नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन कमिटीको नेतृत्व खिमलाल भट्टराईलाई नै दिएको छ।
पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैंडहवामा बसेको अगुवा कार्यकर्ता भेलाले पार्टीका पोलिटब्यूरो सदस्य रहेका भट्टराईलाई संयोजक तोक्दै सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्न खोज्दा राष्ट्रियसभा सदस्य पद समेत गुमाएका भट्टराईलाई एमालेले निर्वाचन परिचालनको 'भारी' बोकाइदिएको हो।
६ वर्षका लागि २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेका भट्टराई राष्ट्रिय सभामा डेढ वर्ष कार्यकाल बाँकी रहे पनि रूपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे।
सोही क्षेत्रबाट राजनीतिक सक्रियता देखाएका भट्टराईलाई क्षेत्र र जिल्ला कमिटीले पनि उम्मेदवारको लागि एकल नाम सिफारिस गरी पठाएको थियो।
तर पार्टी नेतत्वले राष्ट्रिय सभामा डेढ वर्ष अवधी बाँकी रहेकोले त्यहाँ छोडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गर्यो। यही बीचमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि क्षेत्र, जिल्ला र पार्टी केन्द्र सम्म नै पहल गरिरहेका तिलोत्तमा नगरपालिकाका पूर्व-मेयर बासुदेव घिमिरेले उम्मेदवारी मनोनयनको अघिल्लो दिनमात्रै उम्मेदवारको लागि टिकट ल्याएका थिए।
घिमिरेले टिकट ल्याए पनि पहिलेदेखि नै सो क्षेत्रबाट उम्मेदवार बन्न खोजिरहेका भट्टराईले उम्मेदवारी मनोनयनको अन्तिम समयमा राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर पार्टीबाट टिकट ल्याउन सफल भए।
तर टिकट ल्याए पनि उनी निर्वाचन कार्यालय आउनुअघि नै घिमिरेले एमालेबाट उम्मेदवारी दर्ता गराएपछि भट्टराईले उम्मेदवार बन्ने र राष्ट्रियसभा सदस्य दुबैतर्फका पद गुमाउन पुगे।
राष्ट्रिय सभामा एमालेको संसदीय दलको नेता समेतको पद त्यागे पनि उम्मेदवार बन्न नपाएका तिनै भट्टराईलाई बिहीबार सोही क्षेत्रको चुनावी कमाण्डर तोकेको हो।
भट्टराईलाई क्षेत्र नं. ५ को चुनावी कमाण्डरको जिम्मेवारी दिँदै एमालेका उपाध्यक्ष तथा पूर्व-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी चयनका सन्दर्भमा देखापरेको समस्या उचित समयमा समीक्षा हुने भए पनि अहिले निर्वाचन परिचालनको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न निर्देशन दिए।
निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी लिँदै भट्टराईले पनि अब आफूले विगत नसम्झी भोलिको लागि सम्झेर काम गर्ने स्पष्ट पारे।
उनले पार्टी राजनीतिमा व्यक्तिभन्दा देश र जनता प्रधान हुने भएकोले सोही अनुसार जनताको घर-घरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिए।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू तिलोत्तमाको नगर प्रमुख हुँदा नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे।