ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता उदयशमशेर राणा र नेकपा (एमाले) का नेता नवराज सिलवाल फेरि आमनेसामने हुने भएका छन्।
मंसिर ४ मा हुने चुनावमा यो क्षेत्रमा सत्ता गठबन्धनबाट उदयशमशेर उम्मेदवार छन् भने एमालेबाट नवराज उम्मेदवार छन्। यहाँ एमालेले कसैसँग तालमेल गरेको छैन।
ललितपुर-१ मा जसपाबाट गोपालराज राई, राप्रपाबाट सन्दीप आचार्य, नेमकिपाबाट कविन्द्र डंगोल, लोसपाबाट मनिषबहादुर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचिनकुमार घिमिरे उम्मेदवार छन्। यहाँ केही स्वतन्त्र उम्मेदवार पनि छन्।
ललितपुर क्षेत्र नम्बर १ मा गोदावरी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३ पर्दछ। साथै कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका पर्छन्।
गत वैशाख ३० मा भएको स्थानीय चुनावमा ललितपुर क्षेत्र नम्बर १ मा पर्ने स्थानीय तहका वडाहरूमा दलहरूले ल्याएको मत हेर्दा यहाँ कांग्रेस अगाडि छ। यहाँ कांग्रेसका वडाध्यक्ष उम्मदेवारहरूले २३ हजार ८ सय ५८ मत ल्याएका थिए भने एमालेका वडाध्यक्ष उम्मेदवारहरूले १८ हजार ९ सय ९३ मत ल्याएका थिए।
यो क्षेत्रमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ६ हजार १ सय ३३ मत ल्याएका थिए भने राप्रपाले १ हजार ७ सय ५७ र स्वतन्त्रले १ हजार ६ सय ५७ मत ल्याएका थिए।
सत्ता गठबन्धनमा रहेका कांग्रेस-माओवादीले यो क्षेत्रमा पाएको मत जोड्दा २९ हजार ९ सय ९१ मत हुन्छ। एमालेले कसैसँग पनि तालमेल नगरेकोले उसको मत १८ हजार ९ सय ९३ छ। स्थानीय चुनावको मत हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेको मतान्तर फराकिलो छ।
२०७४ मा ललितपुर-१ बाट तत्कालीन एमाले र माओवादी केन्द्रका वाम गठबन्धनका उम्मेदवार नवराज सिलवालले चुनाव जितेका थिए।
त्यसबेला सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएका थिए। यो क्षेत्रबाट कांग्रेसका उयदशमशेरले २० हजार ७ सय २९ मत ल्याएका थिए।
सिलवाल नेपाल प्रहरीको पूर्वडिआइजी हुन्। आइजिपी हुन नपाएपछि सिलवाल प्रहरी सेवाबाट बिदा दिँदै २०७४ असोज २० मा एमाले प्रवेश गरेका थिए। वरीयता क्रममा उनीभन्दा पछि रहेका जयबहादुर चन्दलाई तत्कालिन सरकारले आइजिपी बनाएपछि सिलवाल सर्वोच्च अदालत पुगेका थिए।
त्यसपछि सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रकाश अर्याललाई आइजिपी बनाएको थियो।
सरकारको उक्त निर्णयलाई अदालतले सदर गर्दै सिलवालको मुद्दा खारेज गरेपछि उनले प्रहरी सेवाबाट बिदा लिई राजनीतिक यात्रा सुरू गरेका थिए। एमाले प्रवेश गर्दा उनले आफू एमालेको इमान्दार सिपाही भएको बताएका थिए।
सरकारले आइजिपी नबनाएको र सर्वोच्चले मुद्दा पनि खारेज गरिदिएको रापतापका बीच त्यसबेला सिलवाल ललितपुर १ मा एमालेबाट उम्मेदवार भई चुनाव जितेका थिए।
तर अहिले राजनीतिक परिस्थिति बदलिएको छ। सिलवाललाई त्यसबेला साथ दिएको नेकपा माओवादी केन्द्र अहिले सत्ता गठबन्धनमा छ र माओवादीले पनि साझा उम्मेदवारका रूपमा उदयशमशेर राणालाई अगाडि बढाएको छ।
एमाले पनि फुटेर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी बनेको छ। माओवादी पनि गठबन्धनमा नरहेको, एमाले पनि फुटेको र एमालेबाट एक्लै प्रतिस्पर्धामा उत्रनुपर्ने अवस्थामा सिलवाल चुनावी मैदानमा छन्।
यसपालि स्थानीय चुनावको मत हेर्दा सत्ता गठबन्धन र एमालेबीच फराकिलो मतान्तर देखिन्छ। तर सत्ता गठबन्धनमा मत ट्रान्सफर कति हुन्छ त्यो भने अहिले नै भन्न सकिन्न।
सत्ता गठबन्धनबाट ललितपुर-१ को प्रदेश सभा क्षेत्र (क) मा माओवादीका हरि दाहाल र प्रदेश सभा क्षेत्र (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार छन्। प्रदेश सभामा माओवादीको पनि उम्मेदवार भएकोले मत ट्रान्सफर हुने सम्भावना धेरै छ।
एमालेका उम्मेदवार सिलवाल आफू जनताका सेवामा समर्पित भएको र चुनाव जित्ने बताइरहेका छन्। विकास, सुरक्षा, राष्ट्र सेवा र राजनीतिका क्षेत्रमा आफूले काम गरेका अनुभवसहित जनताका काममा लाग्ने पनि उनले बताएका छन्। एमालेबाट ललितपुर १ को प्रदेश सभा क्षेत्र (क) मा मधुसुदन पौडेल र प्रदेश सभा (ख) मा चेतनाथ सन्जेल उम्मेदवार छन्।
यस्तै कांग्रेसका उम्मेदवार उदयशमशेरले आफूसँग ललितपुर-१ को विकास गर्ने योजना रहेको बताउने गरेका छन्। सांसद मात्रै बनेर जागिर खान आफू राजनीतिमा नआएको र क्षेत्रको विकासका लागि योजना उनको दाबी छ।
मुलुकको समृद्धि र संविधानको रक्षाका लागि लोकतान्त्रिक-वाम गठबन्धन अहिलेको आवश्यकता भएको र चुनावपछि पनि गठबन्धन रहिरहने उनले बताएका छन्।