'घण्टी' चुनाव चिन्ह लिएर पनि स्वतन्त्र भन्दै प्रचार-प्रसार गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनाललाई स्पष्टीकरण सोधेको छ।
खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।
उक्त घन्टी निर्वाचन चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार-प्रसार गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लंघन समेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
उनलाई आयोगले यसरी आचारसंहिताको उल्लंघन हुँदैन भन्ने आधार कारण के हो भनेर सोधेको छ। यसो गर्दा भ्रम सिर्जना हुने आयोगको ठहर छ। उनले झूठपूर्ण तथा भ्रमपूर्ण काम गरेको होइन भन्ने पुष्ट्याइँ गर्ने आधार के छ भनेर पनि सोधिएको छ।
जरिवाना गर्न नपर्ने किन हो भनेर पनि उनलाई आयोगको प्रश्न छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको आयोगले जनाएको छ।