संसदीय प्रणाली तथा निर्वाचन मामिला जानकारहरूले चुनावअघि नै गठबन्धन गरेर दलहरूले मतदाताको विवेकमाथि समेत हुकुम चलाउन थालेको टिप्पणी गरेका छन्।
ललितपुरस्थित यलमाया केन्द्रमा बुधबार आयोजित कार्यक्रममा पूर्वराजदूत निलाम्बर आचार्य, पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीले गठबन्धनमार्फत् दलहरूले मतदाताको विवेकमा समेत हुकुम चलाउन लागेको बताएका हुन्।
पूर्वप्रमुख आयुक्त श्रेष्ठले चुनावअघि नै गठबन्धन गरेर दलहरूले मतदातालाई आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न पनि निषेध गर्न खोजेको बताए।
‘मतदान भनेको स्वतन्त्र विवेक प्रयोग गर्नका लागि हो। दलहरूले चुनावअघि नै गठबन्धन गरेर मतदाताको विवेकमाथि पनि डिक्टेट गर्न खोजे। यस्तो गठबन्धन अस्थिरताको पनि संकेत हो,’ उनले भने।
पूर्वप्रमुख आयुक्त उप्रेतीले गठबन्धन संस्कृतिले बहुदलीय व्यवस्था सुदृढ नहुने तर्क गरे। ‘गठबन्धनका कारण मतदाताले स्वतन्त्र विवेक प्रयोग गर्नै पाउँदैनन्। यस्तो गतिविधिले प्रतिनिधि छान्ने मात्रै काम हुन्छ। बहुदलीय व्यवस्था सुदृढ हुँदैन,’ उनले भने।
भारतका लागि नेपालका पूर्वराजदूत आचार्यले संसदीय व्यवस्था बलियो बनाउन अहिलेको निर्वाचन प्रणाली नै सुधार गर्नुपर्ने बताए।
‘निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने संसदीय व्यवस्था नै कोल्याप्स हुनसक्छ। जसरी पनि निर्वाचन जित्ने संस्कृतिले संसदीय प्रणालीलाई बलियो बनाउँदैन,’ उनले भने।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका निम्ति सरकार तथा उम्मेदवार दुबैको चुनावी खर्च घटाउनुपर्ने उनीहरूको सुझाव छ।