आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन्।
निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन्।
आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको सिफारिसमा नुवाकोटका २५ उम्मेदवार सूचीकृत भएका छन्।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ६३ उम्मेदवार आगामी मंसिर ४ गते हुन लागेको चुनावी प्रतिस्पर्धामा योग्य देखिएका छन्। यससँगै जिल्लामा एक सय २७ उम्मेदवार कायम भएका छन्।
प्रतिनिधि सभातर्फ १६ राजनीतिक दलबाट २५ जना
नुवाकोटबाट समानुपातिकतर्फ उम्मेदवार हुनेमा नेपाली कांग्रेसबाट प्रकाशशरण महत, जगतबहादुर तामाङ र सीता मिजार, नेकपा(एमाले)बाट रामशरण प्याकुरेल, नेकपा (माओवादी केन्द्र) बाट विमला सुवेदी र श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) बाट गोविन्द नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाशचन्द्र लोहनी र नानीमैया आचार्य समावेश भएका छन्।
यस्तै, नेशनल मङ्गोल अर्गनाइजेशनबाट विष्णु तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबहादुर लामा र गोमा दुलाल, एकीकृत शक्ति नेपालबाट अर्जुन उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट पार्वती भट्टराई, नेकपा (माले) बाट भीष्म पौडेल र नेपाल सुशासन पार्टीबाट शङ्करलाल श्रेष्ठको आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समावेश भएका छन्।
यस्तै, सचेत नेपाली पार्टीबाट रामकृष्ण नेपाल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुजन अधिकारी, नेपाली जनता दलबाट विजय लामा र सुशीला राई, जनसमाजवादी पार्टी सिर्जना नेपाल, मेमबहादुर तामाङ, वसन्ती चित्रकार र विमला सुनारको नामा समानुपातिक सूचीमा समावेश भएको आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख छ।
प्रदेश सभातर्फ १९ राजनीतिक दलबाट ३९ जना
आगामी आमनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नुवाकोटबाट ३९ जनाको उम्मेदवारी दर्ता भएको छ।
आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा विभिन्न १९ वटा राजनीतिक दलको सिफारिसमा नुवाकोटका ३९ उम्मेदवार समावेश भएका छन्।
आयोगले सार्वजनिक गरेको प्रदेशसभातर्फको समानुपातिक सूचीमा नेपाली कांग्रेसबाट प्रतापसिंह लामा, नेकपा (माओवादी केन्द्र)बाट मीना पाख्रिन, बलराम फुयाँल, देविका मिजार र नेकपा (एमाले) बाट बिन्दा नेपाल, श्रीमाया लामा, सुरज शेर्पा, बद्री मिजारको नाम समावेश गरिएको छ।
यस्तैऽ नेकपा (एकीकृत समाजवादी)बाट उपेन्द्रराज खनाल, जनता समाजवादी पार्टीबाट ईश्वरकुमार राउत, राज न्यौपाने, सञ्जु राई, नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठ, साझा पार्टी नेपालबाट विमल तामाङ, उषा परियार, कमान तामाङ, बद्री सिलवाल, चन्द्रकुमार तामाङ, नेपालका लागि नेपाली पार्टीबाट सावित्री न्यौपाने, भूमिका बम्जनको नाम समानुपातिकतर्फको उम्मेदवारमा समावेश गरिएको हो।
यस्तै, नेकपा (माले) बाट सम्झना अधिकारी, माया राई, सङ्गीता कुमाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट सिर्जना नेपाल, नेपाली जनता दलबाट बुद्धिमान तामाङ, अनिश राई, कैलाश राई, नेपाली कांग्रेस बिपीबाट शम्भु गुरुङ, राप्रपा नेपालबाट कृष्ण घले, आमूल परिवर्तन मसिहा पार्टीबाट प्रेम गुरुङ, कल्पना तामाङ र नेपाली जनता पार्टीबाट शर्मिला माझीको नाम समावेश गरिएको छ । यस्तै जनसमाजवादी पार्टीबाट पुण्यवती जोशी, लालसिंह तामाङ, श्रीकृष्ण थापा, तेजप्रसाद नेपाल, राष्ट्रिय नागरिक पार्टीबाट सानुमाया तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट डालमाया घले र नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठको नाम समावेश गरिएको छ।
एक व्यक्तिलाई दुई दलको सिफारिस
नुवाकोट घर भएका सिर्जना नेपाललाई दुई फरक पार्टीले उम्मेदवार बनाएको छ। उनलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ जनसमाजवादी पार्टीले उम्मेदवार बनाएको छ भने बागमती प्रदेशसभा सदस्यमा नेशनलिष्ट पिपल्स पार्टीले उम्मेदवार बनाएको हो।
समानुपातिक सूचीमा रहेको नाम, मतदाता परिचयपत्र नं, वर्ग र ठेगाना उल्लेख हुने भएकाले ती विवरणमा दुई पार्टीको सिफारिस गरिएको सूचीमा उनको विवरण एउटै देखिएसँगै दुई फरक पार्टीले एकै व्यक्तिलाई उम्मेदवार बनाएको खुल्न आएको हो। उनको मतदाता नं २६०५६८६ रहेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारविरूद्ध भोलि शनिबार (असोज २९ गते) सम्म दाबी विरोधको समय दिइएको छ।
उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी आगामी कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए।