मंसिर ४ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ।
गुरूङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेका छन् भने पद्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
२०७४ मा तत्कालीन एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो। स्याङ्जा-२ मा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई हराएर त्यसबेला पद्माले चुनाव जितेकी थिइन्।
गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याउँदा पद्माले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन्।
२०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र यसपालि नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा सामेल छ।
स्याङ्जामा यसअघि चुनाव जितेकी र केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था मन्त्रीसमेत भएकी पद्मा र पहिलो पटक चुनाव लड्न लागेका धनराजबीचको प्रतिस्पर्धालाई स्याङ्जाका बासिन्दाले पनि चासोसाथ हेरेका छन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ भने भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ वडा तथा कालिगण्डकी गाउँपालिका पर्छन्।
गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा नेपाली कांग्रेस अगाडि छ।
नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले मत ३६ हजार ८ सय ६ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ। नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४ सय ४७ मत ल्याएका छन्। राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएका छन्।
स्याङ्जा-२ मा नेकपा (एकीकृत समाजवादी) को मत खासै छैन। सत्ता गठबन्धनमा रहेका कांग्रेस-माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ भने यहाँ अर्को मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ। सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा चार हजार बढी मतान्तर देखिन्छ।
सत्ता गठबन्धनका उम्मेदवार धनराज र एमाले उम्मेदवार पद्माले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन्। उनीहरू चुनावी प्रचारका कार्यक्रमहरू गरिरहेका छन्।
धनराज निष्ठा र नैतिकताको राजनीति आफूले गर्न चाहेको र भ्रष्टचार गर्नेहरूलाई जनताले मत दिन नहुने बताउने गर्छन्।
‘व्यवस्था बदल्यौं तर जनताको अवस्था बदलिएको छैन यसको कारण भ्रष्टाचारी प्रवृत्ति हो,’ गुरूङ भन्छन्, ‘गाउँमा उत्पादनलाई प्राथमिकता दिने र बजारिकरणमा सरकारले सहयोग गर्ने हो भने पूँजी निर्माण हुन्छ।’
उनले भ्रष्ट प्रवृत्ति बदल्नुपर्ने र गरिबी हटाउनु पर्नेमा जोड दिँदै आएका छन्।
एमाले उम्मेदवार पद्माले आफू भूमि मन्त्री हुँदा जारी गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्साअनुसार भूमि फिर्ता ल्याउन एमालेको सरकार बन्नुपर्ने बताउने गरेकी छन्।
उनले चुनावी भाषणमा ‘चुच्चे नक्सा’का कुरा प्राथमिकताका साथ उठाउने गरेकी छन्।
‘गठबन्धनले के गर्यो? कांग्रेसले के गर्यो, पटक-पटक सरकारको नेतृत्व गर्यो तर एउटै काम गरेको छैन,’ पद्मा भन्छिन्, ‘हामीले नक्साअनुसारको माटो (भूमि) फिर्ता ल्याउन फेरि एमालेको सरकार बन्नुपर्छ।’