अर्थशास्त्री स्वर्णिम वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ७ बाट चुनाव लड्न गरेको प्रस्तावलाई आफूले अस्वीकार गरेको बताएका छन्।
पार्टीभित्रै लड्नुपर्ने आफ्नो मान्यताका कारण एमाले अध्यक्ष ओलीको प्रस्तावलाई स्वीकार नगरेको उनले बताए।
‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ। टिकट पाइनँ, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो। हाम्रो उम्मेदवार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले शनिबार काठमाडौंमा युथ कांग्रेसले गरेको एक कार्यक्रममा भने।
टिकट नपाएपनि आफूले कांग्रेस नछोड्ने उनको भनाइ छ।
‘गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन। पार्टीभित्रै लडेर महामन्त्री हुनुभयो। पार्टीभित्रै लडेर अघि बढिन्छ भन्ने लाग्छ,’ उनले भने।
वाग्ले चितवन १ बाट चुनाव लड्ने चर्चा थियो। कांग्रेसले त्यहाँ योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ।