माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसको मत ‘ट्रान्सफर’ हुन नसक्ने चिन्ता प्रकट गरेका छन्।
ललितपुरमा सत्ता गठबन्धनले मंगलबरा आयोजना गरेको निर्वाचन परिचालन अभियानलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाट आफ्नो चुनाव चिन्हमा मत ट्रान्सफर नहुने चिन्ता व्यक्त गरेका हुन्।
कांग्रेसभित्रको असन्तुष्ट पक्षले आफ्ना चुनाव चिन्हमा मत नहाल्ने संकेत गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलले एक-अर्काको उम्मेदवारलाई कुनै आग्रह र पूर्वाग्रह नराख्न अनुरोध गरे।
‘हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने? रूखले हँसिया हथौडामा कसरी भोट हाल्ने? अहिले यस्तो आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु तर यो अर्थहीन छ,’ उनले भने, ‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं । जतिबेला हामीले शान्ति सम्झौता गर्यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’
माओवादीका अध्यक्ष प्रचण्डले, कांग्रेसका कार्यकर्ताले हँसिया हतौडामा र कलममा र माओवादी र समाजवादीका कार्यकर्ताले रूखमा रमाएर मत हाल्नुपर्ने तर्क गरे। ‘गठबन्धन दललाई जिताउनुनै जिम्मेवारी सम्झैर मत ट्रान्सफर गरिनुपर्ने दाहालको भनाई छ। कांग्रेसका साथीहरुले हँसिया हतौडा र कलममा जिम्मेवारी ठानेर मनैदेखि रमाएर मत हाल्नुपर्यो। गठबन्धन संस्कृतिको नमुना पेश गर्नुपर्यो,’ प्रचण्डले भने।
स्थानीय तहको निर्वाचनमा गठबन्धन दलकै सहयोगमा कांग्रेस पहिलो बनेको कुरा नबिर्सिन दाहालले आग्रह गरेका छन्।
‘स्थानीय तहको निर्वाचनमा सोचे जति कसिलो गठबन्धन त हुन सकेन तर कांग्रेस पहिलो हुनुमा अरू दलको पनि सहयोग छ। हामीलेनै कांग्रेसलाई पहिलो बनाएको होइन र अनि तपाईँहरूलाई हँसिया हतौडा वा कलममा मत हाल्न किन अप्ठेरो?’ प्रचण्डको प्रश्न छ।
यता एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनमा आवद्ध दलबीच बलियो सहकार्य र समन्वयलेमात्रै चुनावमा परिणाम निकाल्न सकिने बताए। ‘हामीबीच आपसी सहकार्य र समन्वयलेमात्रै हामीलाई बलियो बनाउँछ। त्यसैले एक-अर्कालाई सहयोग गरौं। गठबन्धनका उम्मेदवार जिताउन सबै ठाउँमा सहयोग गरौँ,’ उनले भने।
आपसी एकताले मात्रै धेरै ठाउँमा जित निकाल्न सकिने उनको भनाई छ। एकीकृत समाजवादीले १९ ठाउँमा उम्मेदवारी दिएको छ। अधिकांश क्षेत्रमा जीत निकाल्न कांग्रेसबाटै मत ट्रान्सफर हुनुपर्छ।
प्रचण्ड-माधवले कांग्रेसको मत ट्रान्सफर नहुने चिन्ता प्रकट गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले हँसिया हतौडा र कलमलाई अविश्वास नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए।
लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलममा भोट हाल्न उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्। ‘हँसिया हतौडामा मै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हतौडा र कलममा मत हाल्नुस्, देउवाले भने,‘कांग्रेसका साथीहरुले अविश्वास गर्ने कामनै छैन। आजको दिनमा हँसिया हतौडा, कलम र रूख एकै हो।’
संविधान र लोकतन्त्रको रक्षाका निम्ति सत्ता गठबन्धन बनेकाले त्यसलाई बलियो बनाउने गरि परिचालन हुन आफ्ना कार्यकर्तालाई नेताहरुले निर्देशन दिएका छन्। जनतामाझ सत्ता गठबन्धनको औचित्यबारे प्रस्ट पार्न उनीहरुको निर्देशन छ।