आसन्न निर्वाचनमा नेकपा एमाले डडेल्धुराले जिल्लामा एकल रूपमा उम्मेदवार उठाउने निर्णय गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा पठान सिंह बोहरा र निर्वाचन क्षेत्र नम्बर २ (क) मा गजेन्द्र बहादुर शाहीलाई उठाउने निर्णय गरेको जनाएको छ।
एमाले डडेल्धुराले सुरूमा नेपाली कांग्रेस (बिपी) सँग तालमेल गर्ने भएको थियो। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (बिपी) का उम्मेदवार र प्रदेश सभा अन्तर्गत १ र २ दुवै क्षेत्रमा एमालेका उम्मेदवार उठाउने सहमति भएको थियो।
'तर नेपाली कांग्रेस (बिपी) ले उक्त सहमति उल्लंघन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हामो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' एमाले डडेल्धुराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'एकतर्फी ढंगले सम्झौता उल्लंघन गरेको कार्यप्रति असहमति जनाउँदै चुनावी तालमेल भंग गरेर एकल रूपमा निर्वाचनमा होमिने निर्णय गरिएको छ।'
शुक्रबार बसेको नेकपा एमाले जिल्ला कमिटी डडेल्धुराको बैठकले यो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ।