नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन्।
विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन र व्यवस्था बचाउन गठबन्धन गरिएको दाबी गरे।
‘यो चुनावी तालमेल मात्र होन, व्यवस्था बचाउन र परिवर्तनका लागि यो गटबन्धन गरिएको हो। यो बेलामा को कसको उम्मेदवार भनेर नहेर्नुस्। गठबन्धनको उम्मेदवार भनेर हेर्नुस्’, ‘हाम्रो सिद्धान्त अलग होला। तर, जनता, देश र परिवर्तनप्रतिको साझा दायित्व हो भनेर बुझ्नुस्।’
कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको भन्दै उनले अवस्था त्यस्तो नरहेको बताए ।
‘नेपालमा केही भएन भनेर दुस्प्रचार गर्नेहरुले २४० वर्षमा के भयो? जवाफ दिन पर्दैन? यस्ता दुस्प्रचार षड्यन्त्र प्रेरित छ’, उनले भने।
पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि जिकिर गरे।
‘बहुदलले ल्याएको प्रगतिले आत्तिएकाहरुले दुस्प्रचार गरिरहेका छन्। यो रोक्नपर्छ। प्रतिगमनकारीहरुले बुझुन्, अब जनविरोधी हर्कत स्वीकार्य हुन्न। जनताले पाएको सिंहाशन अब नारायणहिटी फर्किन्न। केपी ओली प्रतिगमनको प्रतीक बन्नू भएको छ। जनताले वास्तविकता बुझ्नुपर्छ।’
उनले छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश गरिरहेको भन्दै त्यसलाई जनताले चिन्नुपर्छ।’
नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्छ। गठबन्धन साथीहरूले मनमुटाव एकआपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए।
कार्यक्रममा प्रदेश १ का सबै जिल्लाबाट गठबन्धन दलका जिल्ला नेता, केन्द्रिय सदस्य र उम्मेदवारहरू सहभागी छन्।