नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरूका बीचमा शंका/उपशंका नगर्न आग्रह गरेका छन्।
देउवाले अहिलेको गठबन्धन निर्वाचनका लागि मात्र नभई केही वर्ष यथावत् रहने भन्दै एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरे।
शुक्रबार गठबन्धन दलहरूको बुटवलमा भएको संयुक्त प्रशिक्षणमा बोल्दै देउवाले आपसमा शंका/उपशंका गर्दा आफैंलाई नोक्सानी हुने भन्दै त्यसो नगर्न सचेत गराएका हुन्।
‘हामी बीचमै शंका-उपशंका र भ्रम उत्पन्न भयो भने त्यसको नोक्सानी हामीलाई नै हुन्छ,’ देउवाले भने।
यसअघि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तहको निर्वाचनमा कुनै क्षेत्रमा घात भएको भन्दै आगामी निर्वाचनमा त्यसो नगर्न आग्रह गरेका थिए।
प्रचण्डले नेकपा एमाले भन्दै नेपाली कांग्रेस लोकतान्त्रिक रहेको दाबी समेत गरे।
उनले अझै पनि प्रतिगमनको खतरा कायम रहेकोले निर्वाचनका लागि मात्र गठबन्धन नगरिएको बताए।
‘निर्वाचनमा जित्नको लागि मात्र पाँच दलीय गठबन्धन गरिएको होइन, जहिलेसम्म प्रतिगमनको खतरा रहिरहन्छ गठबन्धन पनि कायम रहन्छ,’ उनले भने।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई संकटबाट जोगाउन गठबन्धन गर्नुपरेको दाबी गर्दै अझै पनि संकट नटरेकोले गठबन्धनलाई निरन्तरता दिइएको बताए।
मन्तव्यको अधिकांश समय एमाले अध्यक्ष केपी ओलीको आलोचनामा खर्चिएका नेपालले ओली नयाँ तानाशाहको रूपमा देखिएको आरोप लगाए।