नेपाली कांग्रेस गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा शनिबार फरक दृश्य देखियो। यो कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता मात्र होइन, सत्ता गठबन्धनका अन्य दलका नेता, कार्यकर्ता पनि थिए।
कांग्रेस कार्यालयमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बोलेका थिए।
गोरखामा सत्ता गठबन्धनबाट १ नम्बर क्षेत्रमा कांग्रेस राजेन्द्र बजगाईं उम्मेदवार छन् भने प्रदेश सभा क्षेत्र (क) मा माओवादीका कृष्ण धिताल र (ख) मा कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने उम्मेदवार छन्।
गोरखा-२ मा भने प्रतिनिधि सभातर्फ माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार छन्। प्रदेश सभा क्षेत्र (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र (ख) मा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे उम्मेदवार छन्।
यी दुबै प्रतिनिधि सभा क्षेत्र र चारवटै प्रदेश सभा क्षेत्रका कांग्रेस र माओवादीका अगुवा नेता तथा कार्यकर्ता शनिबार कांग्रेस कार्यालयमा भेला भई प्रशिक्षण लिएका थिए।
सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल हुँदा गोरखाका कांग्रेस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवार मैदानमा छन्। भट्टराई नेतृत्वको समाजवादीले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको छ।
दलहरूबीच केन्द्रमा सहमति भई चुनावी तालमेल गर्ने निर्णय भएको थियो। दलहरू एक्लाएक्लै चुनाव नलडेको भन्दै चुनावी तालमेलबारे कार्यकर्ताहरूबाटै आलोचना पनि सुनिन्छन्।
गोरखामा झन् अवस्था अन्यत्रभन्दा भिन्न छ। तालमेल गर्दा गोरखा १ को (ख) मा माओवादी समर्थकले प्रदेश र केन्द्रका गरी दुइटै मतपत्रमा प्रत्यक्षतर्फ हँसिया हतौडामा भोट हाल्न पाउँदैनन् किनकी यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार छन्।
यस्तै गोरखा क्षेत्र नम्बर २ को (क) का कांग्रेसी मतदाताले पनि प्रदेश र केन्द्र दुई मतपत्रमै प्रत्यक्षतर्फ कांग्रेसलाई भोट दिन पाउँदैनन् किनभने यहाँ माओवादीका उम्मेदवार छन्।
गठबन्धन गर्दा फरक पार्टीबाट उम्मेदवारी परेका क्षेत्रहरूमा मतदान गर्न नेता तथा कार्यकर्ता जाँदैनन् कि भन्ने चिन्ताले अहिले गोरखाका दलहरूलाई सताएको छ। त्यसैले उनीहरूले शतप्रतिशत मत ‘ट्रान्सफर’ गर्न एकअर्का पार्टी कार्यालयमा कार्यक्रम गर्नेजस्ता गतिविधि अगाडि बढाएका छन्।
माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा गोरखामा मुख्यतया कांग्रेस-माओवादीबीच सम्बन्ध राम्रो थिएन। द्वन्द्वका बेला कांग्रेस र माओवादीतर्फका समर्थकहरू सुराकीका आधारमा मारिएका र बेपत्ता भएका थिए।
त्यसबेलाका प्रमुख दुश्मन शक्तिहरू अहिले काँधमा काँध मिलाएर एकै गठबन्धन गरी चुनावमा होमिएका छन्। तर द्वन्द्वका बेला दु:ख पाएकाहरूले विगत सम्झँदै मतदानमा आनाकानी गरिरहेका छन्, यसले गठबन्धनका उम्मेदवारलाई मत ट्रान्सफर हुन्न कि भन्ने चिन्ता थपिएको छ।
गोरखाका सत्ता गठबन्धनका उम्मेदवारहरूले कांग्रेस र माओवादीका नेता तथा कार्यकर्तासँग राजनीतिक र भावनात्मक सम्बन्ध सुधारका लागि कार्यक्रमहरू गरिरहेका छन्।
शनिबार कांग्रेस कार्यालयमा प्रचण्डसहित उपस्थित भएर गरिएको अभिमुखीकरण त्यसैको सिलसिलामा भएको हो। कार्यक्रममा बोल्दै प्रचण्डले विशेष गरी कांग्रेस र माओवादीभित्र नेता र कार्यकर्ताबीच भावनात्मक र राजनीतिक सम्बन्ध नयाँ उचाइमा पुर्याउन यस्तो कार्यक्रम गरिएको बताए।
‘राजनीतिक, भावनात्मक विश्वास पैदा गर्नुछ, त्यसकारण कांग्रेस कार्यालयमा आएर यो कार्यक्रम गर्दा सबैभन्दा सकारात्मक सन्देश र वातावरण बन्छ भनेर नै मैले स्वीकृति दिएर कार्यक्रम गरिएको हो। यसमा मलाई खुसी लागेको छ,’ बिपी र गणेशमानको तस्बिर नजिकै उभिएर प्रचण्डले भने।
कांग्रेस र माओवादीका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखेर कार्यक्रम गर्दा भावनात्मक र राजनीतिक सम्बन्ध सुदृढ हुने र निर्वाचनका लागि सजिलो हुने पनि प्रचण्डको विश्वास छ।
सत्ता गठबन्धनबाट प्रदेश सभा उम्मेदवार कांग्रेस नेता सुरेन्द्र पाण्डेले शतप्रतिशत मत ट्रान्सफर हुँदैन कि भन्नेजस्ता चिन्ता देखिएकोले अभिमुखीकरण कार्यक्रम गरिएको बताएका थिए।
सुरेन्द्रले राखेका चिन्ताबारे प्रचण्डले विगतमा आमनेसामने भएका कांग्रेस र माओवादीमा सम्बन्ध सुदृढ गर्न केही समस्या देखिनु अस्वभाविक नभएको बताएका थिए।
‘हिजो आमनेसामने लडेका पार्टी हुनुको नाताले कांग्रेस र माओवादीमा राजनीतिक र भावनात्मक सम्बन्ध सुदृढ गर्न केही समस्या हुनु अस्वभाविक होइन,’ प्रचण्डले भने, ‘हिजोका घटनाक्रम स्मरण गर्दा सजिलै एकअर्कालाई आत्मसात् गर्न गाह्रो पर्छ। तर परिवर्तन रक्षाका लागि आत्मसात् गर्नुपर्छ।’
उनले रूख वा हँसिया हतौडामा कसरी भोट हाल्ने भन्ने जस्ता कुरा सुनिन आएको भन्दै त्यसो भन्नेहरूले विस्तृत शान्ति सम्झौताको मर्म बुझ्न नसकेको पनि बताए।
‘कसरी रूखमा हाल्ने भन्ने सुन्छु। म कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुन्छु। यदि रूखमा भोट हाल्न र हँसिया हतौडामा भोट हाल्न हात कामेका छन् भने तपाईंहरूले विस्तृत शान्ति सम्झौता र संविधान सभा, संघीयता, गणतन्त्रको महत्व बुझ्नुभएन। विभिन्न समुदायले पाएका अधिकार आत्मसाथ गर्नुभएन भन्ने हो,’ उनले भने।
आफूले त शान्ति सम्झौतामा हस्ताक्षर गरेकै बेला रूखमा भोट हालेको पनि प्रचण्डको भनाइ थियो।
‘गिरिजाप्रसाद कोइरालासँगै सम्झौतामा हस्ताक्षर गर्नु भनेको त्यतिबेलै प्रचण्डले रूखमा भोट हालेको हो,’ उनले भने।
सत्ता गठबन्धनका उम्मेदवारले भाषण गर्दा पनि कांग्रेस र माओवादीले गर्ने अभिवादनका शब्द प्रयोग गर्ने गरेका छन्।
शनिबार आयोजित कार्यक्रममा बोलेका कांग्रेस गोरखाका सभापतिसमेत रहेका प्रदेश सभा उम्मेदवार नन्दप्रसाद न्यौपानेले भाषण टुंग्याउँदा जय नेपाल, नमस्कार भनेर पोडियमबाट गइसकेपछि फर्केर आई फेरि लालसलाम पनि भन्दा मञ्चमा रहेका प्रचण्डसहित नेता तथा फ्लोरमा रहेका कांग्रेस-माओवादीका कार्यकर्ता हाँसेका थिए।
यस्तै अभ्यास यसपालि सत्ता गठबन्धनले देशका सबै क्षेत्रमा सुरू गर्दैछन्। त्यसका लागि आवश्यक रणनीति बनाउन निर्वाचन परिचालन समिति पनि गठन गर्दैछन्। केन्द्रमा कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनेको छ।
काठमाडौं क्षेत्र नम्बर २ मा आज (आइतबार) प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत सत्ता गठबन्धनका शीर्ष नेता उपस्थित भएर अभिमुखीकरण गर्दैछन्।
यो कार्यक्रममा सत्ता गठबन्धनमा रहेका दलका जिल्लास्तरका नेताहरू तथा सम्बन्धित क्षेत्रका नेता, कार्यकर्ता सहभागी छन्।
उम्मेदवार परिचय तथा निर्वाचन क्षेत्र परिचालन समिति पनि घोषणा गर्ने तयारी छ। काँडाधारीस्थित शुभश्री पार्टी प्यालेसमा कार्यक्रम भएको छ।
सत्ता गठबन्धनको गत असोज २७ गते बसेको बैठकले गठबन्धनका दलहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार निर्वाचन क्षेत्रहरूमा गठबन्धनमा रहेका दलका प्रतिनिधि रहेको निर्वाचन परिचालन समिति गठन गर्न सुरू गरिएको छ भने एकअर्काका पार्टी कार्यालय र कार्यक्रममा नेता-कार्यकर्ता पुग्न थालेका छन्।
यस्तै सत्ता गठबन्धनले सातै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी चुनाव लक्षित आमसभासमेत गर्ने भएका छन्।
कात्तिक ४ गते गण्डकी र बुटवलमा सभा हुनेछ। कात्तिक ५ गते विराटनगर र जनकपुरमा सभा र कात्तिक ६ गते धनगढी र सुर्खेतमा आमसभा हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा गठबन्धनले संयुक्त सभा गर्नेछन्।
यी सभाको समन्वय गर्ने काम पनि ठाउँअनुसार फरक-फरक दलहरूलाई दिइएको छ।
शनिबार रूपन्देहीमा सत्ता गठबन्धनले गरेको कार्यक्रममा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले बोलेका थिए।
उक्त कार्यक्रममा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कदमको विरोध गरेका थिए।
ओलीले दुई पटक संसद विघटन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्स्थापना गरेको भुसालले बताएका थिए।
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर मात्रै फर्किने उनले बताएका थिए।
‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेरमात्रै फर्किन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै यसले थकाइ मेट्छ। दुई दिन तीन दिन थकाइ मेट्छ बरू। सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु।’
भुसाललाई रूपन्देही १ मा सत्ता गठबन्धनले समर्थन गरेको छ।
उम्मेदवारहरू फरक दलले आयोजना गरेका कार्यक्रममा जाने र आफ्ना कुरा राख्ने गरिरहेका छन्। यसो गर्दा शतप्रतिशत मत ट्रान्सफर हुने विश्वास गठबन्धनका दलहरूलाई छ।
लमजुङमा सत्ता गठबन्धनले ९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ। समिति संयोजकमा कांग्रेसका जिल्ला उपसभापति आनन्द घिमिरे चयन भएका छन्। उक्त समिति सदस्यमा माओवादीका जिल्ला अध्यक्ष लालबहादुर गुरूङ र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर अधिकारी छन् भने अरू सदस्य दलका जिल्ला कार्यसमितिका पदाधिकारी छन्।
ताप्लेजुङमा सत्ता गठबन्धनले मतदाता भेट्ने कार्यक्रम नै सुरू गरिसकेका छन्। निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका माओवादीका नेता मिङ्माडण्डु शेर्पाले मतदाता भेटघाट शनिबारदेखि सुरू गरिएको बताए। अहिले अनौपचारिक कुराकानी गरिएको र कात्तिक १६ पछि सत्ता गठबन्धनका उम्मेदवारहरू कार्यक्रम बनाएर नै मतदातामाझ जाने उनको भनाइ छ।
एमालेका जिल्ला तहका कार्यक्रममा कमल थापा
नेकपा एमालेको समर्थनमा मकवानपुर १ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापा उम्मेदवार छन्। थापाले एमालेकै चुनाव चिन्ह सूर्य लिएका छन्।
थापा पनि एमालेले मकवानपुरमा गरेका कार्यक्रमहरूमा सहभागी हुने गरेका छन्।
शनिबार एमालेले हेटौंडा ४ मा निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालनमा ल्याएको थियो। उक्त कार्यक्रममा एमाले जिल्ला इन्चार्ज रामेश्वर रानाले निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन गर्दा मञ्चमा सँगसँगै कमल थापा पनि बसेका थिए।
यस्तै गत असोज २४ मा एमालेले गरेको एक कार्यक्रममा कमल थापाले माओवादीका जिल्ला सदस्यलाई एमालेमा स्वागतसमेत गरेका थिए।
माओवादी जिल्ला सदस्य शंकर राउतलाई थापाले खादा लगाएर एमालेमा स्वागत गरेका थिए। मकवानपुर १ मा एमालेबाट रामेश्वर रानाले टिकट पाउने चर्चा भए पनि एमालेले थापालाई उम्मेदवार समर्थन गरेको थियो। थापाले एमालेको भोट तान्न एमालेले गर्ने कार्यक्रममा सहभागिता जनाउन छुटाएका छैनन्।