नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।
ललितपुरमा सत्ता गठबन्धन दलले आज गरेको चुनावी परिचालन अभियानलाई सम्बोधन गर्दै प्रचण्डले गोरुगाढा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अघि बढेकाले त्यसलाई पराजित गर्न सत्ता गठबन्धन बनेको बताएका हुन्।
त्यसका लागि शान्ति सम्झौताका पक्षधरहरू एकै ठाउँमा उभिएको उनले बताए।
’१२ बुँदे सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले र एमालेबाट माधव नेपाल र माओवादीबाट मैले हस्ताक्षर गरेका हौँ। गोरुगाढा प्रवृत्तिविरूद्ध लड्न अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएका हौँ,’ उनले भने।
ओलीलाई लक्षित गर्दै प्रचण्डले गोरुगाढा सिद्धान्त भएको नेता अझै नसुध्रिएको बताए।
‘संविधान बनेपछि संविधानमा हस्ताक्षर गरेका गोरुगाढावाल सिद्धान्त भएका नेता अब प्रतिगमन र अराजकतातर्फ जाँदैनन् होला भन्ठानेको त त्यो सबै धोका र बेइमानी रहेछ। त्यस्ता सिद्धान्त बोकेका नेता सामन्तवाद स्थापित गर्ने र प्रतिगमन गर्नेतर्फ नै अग्रसर भएको देखियो। संविधान जोगाउन हामी सत्ता गठबन्धन एकै ठाउँमा उभियौँ,’ प्रचण्डले भने।
मंसिर ४ मा हुने चुनाव अग्रमन र प्रतिगमनविरुद्धको ब्याटल रहेको उनले बताए।