नेकपा एकीकृत समाजवादीले 'पार्टी निर्णयविपरीत' स्वतन्त्र रूपमा उम्मेदवारी दिएका केन्द्रीय कमिटी सदस्य डा. ताराप्रसाद जोशीलाई २४ घन्टाभित्र उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीले पार्टी निर्णय र गठबन्धनको मर्मबमोजिम जोशीले दिएको उम्मेदवारी २४ घन्टाभित्र निष्क्रिय गर्न निर्देशन दिएको हो।
जोशीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरा क्षेत्र नम्बर १ (२) मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
एकीकृत समाजवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टी निर्णय विपरीत स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दिनुभएका पार्टी केन्द्रीय कमिटी सदस्य डा. ताराप्रसाद जोशीलाई आगामी २४ घन्टाभित्र पार्टी निर्णय र गठबन्धनको मर्मबमोजिम आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गरी सहयोग पुऱ्याउन निर्देशन गरिन्छ।'
डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कमरेड कविन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरीतका क्रियाकलापमा संलग्न नहुन एकीकृत समाजवादीले निर्देशन दिएको छ।
उनीहरूले निर्देशन पालना नगरे पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
'उपरोक्त बमोजिमका निर्देशन पालना नगरिएमा उल्लिखित कमरेडहरू स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने व्यहोरा जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ।