नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई कठपुतलीको संज्ञा दिएका छन्।
झापा-१ को धुलाबारीमा बुधबार आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरूलाई ‘अरू कसैले चलाउने’ आरोप लगाउँदा राप्रपा भने आफ्नै विवेकले चल्ने पार्टी भएको भन्दै प्रशंसासमेत गरे।
‘गठबन्धन कुसुलेका कठपुतली हुन्, कसले नचाउँछ थाहा छैन । राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ,’ ओलीले भने, ‘वर्तमान सरकार दुई दिनको घामछाया जस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय। मंसिर ४ आयो कि गठबन्धन सरकार गयो।’
ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबीसमेत गरे। एमालेले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने उनको दाबी थियो।
ओलीले कांग्रेसको आलोचना गर्दै जनतामाझ पस्किने एजेन्डा उसित बाँकी नरहेको दाबी गरे। ‘अहिले घोषणापत्र समेत भाडाका बुद्धिजीवीले लेख्दैछन्’ ओलीले भने ‘विकास के को र कसरी गर्ने भनेर हामीलाई सोधे हुन्छ बरू।’