काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये अन्यमा चुनावी तालमेल गरेका सत्ता गठबन्धन दलले क्षेत्र नम्बर ३ र १० मा भने ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भएका छन्।
सत्ता गठबन्धनमा क्षेत्र नम्बर २, ७, ८ र ९ माओवादीले उम्मेदवारी दिने र अन्य क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको थियो। तर प्रदेश सभाका केही क्षेत्रमा आफूहरूलाई कांग्रेसले नछाडेको भन्दै माओवादीले क्षेत्र नम्बर ३ र १० मा प्रतिनिधि सभा र प्रदेश सभामा पनि उम्मेदवारी दिएको छ।
काठमाडौं-३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन्। चालिसे कांग्रेस क्षेत्र नम्बर ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन्।
यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) बाट बद्रीप्रसाद बजगाईंले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) बाट कृष्णबहादुर राई उम्मेदवार छन् भने जसपाबाट मोहनकुमार विश्वकर्मा तथा राप्रपाबाट गणेश गिरि प्रतिनिधि सभा उम्मेदवार छन्।
यहाँ लोसपासहित पाँच दलीय सत्ता गठबन्धनबाट पनि चुनावी तालमेल भएन। यस्तै जसपा र केही क्षेत्रमा राप्रपासँग तालमेल गरेको नेकपा एमालेले पनि क्षेत्र नम्बर ३ मा चुनावी तालमेल गरेको छैन। यो क्षेत्रमा दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुने भएको छ।
यस्तै सत्ता र एमाले नेतृत्वको गठबन्धनबीच काठमाडौंकै अर्को क्षेत्रमा पनि चुनावी तालमेल भएको छैन। क्षेत्र नम्बर १० मा चुनावी तालमेल नगरी दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्।
कांग्रेसबाट राजेन्द्रकुमार केसी, एमालेबाट हिमेश केसी, माओवादीबाट अन्जना विशंखे, जसपाबाट संगम नेपाल, राप्रपाबाट बलराम थापा क्षेत्र नम्बर १० मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले काठमाडौं ३ र १० मा मित्रवत प्रतिस्पर्धा हुन लागेको बताए।
‘कहाँ कुन पार्टीका उम्मेदवार उठ्ने सत्ता गठबन्धनको छलफलबाटै टुंगिएको थियो। तर दुई क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने देखिएको छ,’ उनले भने, ‘कसैले उम्मेदवारी फिर्ता लिने हो भने सत्ता गठबन्धनको शीर्ष नेताको छलफलबाटै टुंगिएला, नत्र मितवत प्रतिस्पर्धा हुन्छ।’
माओवादी केन्द्रका सचिव तथा बागमती इन्चार्ज हितमान शाक्यले पनि काठमाडौं क्षेत्र नम्बर ३ र १० मा सत्ता गठबन्धनमै रहेका कांग्रेस र माओवादीबीच पनि मित्रवत प्रतिस्पर्धा हुने बताए।
उनका अनुसार माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ६ का दुबै प्रदेश सभामा पनि उम्मेदवारी दिएको छ।
‘क्षेत्र नम्बर ३ र १० मा एउटा प्रदेश सभा क्षेत्र माओवादीले मागेको थियो। कांग्रेसका साथीहरूले छाड्न चाहनुभएन, उम्मेदवारी दिनुभयो,’ उनले भने, ‘हामीले पनि क्षेत्र नम्बर ३ र १० को संघ र प्रदेशमा उम्मेदवारी दिएका छौं।’
उनले मंसिर ४ को चुनावमा मित्रवत प्रतिस्पर्धा हुने पनि बताए।
‘हामी उम्मेदवारी फिर्ता लिँदैनौं,’ उनले भने, ‘मित्रवत प्रतिस्पर्धा हुन्छ।’
माओवादीबाट काठमाडौं १० मा उम्मेदवारी दिएकी अन्जना विशंखेले मित्रवत प्रतिस्पर्धा गरिने बताइन्।
‘हामी प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछौं,’ उनले भनिन्, ‘पार्टीलाई एकतावद्ध गरेर चुनावी तयारी गरिरहेका छौं।’
यो क्षेत्रमा सत्ता गठबन्धनबीच किन तालमेल भएन भन्ने प्रश्नमा उनले कांग्रेसले दम्भ गरेको बताइन्।
‘कांग्रेसका राजेन्द्रकुमार केसीलाई गठबन्धन नभए पनि म जित्छु, स्वस्थ प्रतिस्पर्धा गरौं भन्ने लागेछ,’ उनले भनिन्, ‘त्यसो हो भने हामी पनि स्वस्थ प्रतिस्पर्धा गरौं भनेर उम्मेदवारी दियौं। त्यहाँका जनताले फरक ढंगबाट संघर्ष गरी आएकालाई रोज्न खोजेका छन्।’
जनमत कता जान्छ हेरौं भनेर दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएको उनले बताइन्।
कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले कांग्रेस-माओवादीबीच गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए।
‘मित्रवत प्रतिस्पर्धा गर्ने सहमति अनुसार नै हामी चुनावमा होमिएका छौं,’ उनले भने।
क्षेत्र नम्बर ३ मा यस्तो छ अवस्था:
काठमाडौं क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरको वडा नम्बर ६ का साथै गोकर्णेश्वर र कागेश्वरी नगरपालिकाका १,२ र ३ नम्बर वडा पर्छन्।
यो क्षेत्रमा पर्ने वडाहरूमा गत वैशाखमा भएको स्थानीय चुनावमा आएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मत धेरै छ।
उसले १५ हजार ७ सय ९५ मत ल्याएको छ भने एमालेले १४ हजार ८ सय ७६ मत ल्याएको छ।
माओवादी केन्द्रको १ हजार ७ सय ३०, एकीकृत समाजवादीको १ हजार ५६ र राप्रपाको १ हजार ५ सय १४ मत छ।
२०७४ मा यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत पाएका थिए भने कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्।
क्षेत्र नम्बर १० मा यस्तो छ अवस्था:
काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने स्थानीय तहका वडाहरूको मतलाई आधार मान्दा नेपाली कांग्रेस एमालेभन्दा धेरै अगाडि छ।
कांग्रेसले २४ हजार ६ सय ७५ मत ल्याएको छ भने एमालेले जम्मा १८ हजार ८ सय ३८ मत ल्याएको छ।
त्यस्तै माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत ल्याएको छ। यो क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका २ देखि ११ नम्बरसम्मका वडा, कीर्तिपुर र दक्षिणकाली नगरपालिका पर्छन्।
२०७४ को चुनावमा यो क्षेत्रमा कांग्रेसका राजेन्द्र केसीले २४ हजार १ सय ९० मत ल्याएका थिए। दोस्रोमा रहेका तत्कालीन वाम गठबन्धनका माओवादी उम्मेदवार हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका थिए।