सिन्धुलीबाट प्रतिनिधिसभाका डेब्युका लागि शीर्ष दलबाट चार जना चुनावी मैदानमा छन्।
दुई वटा क्षेत्र रहेको सिन्धुली क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका श्याम घिमिरे र विपक्षी गठबन्धनको तर्फबाट एमालेका प्रदीप कटुवाल चुनावी मैदानमा छन्।
त्यस क्षेत्रमा कांग्रेस र एमालेको मत हाराहारी रहेको छ। सत्ता गठबन्धनको साथ पाउँदा कांग्रेसका उम्मेदवार घिमिरेलाई स्थिति सहज देखिन्छ।
कटुवाल त्यस भुगोलमा भिजेका नेता भएकाले त्यहाँ प्रतिस्पर्धा रोचक बन्नेछ। कटुवाल यसअघि प्रदेशसभाको सदस्य र बागमती प्रदेश सरकारमा मन्त्रीसमेत भएका व्यक्ति हुन्।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवाको मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा कांग्रेसको मत २८ हजार १७ रहेको छ भने माओवादी केन्द्रको मत १३ हजार ३६९ छ।
यस क्षेत्रमा एकीकृत समाजवादीको मत १ सय८७ छ। यता, एमालेका वडाध्यक्षका उम्मेदवारको मत २८ हजार ६२० रहेको छ।
यस्तै, क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा सत्ता गठबन्धनले माओवादीका मातृका भट्टराईले उठाएको छ भने एमालेका सुवास देवकोटा उम्मेदवार छन्।
यस्तै १ (ख) बाट प्रदेशसभामा सत्ता गठबन्धनबाट कांग्रेसका रामकुमार पहाडीले एमालेका रामकुमार कार्कीसँग भिड्नेछन्।
क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनले माओवादी केन्द्रका राजन दाहाललाई उठाएको छ। उनले एमालेका मनोजजंग थापासँग प्रतिस्पर्धा गर्नेछन्।
सत्ता गठबन्धनको कारण दाहाल त्यहाँ सुरक्षित देखिन्छन्। यस क्षेत्रमा वडाध्यक्षका उम्मेदवाहरूले प्राप्त गरेको मतका आधारमा एमालेनै अघि छ। एमालेको मत २१ हजार ४५५ रहेको छ भने माओवादी केन्द्रको मत १९ हजार ४ सय ८८ छ। त्यहाँ कांग्रेसको मत १९ हजार १ सय २८ रहेको छ।
क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा कांग्रेका छत्रबहादुर बम्जनले उम्मेदवार दिएका छन्। उनले एमालेका विनोद खड्कासँग प्रतिस्पर्धा गर्नेछन्।
यस्तै २ (ख) बाट प्रदेशसभामा सत्ता गठबन्धनकोतर्फबाट नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठले एमालेका रामकुमार पौडेलसँग प्रतिस्पर्धा गर्नेछन्।