा उपेन्द्र यादव विजयी बन्दा माओवादीका २०७० का उम्मेदवार उमेश यादव पराजित हुन पुगेका थिए।
दोहोर्याए निर्वाचन उठेका उपेन्द्रका लागि भने सप्तरी-२ का मतदाताले मत देलान्/नदेलान् त्यो भने हेर्न बाँकी छ।
हेर्नुहोस् भिडिओ: