सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एउटा पार्टी छाडेर अर्कोमा गएका र नयाँ-नयाँ दलबाट उम्मेदवार रहेकाहरूलाई पनि प्रतिस्पर्धाका लागि स्वागत गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिने क्रममा सिंहले काठमाडौं १ मै उम्मेदवारी दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै एउटा पार्टी छाडेर अर्कोमा गएकालाई पनि प्रतिस्पर्धामा स्वागत छ भनेका हुन्।
मिश्र विवेकशील साझा पार्टी छाडेर हालै राप्रपामा प्रवेश गरेका थिए। उनी राप्रपाबाट यसपालि पनि काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव उठेका छन्। २०७४ मा पनि मिश्र र सिंहबीच प्रतिस्पर्धा भएको थियो। ८१९ मतान्तरले मिश्र पराजित भएका थिए।
सिंहले त्यसबेला १० हजार ९ सय ३७ मत र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए।
काठमाडौं १ मा नेकपा एमालेबाट किरण पौडेल उम्मेदवार छन्। काठमाडौं १ मा सत्ता गठबन्धनबाहेक अन्य दलले चुनावी तालमेल गरेका छैनन्।
यसपालि पनि सिंह र मिश्रबीच मुख्य रूपमा चुनावी प्रतिस्पर्धा हुने आँकलन भइरहेका छन्।
‘जनतालाई अधिकार सम्पन्न गर्न कांग्रेसले संघर्ष गरेको हो। प्राप्त गरेका अधिकार कांग्रेसले मात्र उपभोग गर्नुपर्छ भन्ने होइन। यो अधिकार सबैले प्रयोग गर्न पाउनुपर्छ,’ सिंहले भने, ‘चुनावी प्रतिपर्धामा हामी नयाँ-नयाँ पार्टीका उम्मेदवार, एउटा दल खोलेर अर्को दलमा गएकाहरूलाई पनि स्वागत गर्छौं।’
साथै सिंहले आज आफ्ना प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन्। सिंह, कांग्रेस नेता राधेश्याम अधिकारी, प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार सुरजचन्द्र लामिछाने लगायतले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए।
सिंहले 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नारासहित चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्। उनले काठमाडौं १ मा २०७४ को चुनावका बेलाभन्दा अहिले सडक कालोपत्रलगायत विकास निर्माणका कामहरू धेरै भइसकेको र केही बाँकी रहेको बताए।
‘शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधारका क्षेत्रमा बाँकी रहेका काम सम्पन्न गर्न पनि यसपालि मेरो उम्मेदवारी हो,’ उनले भने, ‘काठमाडौं १ मा पटकपटक प्रकाशमान सिंह नै उम्मेदवार किन भन्ने प्रश्न पनि आउँछ। २०७४ अघि त यो क्षेत्र कांग्रेसले जितेको थिएन, म आएपछि जितेँ। जनताले जिताए।’
उनले आफू संसदमा हुँदा जनजीविकाका सवाल उठान गरेको र यस क्षेत्रका जनताको कहिल्यै शिर निहुराउने काम नगरेको पनि उल्लेख गरेका छन्। निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने, युवालाई रोजगारीको व्यवस्था गर्ने, उच्च सवारी चाप हुने क्षेत्रमा ओभरहेड पुल निर्माण बनाउने, नि:शुल्क वाइफाइ जोन बनाउने, बागमतीदेखि टुकुचासम्मलाई सफा राख्नेजस्ता काम गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन्।