पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं-२ बाट उम्मेदवार बनेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडिओ क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी बताइन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशको समृद्धि आजको आवश्यकता भएको उनको भनाइ छ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता हो। त्यही आवश्यकता पूरा गर्न र काठमाण्डौं-२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट हामी यहाँहरूका बीचमा आएका छौं,’ घर्तीले भनेकी छन्।
घर्तीले काठमाडौं-२ का जनसमुदायको भावनाको पूर्ण सम्मान गर्दै उनीहरूको सुख दुःखमा सँगसँगै रहने प्रतिवद्धता भिडिओमा जनाएकी छन्। घर्तीले आफूलाई संघ तथा काठमाडौं-२ (क) मा कांग्रेस उम्मेदवार ध्रुव केसी र २ (ख) म नेकपा एकीकृत मसाजवादीका भरतप्रसाद फुयाँललाई
जिताउन अपिल गरिन्। पूर्वसभामुख घर्तीलाई सत्तारूढ गठबन्धनले काठमाडौं-२ बाट उम्मेदवार बनाएको हो। सो निर्वाचन क्षेत्रमा यसअघि ०७४ मा एकीकृत समाजवादीका माधवकुमार नेपाल निर्वाचित भएका थिए। नेपाल यसपटक रौतहट-१ बाट प्रतिनिधि सभामा सत्तारूढ गठबन्धनका उम्मेदवार छन्।