नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताएका छन्।
गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए।
‘पटकपटक संसद विघटन भयो र संविधान मिच्ने काम भयो। लोकतान्त्रिमाथि प्रहार भयो’, पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ। हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौं। यो आम जानकारीकै विषय छ।’
पुनले माओवादी केन्द्र र काँग्रेसको मिलन इतिहासको आवश्यकता भएको औंल्याए। कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाइँ भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे।
‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौं। त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं,’ उनले भने।
पुनले गठबन्धनका साझा उम्मेदवारविरूद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे। सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताए। उनले रोल्पा (ख) बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिट्ब्युरो सदस्य दीपेन्द्र पुन राजनीतिक रूपमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन सकारात्मक रहेको जानकारी दिए। उक्त प्रदेशमा गठबन्धनका तर्फबाट काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन्। देशभर कांग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरूले अवस्था सुदृढ भएको रोल्पा र रुकुमजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो।
‘हामीले आफू बलियो भएको रोल्पा र रूकुम मात्र हेरेर हुँदैन’, उनले भने, ‘देशभर हाम्रा साथीहरू कांग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ। उहाँहरूको जितलाई पनि हामीले हेर्नुपर्छ।’
पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन्। उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको उल्लेख गरे। यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको बताए। छिमेकी र टाढाका अन्तर्राष्ट्रिय शक्तिसँग आफूहरू मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्न चाहेको उनले बताए। तर, नेपालको घरभित्रको मामिलामा भने हस्तक्षेप सह्य नहुने उनको स्पष्टोक्ति थियो। जनताका प्रतिनिधिमार्फत् संविधान जारी गर्न खोज्दा केही अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए पनि नेपालका रानजीतिक दल र नेताहरूले त्यसलाई अस्वीकार गरेको स्मरण उनले गरे।
‘नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत् संविधान जारी गर्छौं भन्दा त्यो प्रयासलाई रोक्न केही अन्तर्राष्ट्रिय शक्तिबाट विभिन्न प्रकारका हस्तक्षेप, दबाब र रोकवाट भए’, उनले भने, ‘तर, नेपाली जनताका प्रतिनिधि र नेताहरुले त्यसलाई मानेनौं र संविधान जारी भयो। हामी छिमेकी र टाढाको मित्रहरुसँग मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्छौं तर, आफ्नो घरको निर्णय आफै गर्छौं।’
उनले तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति दिवंगत सुशील कोइराला र आफ्ना अध्यक्ष प्रचण्डलगायत नेताले नेपालबारे नेपालीहरूले नै निर्णय गर्ने भन्दै संविधान जारी नगर्न आएको बाह्य हस्तक्षेप अस्वीकार गरेको स्मरण पनि गरे।